शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश : पुस ८ गतेका लागि सर्वदलीय बैठक आह्वान

सांसदहरुको शपथ ग्रहणको तयारी तीव्र
सोमबार, ०४ पुस २०७९, १७ : ०१
सोमबार, ०४ पुस २०७९

बागमती प्रदेशसभा सचिवालयले सांसदहरुको शपथ ग्रहणको तयारीलाई तीव्रता दिएको छ । निर्वाचन आयोगले बागमती प्रदेशसभाका लागि निर्वाचित सांसदहरुको अन्तिम मत परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेस गरेसँगै सचिवालय सांसदहरुको शपथमा जुटेको हो ।

आयोगले गत शनिबार निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष बुझाएसँगै सचिवालय सांसदहरुको सपथ ग्रहण तथा प्रदेशसभा सञ्चालनको तयारीमा जुटेको हो ।

संवैधानिक व्यवस्था अनुसार प्रदेशसभा सञ्चालनका लागि आवश्यक प्रक्रियालाई तीव्रता दिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी सुन्दर बास्कोटाले बताए । उनका अनुसार प्रदेशसभा संचालनको लागि सभाको अध्यक्षता गर्ने व्यक्ति आवश्यक पर्नेछ । सचिवालयका तर्फबाट जेष्ठ सदस्य समेत छनौट गर्ने कार्य सम्पन्न गरेको सूचना अधिकारी बास्कोटाले बताए ।

सभामुख र उपसभामुख निर्वाचित नभएको खण्डमा प्रदेशसभाको अध्यक्षता जेष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था रहेकाले सोही अनुसार प्रक्रिया अघि बढाइएको उनले बताए । सो विषयमा छलफलका लागि आगामी पुस ८ गते सर्वदलिय बैठकसमेत आह्वान गरिएको सूचना अधिकारी बास्कोटाले बताए । उक्त बैठकमा छलफल पछि जेष्ठ सदस्य छनौटको अन्तिम निर्णय र सार्वजनिक गरिने उनको भनाई छ । सो सर्वदलीय बैठकमा जेष्ठ सदस्यको सपथ र सभाका अन्य सदस्यहरुको शपथका विषयहरुमा छलफल गरिने उनले बताए ।

उनका अनुसार प्रदेशसभा संचालनको लागि सबैभन्दा पहिले प्रदेश प्रमुखमार्फत् सदस्यहरूको सपथ ग्रहण गराउने पर्ने भएकाले सोही अनुसार तयारी गरिरहेको र जेष्ठ सदस्यले अन्य सदस्यहरूलाई सपथ ग्रहण गराउने कानुनी व्यवस्था रहेको छ ।

संविधानको धारा १८३ अनुसार प्रदेश सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा निर्वाचन आयोगले निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरेको २० दिनभित्र बैठक आह्वान गरिसक्नुपर्ने छ ।  उक्त बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने व्यवस्था भएकाले सचिवालयले सोही अनुसार आफ्ना कार्यहरुलाई तीव्रताका साथ अघि बढाएको उनको भनाइ छ ।

‘हामीले ११० सदस्यीय प्रदेशसभाबाट उमेरका आधारमा सबैभन्दा ज्येष्ठ प्रदेश सदस्यको पहिचान गरिसकेका छौँ,’ उनले भने, ‘त्यसलाई अन्तिम रुपमात्र दिन बाँकी रहेको छ । आगामी ८ गते सर्वदलीय बैठक पनि आह्वान गरिएको छ । सो बैठकले त्यसलाई अन्तिम रुप दिएर सपथ ग्रहण लगायतका विषयहरुमा निर्णय गर्नेछ । त्यस लगत्तै प्रदेश प्रमुखसमक्ष जेष्ठ सदस्यको सपथ ग्रहणको कार्यक्रम तय गरिनेछ ।’

संविधानको धारा १८२ को उपधारा (५)अनुसार प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने व्यवस्था अनुसार सचिवालयले पहिलो बैठकका लागि आवश्यक कार्यसूचीहरू पनि छनोट गरेको प्रदेश सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

उनका अनुसार प्रदेशसभाको पहिलो बैठकको सम्भावित कार्यसूचीमा  स्वागत तथा शुभकामना, सभामुख र उपसभामुखको निर्वाचन, प्रदेश प्रमुख कार्यालयबाट प्राप्त चिठी पत्र र केही अध्यादेशहरू लगायत रहने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप