सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोखरामा पाँच तारे होटल बन्दै

सोमबार, ०४ पुस २०७९, २० : ३६
सोमबार, ०४ पुस २०७९

पोखराको मुख्य पर्यटकीय स्थल लेकसाइडमा पाँचतारे होटल बाराही सेदी निर्माण निर्माण भइरहेको छ । अबको साढे दुई वर्षमा सञ्चालन गर्ने गरी द्रुत गतिमा निर्माण भइरहेको यो होटल लगानी र क्षमताका हिसाबले गण्डकी प्रदेशकै सबैभन्दा ठुलो पर्यटन उद्योग हुनेछ । 

चार दशकदेखि पर्यटन उद्योगका सक्रिय बाराही ग्रुपको अगुवाइमा निर्माण भइरहेको यो होटल गण्डकी प्रदेशको पहिलो पब्लिक लिमिटेड कम्पनी हो । यसअघि निजी क्षेत्रको अगुवाइमा गण्डकी प्रदेशमा एउटा पनि पब्लिक लिमिटेड कम्पनी सञ्चालनमा आएको छैन । जलविद्युत आयोजनाहरु मात्रै पब्लिक कम्पनी गण्डकीमा छन् । अरू निजी लगानी अगुवाइका पब्लिक कम्पनी छैनन् । 

५ अर्ब २५ करोड रुपैयाँ लगानीमा बन्दै गरेको यो पाँच तारे होटलमा बाराही ग्रुपको ५१ प्रतिशत लगानी रहेको छ भने ३९ प्रतिशत सेयर प्रोमोटर सेयरका रूपमा वितरण गरेको छ । बाँकी १० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ । 

११ वटा भिल्ला र १५० कोठाको उक्त होटलमा १० वटा सुइट रुम, अत्याधुनिक क्यासिनो, अतिथि एकोमोडेसन भवन, लबी, रिसेप्सन, एक्सक्लुसिभ बार, १२ सय क्षमताको कन्फेरेन्स हल, जिम हल, स्विमिङ पुल, स्पा, साउना लगायत सुविधा सम्पन्न पाँच तारे होटलमा उपलब्ध हुनुपर्ने सबै सेवा उपलब्ध हुनेछन् । 

अर्को वर्ष आइपिओ (प्राथमिक सेयर) निष्कासन गर्ने तयारी गरेको बाराही सेदी कम्पनीले सानो पुँजी भएका सर्वसाधारणहरूलाई पनि पाँचतारे होटल मालिक बनाउने सोचका साथ प्रोमोटर सेयरसमेत वितरण गरेको छ । ‘टिममा निश्चय पनि ठूलाठूला लगानीकर्ता पनि हुनुहुन्छ ।’ कम्पनीका कार्यकारी निर्देशक विप्लव पौडेलले भने, ‘यसका अलावा १० लाख रुपैयाँसम्म लगानी गर्न चाहनेहरूलाई पनि अवसर दिएका छौँ, धेरैभन्दा धेरै मानिसलाई उद्यमशील बनाउने कम्पनीको सोच हो ।’  

पौडेलले यो होटलका लागि १० लाखदेखि १० करोड रुपैयाँसम्म लगानी गर्ने टिम जुटिसकेको बताए । यो टिममा व्यवसायी, डाक्टर, इन्जिनियर, प्रोफेसर, सेयर मार्केटका लगानीकर्ता, ब्रोकरका प्रतिनिधि लगायत सहभागी छन् । 

पोखरामा हाल एउटा पनि अन्तर्राष्ट्रियस्तरको सभा हल छैन । त्यसैले सार्क सम्मेलन जस्ता महत्त्वपूर्ण इभेन्ट पोखरामा हुन सकेका छैनन् । यो होटल निर्माणपछि त्यो अभाव पनि पूरा हुने कार्यकारी निर्देशक पौडेलले बताए । 

आइपिओ निष्कासन गरेको ३ वर्षपछि प्रोमोटरको सेयर पनि साधारण सेयरमा परिणत हुने भएकाले पनि प्रमोटर सेयर लिनेको सङ्ख्या सहजै जुटिरहेको बाराही ग्रुपका वित्तीय विभाग प्रमुख विमल लम्सालले बताए । 

६३ रोपनी जग्गामा निर्माण भइरहेको होटलको प्रत्येक कोठाबाट फेवाताल देखिनेछ । निर्माण सुरु भएको ६ महिनामै २७ प्रतिशत भौतिक संरचनाको निर्माण र ४४ प्रतिशत वित्तीय कारोबार सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । 

पोखरा घुम्न आउने पर्यटकहरूले क्यासिनोसहितको सुविधा सम्पन्न पाँचतारे होटल नपाएको गुनासो आइरहेकाले बेलामा यो होटल निर्माण हुनु व्यावसायिक हिसाबले पनि राम्रो भएको लम्सालले दाबी गरे । काठमाडौँमा अहिले पनि ७ वटा पाँचतारे होटल सञ्चालनमा रहेको र काठमाडौँमा आउनेमध्ये ४० प्रतिशत पर्यटक पोखरा आउने गरेको तथ्याङ्क दिँदै बाराही ग्रुपका वित्तीय प्रमुख लम्सालले समाधानसँग भने, ‘क्षमताको २८ प्रतिशतमात्र चल्यो भने ब्रेकइभन हुने भएकाले यो होटल सञ्चालनमा आएको पहिलो वर्षमै नाफामा जान्छ ।’  

अन्तर्राष्ट्रिय विमानस्थलदेखि निकट दूरीमा होटल सञ्चालन हुनु, नेपालको पर्यटकीय क्षेत्र नै पोखरा भएका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरूको रोजाइ र आकर्षणको सहर पोखरा हुनु र पछिल्लो समयमा नेपाल सरकारले नै पर्यटन प्रवर्द्धनमा विभिन्न स्किमहरू ल्याउनु होटल बाराहीका लागि सुखद रहेको उनको दाबी छ । 

लम्सालका अनुसार यो होटलको सुरुवातका लागि विगत १५ वर्षदेखि बाराही ग्रुप लागिपरेको थियो । लेकसाइडमै ६३ रोपनी जग्गा जुटाउनु र कम्पनीको स्थापना लगायत काम गर्न यति लामो समय लागेको भन्दै उनले अर्को यस्तै होटल पोखरा आउन वर्षौँ लाग्ने दाबी गरे ।  

यो प्रोजेक्ट निर्धारित समय मै सम्पन्न हुने कुरामा कुनै शङ्का नरहेको लम्सालले बताए । प्रोजेक्ट सम्पन्न गर्ने सम्मका लागि पर्याप्त हुने गरी २ अर्ब ३५ करोड ऋण स्वीकृत भएर काम धमाधम भइरहेकाले कुनै भवितव्य नआए सन् २०२५ मै होटल सञ्चालनमा आउने उनले दाबी गरे । एनएमबी बैंकको नेतृत्वमा ४ वटा बैंकले उक्त होटलमा ऋण लगानी स्वीकृत गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप