आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

खोटाङको बाक्सिला बजारमा भीषण आगलागी, पाँच घर जलेर नष्ट

सोमबार, ०४ पुस २०७९, २१ : ४३
सोमबार, ०४ पुस २०७९

केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आज साँझ भीषण आगलागी भएको छ । जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजारस्थित स्थानीय दीपक गुरुङको घरबाट सुरु भएको आगो अहिले नियन्त्रण बाहिर रहेको प्रत्यदर्शीहरूले बताएका छन् । 

आगलागीबाट अहिलेसम्म पाँचवटा घर तथा दर्जनभन्दा बढी पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बाक्सिलाले जनाएको छ । प्रहरीका अनुसार दीपक गुरुङ, रमेश परियार, शुभशेर राई र डिल्लीकुमार श्रेष्ठको घर पूर्णरूपमा जलेर नष्ट भएको हो । 

आगलागी नियन्त्रणमा लिन स्थानीय अकबर राईको घर भत्काउने काम भइरहेको गाउँपालिका उपप्रमुख गुरुराज राईले जानकारी दिए । “आगलागी नियन्त्रणमा लिन गाउँपालिकाको जेसिबी प्रयोग गरेर स्थानीय अकबर राईको जल्दै गरेको घर ढाल्ने काम भइरहेको छ”, उनले भने, “आगलागी हुनुको कारण अहिलेसम्म पत्ता लागेको छैन । आगलागीबाट लाखौँको क्षति भइसकेको छ ।”

आगलागीमा परेका अकबर राईबाहेक अन्य सबैको घरमा पसल तथा होटल सञ्चालनमा रहेको गाउँपालिका उपप्रमुख राईले जानकारी दिए । दीपकको घरमा स्थानीय रत्ना गुरुङको कपडा पसल, रमेशको घरमा टेलर्स,  शुभशेरको घरमा गाउँपालिका प्रमुख समीर राईको स्टेसनरी पसल तथा सोही घरको माथिल्लो तलामा इन्द्रा राईको होटल रहेको जनाइएको छ ।

डिल्लीकुमारको घरमा स्वयं डिल्लीकुमारको कपडा पसल तथा उनका छोरा पवन श्रेष्ठको कपडा र भाँडा पसल रहेको थियो । आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको गाउँपालिका उपप्रमुख राईले जानकारी दिए । 

जस्तापाताको छाना तथा ढुङ्गामाटोले बनेको परम्परागत घर भएका कारण आगलागी नियन्त्रणमा लिन समस्या भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए । “आगलागीमा परेका सबै घर आपसमा जोडिएका छन्”, उनले भने, “दमकल अभावका कारण ठूलो क्षति भएको छ । अहिले प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणको प्रयास गरिरहेका छन् ।” 

बाक्सिला बजारमा आगलागी हुनाका कारण अहिलेसम्म पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ । आगलागीमा लाखौँको धनमाल जलेर नष्ट भए पनि अहिलेसम्म मानवीय क्षति भने हुन नपाएको प्रनाउ मुकारुङले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप