शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कमला नदीको पुल पुनर्निर्माणको माग गर्दै सिरहा प्रशासनमा धर्ना

सोमबार, ०४ पुस २०७९, २० : २३
सोमबार, ०४ पुस २०७९

सिरहा हुलाकी सडक अन्तर्गत सिरहा–धनुषा जोड्ने कमला नदीको पुल पुनर्निर्माणको माग गर्दै हुलाकी सडक सङ्घर्ष समितिले जिल्ला प्रशासन कार्यालय सिरहामा आज सोमबार धर्ना दिएका छन् । उद्घाटनको लागि ठिक्क पारिएको भनिएको पुल भासिएको १८ महिना बितिसक्दा पनि पुनर्निर्माणमा बेवास्ता गरेको भन्दै प्रशासन कार्यालयमा धर्ना दिएका हुन्।

धर्नापश्चात् सङ्घर्ष समितिका संयोजक समेत रहेका लेखक तथा सामाजिक अभियन्ता रामरिझन यादवले आ–आफ्नै प्रकारले कमलाको पुल बन्नु पर्छ भनेर लेख्न र बोल्ने गरे पनि अझै संयुक्त आवाज बन्न नसकेकोमा चिन्ता व्यक्त गरे । यस्तै अवस्था रहे कमला पुल बन्न अझ कैयौँ वर्ष लाग्ने यादवको कथन रहेको छ । नेताहरूलाई व्यक्तिगत रूपमा आमन्त्रण गर्दा समेत नआएको यादवको भनाई छ ।

करिब १८ महिना अघि सामान्य वर्षाको भेलले पुलका पायाहरु भासिएका थिए । सरकारले पुल पुनर्निर्माण गर्न निर्देशन दिए पनि ठेकेदार कम्पनीले वास्ता गरेको छैन । कमला नदीको पुल भत्किएपछि स्थानीय युवाले बाँस तेर्स्याएर अस्थायी पुल बनाएका छन् । त्यही बाँसको पुलबाट जोखिम मोलेर दैनिक हजारौँ मानिस आवतजावत गर्न बाध्य छन् । 

पुलले चार पाङ्ग्रे गाडी थेग्न सक्दैन । उनीहरुले मोटरसाइकल चढ्नेसँग दिनको एक सय लिएर आउजाउ गर्न दिएका छन् । नसक्नेले ५० र कतिपयलाई निःशुल्क आवतजावत गर्न दिने गरेको युवाहरू बताउँछन् । स्थानीयले अस्थायी पुल बनाएका ८० हजार रुपैयाँ खर्च लागेको बताएका छन् । त्यसैले पनि यात्रुबाटै पैसा उठाएको उनीहरूको भनाई छ ।

कमला नदीमा ७० मिटर लम्बाइ र ११ मिटर चौडाइ पुल निर्माणका लागि २०६८ मै पप्पु कन्स्ट्रक्सनले २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का लिएको थियो । पप्पुले काम नगरेपछि सम्झौता रद्द गरी २०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनलाई जिम्मा दिइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप