बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सरकार गठन गर्न लेनदेन र सेटिङ हुनु डरलाग्दो संकेत हो : केपी ओली

मङ्गलबार, ०५ पुस २०७९, १५ : २१
मङ्गलबार, ०५ पुस २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाहेकका राजनीतिक दलहरू स्वार्थ, लेनदेन र गठबन्धनका आधारमा चलेको भन्दै देशमा अन्योलता बढेको बताएका छन् । ​ नवनिर्वाचिन सांसदहरुलाई बधाई तथा शुभकामना दिन काठमाडौंको कमलादीमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले स्वार्थ र लेनदेनका आधारमा पार्टी र सरकार चल्न थालको भन्दै देश गम्भीर अस्थिरतातर्फ गएको बताएका हुन् ।

उनले सरकार केका लागि बन्ने भन्ने नै स्पष्ट नभएको पनि बताए । उनले विकास र सुशासनलाई कमजोर पार्ने खेल अनुसार सरकार गठन हुन गइरहेको पनि बताए । ‘यी उद्देश्यका लागि अहिले सरकार बन्ने अभ्यास भइरहेको छैन । यिनका विपरित र यि कुरालाई कमजोर पार्न सरकार बन्ने खेल अहिले चलिरहेको छ’, ओलीले सत्ता गठबन्धनले गठन गर्न लागेको सरकारप्रति टिप्पणी गर्दै भने,‘जुन देशका लागि दु:खदमात्रै होइन डरलाग्दो संकेत हो ।’  
अध्यक्ष ओलीले त्यसैले पार्टीबाट नवनिर्वाचित सांसदहरुलाई आफुले खेल्नुपर्ने भुमिकाका बारेमा गम्भीर बन्न निर्देशन दिएका छन् ।

उनले जनप्रतिनिधिले साँच्चैको भुमिका खेल्न जरुरी रहेको भन्दै पार्टीको नीति र निर्देशनअनुसार संसद र संसद बाहिर पनि भुमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेकोमा सचेत समेत गराए । ‘साचो जनप्रतिनिधि कस्तो हुन्छ ? साँच्चैको जनप्रतिनिधिले बाहिर कस्तो र संसदमा कस्तो भुमिका खेल्नुपर्छ ? यि कुराहरूमा अत्यन्तै गम्भीरतापूर्वक ध्यान दिनु र क्रियाशील हुन जरुरी छ’, ओलीको भनाइ छ ।  

उनले त्यो भुमिकाका लागि अध्ययनशील बन्न, स्पष्टताका साथ प्रस्तुत र टिम स्पिरिटमा पार्टी र दलका निर्देशन पालनामा जोड दिन निर्देशन दिए । उनले पार्टीभन्दा आफै जान्ने, गुटगत क्रियाकलाप गर्नु आन्दोलनलाई गम्भीर क्षति पुर्याउने भन्दै त्यस विषयमा पार्टी जोगिदै पनि आएको बताए । उनले यो विचमा देशलाई अकर्मण्य बनाइएको भन्दै अव त्यसलाई जोगाउन आफ्नो भुमिका प्रभावकारी बनाउन जरुरी रहेको बताए । 

उनले फेरि पनि लेनदेन र सेटिङको आशंका गर्दै भने, ‘फेरि लेनदेन र फेरि सेटिङतर्फ देश जान थालेको छ । हिजो चार वटा राष्ट्रिय पार्टी थिए । अहिले ७ पार्टी भएका छन् । तर कस्तो सरकार र कसको नेतृत्वमा बन्छ भन्ने अन्योलको स्थिति छ’, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ । 

उनले राजनीतिक दलको परिभाषा नै अस्पष्ट भएको भन्दै दलहरुको स्पष्ट नीति उद्देश्य र गन्तव्यका आधारमा दल गठन हुनुपर्नेमा आजका सत्ता गठबन्धन दलको कुनै उद्देश्य र नीति नरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप