आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

अपांगतामैत्री विपद् नीतिको आवश्यकता

सोमबार, ०४ पुस २०७९, २० : ३९
सोमबार, ०४ पुस २०७९

विपद्पूर्व, विपद्को समय र विपद् पछिका तीनै चरणका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई पनि दृष्टिगत गरी सूचना, नीति तथा कार्यक्रमहरु बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ । 
 
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा सोमबार काठमाडौँमा भएको ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा अपाङ्गता भएका व्यक्तिहरुको समवेशीकरण तथा सहभागिता’ विषयक अन्तरक्रियाका वक्ताहरूले विपद्बाट सबैभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरू प्रभावित हुने भन्दै उनीहरूको सुरक्षाका लागि पनि प्रभावकारी कार्यक्रम बनाउनुपर्नेमा वक्ताको जोड थियो । 

उक्त कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा अपाङ्गता भएका व्यक्तिका समवेशीकरण तथा सहभागिताका लागि प्राधिकरणका तर्फबाट मानक निर्देशिकाहरू तयार गरी त्यसलाई स्थानीयकरण गर्ने कार्य भइरहेको जानकारी दिए ।

अपाङ्गता भएका व्यक्तिका लागि पानी तथा सरसफाइमा पहुँचयोग्य अवस्थाका बारेमा आर्किटेक्ट दीपक केसीले विश्वका विभिन्न देशका उदाहरणसहित प्रस्तुतीकरण गरे । उनले अपाङ्गता भएका व्यक्तिको दैनिक जनजीवन सहज बनाउन मात्र नभएर आत्मसम्मानका लागि पनि पहुँचयोग्य संरचनाको आवश्यकता पर्ने बताए । केसी स्वयम् अपाङ्गता भएका व्यक्ति हुन् ।

प्राधिकरणका सहसचिव रोशनीकुमारी श्रेष्ठले प्राधिकरणबाट भएका कार्यहरू, निर्माण भएका तथा भइरहेका कार्यविधि एवं निर्देशिका तथा अन्य नीतिगत व्यवस्थाबारे जानकारी दिएका थिए।
 
राष्ट्रिय अपाङ्ग महासङ्घका सचिव सिर्जना केसीले बहुअपाङ्गतालाई पनि ध्यानमा राखेर भवनसंहिता तथा सहयोगी सामग्रीको निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइन् । उनले विपद्बारेको सूचना नै अपाङ्गता भएका व्यक्तिसम्म नपुगेको भन्दै यसतर्फ प्राधिकरणको ध्यानाकर्षण गराइन् ।

कार्यक्रमका सहभागीहरूले धेरै प्रकारका अपाङ्गता हुने र उनीहरूका समस्या र आवश्यकता पनि फरकफरक हुने भएकाले सबैलाई एउटै बास्केटमा हालेर नहेर्न पनि आग्रह गर्नुभएको थियो । उनीहरूले विपद्पछि स्थापना गरिने आश्रयस्थलहरू अपाङ्गतामैत्री नहुने र राहतमा उनीहरूको पहुँच पुग्न नसकेकोतर्फ पनि ध्यानाकर्षण गराएका थिए । विपद्का सूचना दिने उपकरणहरू अपाङ्गतामैत्री बनाउन पनि उनीहरूले आग्रह गरेका थिए । 

कार्यक्रममा राष्ट्रिय अपाङ्ग कोष, राष्ट्रिय अपाङ्ग महासङ्घलगायत विभिन्न अपाङ्गतासँग सम्बद्ध सङ्घसंस्थाहरू एवं अपाङ्गता क्षेत्रमा काम गरिरहेका विकास साझेदार संस्थाका प्रमुख एवं प्रतिनिधिको उपस्थिति थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप