शुक्रबार, ३० कात्तिक २०८१
ताजा लोकप्रिय

‘सङ्घीयता र समानुपातिकको म विरोधी नै हो, फेरि भन्छु– यो काम छैन’

वामपन्थी मिलाउछु र ५ वटा उपियाँ एकै ठाउँ राख्छु भन्नु उस्तै हो : गोकुल बाँस्कोटा
सोमबार, ०४ पुस २०७९, ११ : ४०
सोमबार, ०४ पुस २०७९

एमाले नेता गोकुल बाँस्कोटाले नेपालको सन्दर्भमा सङ्घीयता र समानुपातिक प्रणालीको आफू विरोधी रहेको सगर्व घोषणा गरेका छन् । काभ्रे २ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित बाँस्कोटा भन्छन्, ‘सङ्घीयता र समानुपातिकको म विरोधी नै हो, फेरि भन्छु– यो काम छैन ।’

प्रस्तुत छ नेता बाँस्कोटासँग भर्खरै सम्पन्न निर्वाचन परिणाम, एमालेमा टिकट वितरणमा भएको भेदभाव, अब बन्ने नयाँ सरकार र वामपन्थी एकताबारे रातोपाटीका रोहित दाहालले गरेको कुराकानीको सम्पादित अंश :

–ख्यालख्यालमै पो जित्नुभयो त चुनाव ?

पहिले जित्छु भनेकै थिएँ त । जनताले भोट हाले, माया गरे । त्यसमा के महँगो पर्नुपर्थ्यो र ?

–तपाईंंलाई जुन खालका आरोपहरू थिए, चौतर्फी घेराबन्दीमा पारेका थिए, झन्डै झन्डै केपी ओलीकै हाराहारीमा चाहिँ गोकुल बाँस्कोटालाई मान्छेले लिन्थे, अरू दलहरूले पनि घेराबन्दी गरे भन्थे । पार्टी विभाजन हुँदा पनि तपाईंका क्षेत्रमा, खास गरी जिल्ला त्यसपछि क्षेत्रमा बढी प्रभावित भएको यावत् कारणले निर्वाचन जित्ने कुरामा धेरै आशङ्का थियो नि ? के त्यस्तो जादुको छडी चलाउनुभयो ?

जनताले चलाए जादुको छडी । मैले त मत मागेँ, कुनै जादुको छडी चलाएको होइन । मैले जनताको अपेक्षामा जुन काम गर्छु भनेको थिएँ त्यो काम गरेको थिएँ । काभ्रेका जनताले त्यसको मूल्याङ्कन गरे । त्यति हो । अब त्यो कल्ले बजारमा के हल्ला चलायो, त्यसको के मतलब छ र ?

–छोएन है त्यो कुराले ?

गलत कुराले किन छुन्छ र ? सत्य भएदेखि त मलाई नै छुन्थ्यो होला । भ्रमपूर्ण कुरा थिए, त्यसैले छोएन ।

–सबैभन्दा ठूलो कुरा यो निर्वाचनको क्रममा झेल्नुपरेको अथवा जनतालाई प्रष्टीकरण दिनुपरेको विषय के रह्यो ?

केही पनि रहेन । मैले जनताका तर्फबाट प्रश्नको सामना गर्नु परेन । तैँले के गरिस्, हामीले यो भनेको थियो, तैँले के पूरा गरिस् ? के गरिनस्, अहँ केही पनि थिएन । हाम्रो साथ र सहयोग रहन्छ भन्ने मात्रै रह्यो । फूलको गुच्छा, कसैले माला उन्न भ्याए त्यही, नभए नारानपातिको मुन्टा, दूबोको मुन्टा टिपेर दिए । फोटो खिचाए, खुसी भए । सुरु गरेका काम पूरा गर्नू, थप नयाँ काम गर्नू भनेका छन् । 

एउटा नयाँ कामको सन्देश दिएका छन् मलाई जनताले । त्यो कुरालाई मैले सिरियसली लिएको छु । त्यो के भने अब सडक, पूर्वाधार मात्रै होइन, रोजगारी सिर्जनातर्फ तिम्रो ध्यान, दबाब, कुन पोजिसन हुन्छ पार्टीको थाहा छैन तर त्यस आधारमा भूमिका खेल्नु र त्यसमा हस्तक्षेप गर्नु । त्यसको आवाज निरन्तर उठाउनू, आफ्नो देशप्रति आफ्ना नागरिकलाई विश्वास जाग्ने वातावरण सिर्जना गर्न भूमिका खेल्नु भनेका छन् । आफ्नो देशप्रति आफ्ना नागरिकलाई गर्व गर्न वातावरण निर्माण गर्ने भूमिका खेल्नु । अबको काम यो हो । देशभक्तिको रक्षा गर्नु । आज भर्खरै पनि म जाँदा केही गरिदिनुपर्दैन, अहिले जति देशभक्त हुनुहुन्छ तपाईंं त्योभन्दा बढी देशभक्त हुनुहोस्, हामीलाई केही चाहिँदैन । धेरै काम गर्नुभयो भनेका छन् । यति हो ।

–तर तपाईं निर्वाचनमा होमिँदै गर्दा लगभग आजभन्दा दुई महिनाअघि निकै ठूलो दबाबमा त हुनुहुन्थ्यो नि, हैन ? तर जुन मतान्तरले जित्नुभयो त्यो फेरि आश्चर्यजनक छ ?

दबाबमा म त थिइनँ । मैले फिल नगरेको कुरा तपाईंंले फिल गरेर के हुन्छ ? कुनै बेला म दबाबमा रहेको भनेर कसरी ठान्नुभयो ? मैले कन्फिडेन्स कहाँ लुज गरेको थिएँ ? मैले कहाँनेर निन्याउरो आनुहार लगाएर हिँडेको थिएँ ? मैले कहाँनेर जनताको स्वागत र सद्भाव पाएको थिइनँ ? म त एकदमै रोमान्टिक मुडमा थिएँ । दबाब त तपाईंहरूको समस्या हो, तपाईंंहरूको प्रोब्लम हो । तपाईंंहरूको हेराइको प्रोब्लम हो । मेरो भोगाइको समस्या होइन । म एकदमै रोमान्टिक मुडमा थिएँ । रमाइलो गरिरहेको थिएँ, नाचिरहेको थिएँ, खेलिरहेको थिएँ । मैले भलिबल र क्यारिम्बोर्ड पनि खेलेँ । मैले स्नुकर पनि फस्ट टाइम खेलेको, ट्याक्र्याक्क बल पनि छिराइदिएँ एकै चोटि हान्दा । मलाई त्यस्तो केही पनि थिएन । हिँडिरहेको थिएँ युवाहरूसित, पाका पुरानाहरूसित, महिलाहरूसित, गाउँघरका मानिसहरूसित । सहरका मानिसहरूसित । जहाँ जस्तो भूगोल थियो, त्यस्तै । म जिरो प्रेसरमा थिएँ, प्रेसरमा अरू थिए होला । खोइ कहीँकतै सिटी लाग्छ कि भनेर होला । त्यसमा को उम्लिरहेका थिए, मलाई थाहा थिएन । म त एकदम कञ्चन, कञ्चन, शान्त, शान्त, कुलकुल थिएँ ।

–२०७४ र यस पटकको निर्वाचनमा फरक के देख्नु भयो ? तपाईंंले के पाउनुभयो ? २०७४ मा त झन् ठूलो अन्तर जित्नुभयो ।

२०७४ मा झन् ठूलो अन्तर थियो । किनभने नेकपा (एमाले)ले मेरो निर्वाचन क्षेत्रअन्तर्गतका ६ वटा पालिका जितेको थियो स्थनीय तहमा । त्यहाँ हाम्रो आफ्नै ४२, ४३ हजार मत थियो । त्यसमाथि नेकपा माओवादीसित हाम्रो चुनावी तालमेल भएको थियो । म बामपन्थीको साझा उम्मेदवार थिएँ । एउटा मनोवैज्ञानिक असर पनि छुट्टै थियो । बामपन्थी बामपन्थी मिलेको भन्ने क्याडरमा पनि छुट्टै थियो । उम्मेदवारहरूलाई पनि एक खालको त्यो थियो होला, मलाई पनि थियो । त्यो एउटा परिवेश थियो । अहिले ठीक रिभर्स थियो । अहिले एमाले पनि फुटेको थियो । माओवादी पनि फुटेको थियो । राम्रो नराम्रो त निर्वाचनले पनि बताइहाल्यो, जुन दल राष्ट्रिय दल हुन सकेकन । त्यो छोडिदिउँ ।

–नेता जति त फुटेका थिए नि त ?

त्यही भएर राष्ट्रिय दल हुन नसकेको हो । जनता त फेुटेका थिएनन् नि त । अहिले चाहिँ फरक थियो । भिन्न थियो, विपरीत थियो, उल्टो थियो । अहिले चाहिँ कांग्रेससित माओवादी र त्यसमा एमालेबाट चोइटिएर गएको एस, अरू केही चित्रबहादुरका लगायत एकातिर थिए । त्यो फरक थियो । त्यस हिसाबले विश्लेषणमा फरक थियो । जनताका मनमा केही पनि फरक थिएन । जनताका विश्वासमा पनि केही फरक थिएन । उनको सपनामाथि कुनै घात भएको थिएन । त्यसैले जनतका बीचमा जाँदा अरूलाई नै प्रेसर थियो होला, मलाई चाहिँ केही प्रेसर थिएन । कुनै रात, कुनै खराब सपनाको ऐठनले मलाई तर्साएन । म जनताको बीचमै, काखमै हिँडिरहेँ । खास मलाई केही मतलब भएन ।

–तपाईंले एक वर्षअघि मसँगैको अन्तरवार्तामा भन्नुभएको थियो, गोकुल बास्कोटा चाहिँ हात्ती नै हो काभ्रे २ का लागि भनेर । प्रमाणित नै गरिदिनुभयो हैन ?

त्यो त अहिले पनि म भन्छु । दम्भ प्रदर्शन गरेको होइन, कुनै पनि दलले आफ्नो दलको एकल दलीय मान्यताका आधारमा एमालेसँग कम्पिडिसन गर्ने आँट त देखाएनन् नि । स्थानीयमा पनि देखाएनन् । स्थानीयमा त्यत्रो चक्रवर्ती सम्राटले जस्तो सबै जितियो भनेर आइसकेकाले पनि फेरि छ, आठ महिनापछिको चुनावमा पनि त्यही गठबन्धनको घट्ट त घुमाए । यी तथ्याङ्क त मैले पनि हेर्न भ्याएको छैन, अहिले म सिधै काठमाडौँ आइसकेको पनि छैन खासगरी । को हात्ती, को भुसुनो भन्नेतिर म जान चाहान्न । मैले रियालिटी भन्न चाहेको हो । मैले धरातलीय यथार्थ भनिदिएको थिएँ । त्यो कुरा कसैलाई पाच्य भयो कसैलाई भएन । कसैले दाह्रा किटे कसैले ठिकै हो भने । त्यो मेरो स्टायल हो, मैले भने । म कुनै दबाब र प्रभावमा रहने मान्छे होइन । मलाई त्यो लाग्दै लाग्दैन ।

–यसबाट स्पष्ट भयो गोकुल बाँस्कोटाले आफूले जे गर्‍यो त्यो मात्रै भन्यो र निर्वाचन जित्यो, धेरै लप्पनछप्पन घुमाएर पनि कुरा गरेन । तर तपाईंंको स्वभावभन्दा फरक चाहिँ कसैलाई गाली गर्नुभएन रे, दीपकजीको त नाम नै लिनुभएन रे ? गालीगलौज नै गर्नु भएन रे ? अर्को चाहिँ पार्टी अध्यक्षले आम सभा गर्न तपाईंले गरेको रिक्वेस्टलाई पनि अस्वीकार गर्नुभयो रे ?

हैन हैन, पार्टी अध्यक्ष र मेरो चुनावका बीचमा केही कुरा भएन । अध्यक्ष जाने कुरा पनि मलाई थाहा भएन । मलाई २८ गतेतिर एउटा कार्यक्रम गर्नुपर्‍यो भनेर जिल्ला अध्यक्षले भनेका थिए । के गर्ने भनेँ, आम सभा भने । त्यो फुर्सद छैन भनेँ मैले । लगनका बेला के गर्ने भन्छन् नि, त्यो गर्नु हुन्न भनेँ । अब ४, ५ दिन बाँकी हुँदा कहाँ मान्छे जुटाउने, २८ गते आमसभा गरेर के हुन्छ भन्देको थिएँ । त्यसैले त्यो कुरा चाहिँ फत्तुर कुरा हो ।

–अध्यक्षलाई किन लानु भएन तपाईंंले ?

अध्यक्षलाई लानै पर्छ भन्ने के छ ? अर्को ठाउँ जानुभयो होला नि पाँच ठाउँ ?

–भोट बढ्थ्यो, तपाईंंले चाहनुभएको भए लानुहुन्थ्यो ? अध्यक्ष जाँदा भोट घट्छ भन्ने भयो तपाईंंलाई ?

त्यो तपाईंंको अनुमान हो नि । मसित समय थिएन एउटा, अर्को उहाँले गर्ने अपिल त्यही थियो । अहिले त मिडियाको यत्रो कुरा छ नि त । एउटा कुरा हेक्का होस्, अध्यक्ष यसअघि २०७४ मा पनि काभ्रे जानु भएको थिएन । त्यो पनि गणनामै राख्नु होला । म दुःख दिन चाहन्न थिएँ । किनभने आमसभा गर्न झन्झटिलो छ क्या । आम सभा गर्ने भनेको त विभिन्न ठाउँबाट मान्छे भेला गर्ने हो नि । मान्छे भेला हुने भनेको जाऊ भनेर पहिला निम्ता दिन जानु पर्‍यो । त्यो आमसभाको मैले मतलब नै देखेको छैन । नेपालको परिवेशमा आमसभा अब आउट डेटेड भयो ।

–विपक्षीलाई गाली नै गर्नुभएन रे यस पटक ? तपाईंंको स्वाभावविपरीत कुरा भयो नि ?

विपक्षीलाई गाली गर्नुपर्ने, समर्थन गर्नुपर्ने, मेरो चासोको विषय थिएन । म जनताको घरघरमा पुग्न चाहन्थेँ । जनताका घरमा कुनै विपक्षी नै हुँदैन थिए, जनता मात्र हुन्थे, जनतका घरमा गएर मैले कसलाई गाली गर्नु ? घरघरमा, टोलटोलमा गएँ, भोट मागेँ, मैले कांग्रेससित पनि भोट मागेँ, समाजवादीसँग पनि भोट मागेँ, माओवादीसँग पनि भोट मागे, एमालेमा नभएका साधारण मानिससँग पनि भोट मागेँ, भरिया, मजदुरसँग पनि भोट मागेँ । म मेरा एजेन्डामा चुनाव लड्न गएको थिएँ, गाली मेरो एजेन्डा थिएन । यस पटक न उस पटक कहिले पनि थिएन । म मेरो राजनीतिक मुद्दा बताउने हो । जनताले भनेको स्ट्रङ सन्देश पनि स्पष्ट भनेँ । साधारण कुरा हो नि ख्याल गर्नु होला । 

तेहेर्याएर भन्छु, यो साधारण कुरा हो र शक्तिशाली पनि । जब तपाईंंलाई तपाईंको देशको नागरिकप्रति गर्व र विश्वास हुँदैन त्यो देश कहिल्यै स्थिर पनि हुँदैन । त्यो देशले कहिल्यै पनि प्रगति पनि गर्दैन । त्यो देश कहिल्यै पनि वास्तविक रूपमा स्वतन्त्र पनि हुँदैन । त्यसकारण आफ्नो देशको समग्र क्षेत्रको गर्वलायक इतिहासको विश्वास गर्नलायक भविष्यको आफ्ना स्रोत साधनहरूको सदुपयोग गरेर नेपालमै केही गर्न सकिन्छ । नेपालमै हामी गर्न सक्छौँ भनेर हुर्कंदो जनशक्तिलाई विश्वास दिलाउन सक्दैनौँ । अब नेपालमा कोरा कुरा गरेर केही हुनेवाला छैन । रोजगारी चाहियो रोजगारी, बुझ्नु भयो । जनवादी शिक्षा भनेर उफ्रेर केही हुनेवाल छैन । कसले दियो जनवादी शिक्षा ? एमालेले दियो ? कांग्रेसले दियो ? राप्रपाले दियो ? माओवादीले दियो ? 

अब मान्छेले जीवनोपयोगी शिक्षा खोजे । शिक्षा जीवनोपयोगी होला, पढिसकेपछि काम के ? मान्छेले काम खोज्दैछ । जीवनमा परिवर्तन खोज्दैछ नि । अब यो एकदमै शक्तिशाली मुद्दा हो अब । त्यो कुरा भुलेर अब केही पनि हुँदैन । म जनताको मन पनि छाम्न चाहन्थेँ । अब उनीहरूले बाटो मात्र खोजेका हुन् कि ? पानीको धारा मात्र खोजेका हुन् कि, हिजो थियो त्यो आधारभूत आवश्यकता । आज पनि कतिपय ठाउँमा होला । त्यसैले म कसैलाई सराप्न गएको थिइनँ । म उनीहरूको मनको कुरा बुझ्न गएको थिएँ । मप्रतिको विश्वास पनि कति छ, छैन बुझ्न गएको थिएँ र मेरो परीक्षण गर्न पनि गएको थिएँ । सँगसँगै उनीहरूको अभिमतको प्रतिनिधित्व म गर्न सक्छु कि सक्दिनँ भनेर आफूले आफैँलाई छाम्न पनि गएको थिएँ । 

त्यसैले म कसैलाई सराप्न गएको थिइनँ । म स्पष्ट एजेन्डाका साथ गएको थिएँ । मैले भनेको छु, सुरु गरेका सम्पूर्ण योजनाको पूर्णता त्यसपछिको दिगो विकासतर्फ लाग्नुपर्‍यो । अब सधैँ एयरपोर्टमा लाइन लगाएर भएन, लाइन लाग्न मिल्छ । 

–जनतालाई रोजगारी सिर्जना गर्ने कुरा प्रमुख हो ?

हो, त्यही कुरा हो । त्यसमा सबै दल एकै ठाउँमा उभिएर लाग्न सकिन्छ नि । विदेश नीतिमा सहमती नहुने, उत्पादन कार्यमा सहमती नहुने अनि यहाँ त मौका परस्त कुराको घृणा पनि व्यक्त गरेको जस्तो लाग्छ । केही केही अलि मान्छेहरूले भने जस्तो नचिताएको परिणाम आयो भन्छन् नि । अरू गाली गरेर रमाए होला, मलाई केही मतलबै थिएन । मसित योजना थियो, मैले काम गरेको थिएँ, त्यो कुरा म भन्न गएको थिएँ । अब के गर्नुपर्छ त्यो कुरा म सोध्न गएको थिएँ ।

–तपाईंंले त ४५ हजार ३४५ भोट ल्याउनुभयो, त्यत्रो भोट त को पार्टीको भोट होइन, कसको भोट ल्याउनुभयो ?

मलाई पहिलो प्रश्नको उत्तर सक्न दिनुस् । म मैले यो पाँच वर्षमा गरेका काम जनतालाई प्रत्यक्ष भेटेर बताउन गएको थिएँ । दोस्रो अब उनीहरूको अपेक्षा के छ, त्यो सोध्न, बुझ्न गएको थिएँ । तेस्रो, मत माग्न गएको थिएँ । चौथो मप्रतिको दृष्टिकोण र परीक्षण छाम्न र जाँच्न गएको थिएँ । त्यही काम गर्न गएको थिएँ म । म कसैलाई धारे हात लगाउन गएको थिइनँ । हरियो बाँसमा यसो गरौँ, उसो गरौँ भन्छन् नि ।

–त्यो त तपाईंंको स्वाभावविपरीत भयो भन्छन् नि ? तपाईंं त विपक्षीप्रति आक्रामक आफ्नै प्रति असहिष्णु ?

कसले भनेको ? आफ्नै को प्रति असहिष्णु ? जे ठीक हो त्यसको समर्थन, जे बेठीक हो त्यसको विरोध । त्यो के सहिष्णु र असहिष्णु भयो त्यो ? त्यो तथ्यपूर्ण कुरा हैन ? विपक्षीलाई मैले कहिले के भनिदिएको छु र ? नचाहिँदो कुरा गरेका बेलामा मैले भनिदिएको छु । विपक्षी आएका थिए नि नचाहिँदा कुरा गर्न, मैले त्यसबेला जवाफ दिएको थिएँ । विश्वविद्यालय बन्दैन, झुट कुरा हो भन्दैथिए । हो मैले भनेको थिएँ, वाक ओभर दिन्छु किन घाँटीमा घोक्रो फुलाएर हिँड्छौ ? चुनावपछि घाँटीको अप्रेसन गर्नुपर्ला, ठूलो घोक्रो नफुलाऊ । च्यातिदेऊ न त्यो भनिदिएको थिएँ मैले । यो फ्याक्ट हो । त्यति मैले भन्दिएँ, आआफ्नै स्टाइल हुन्छ प्रतिवादको बुझ्नु भयो । 

त्यसैले म कोहीप्रति सहिष्णु र असहिष्णु छैन । म लालाई लागेका कुरा मजाले गर्न सक्छु । पार्टीभित्र होस्, पार्टी बाहिर होस्, समाजमा होस्, जहाँसुकै होस् । किनभने म एउटा स्वतन्त्र मान्छे पनि हुँ । मेरो विचारधारा मेरो च्वाइसको कुरा हो । तर म नेपाली हुँ, त्यो कुरा गर्छु । त्यसकारण स्वाभाव के थियो थिएन, स्वभाव त मेरो बदलिँदैन । 

–बदलियो यसपटकको चुनावमा ।

१५ दिनमा के बदलियो ? ६६ वटा वडामा एक दिनमा कतिवटामा जानुपर्थ्यो । गाली गर्न तपाईंंले मञ्च बनाइदिएको भए हुन्थ्यो नि त ।

–गाली गर्ने मान्छे भेट्नुभएन होला होइन ?

म जनतालाई गाली गर्न गएको थिइनँ । १५ दिनमा ६६ वटा वडा पुग्नुथियो । त्यसका पनि टोल हुन्छन् नि त । टोलटोलमा पुग्नुथियो । बाटो हिँडेर, कुदेर गाडीको टायर फटाएर १६, १८ घण्टा कुदेर ४ घण्टा सुतेर पनि हिँडेको छु । त्यतिखेर कसलाई के सराप्नुपर्‍यो र तातो न छारो ? भोट माग्न गएको हुँ, जनताले भोट दिए सिद्धियो त कुरा । जसले सरापे तिनै हारे सिद्धियो ।

–समग्रमा नेकपा एमालेले यसपटको चुनावमा जित्यो कि हार्‍यो ? 

विश्लेषण आआफ्नो कुरा हो, जुन प्रकारको राजनीतिक परिस्थिति थियो, त्यो हिसाबले जित्यो ।

–तर पार्टी अध्यक्षले भनेजस्तो १५० सिट चाहिँ आएन ?

त्यो हारेकाले एउटा एउटा रफ्फू भर्ने कुरा हुन्छ । त्यो प्रेडिक्सनको आधार के थियो, मलाई थाहा छैन, मैले बनाएको पनि होइन । हामीलाई कसैले सोधेको पनि थिएन । त्यसो हुनाले उहाँले आफ्नो मूल्याङ्कनका आधारमा भन्या हो कि होइन, त्यो पनि मलाई थाहा छैन । भन्नुभयो भने एउटा बुस्टअप गर्न भन्नुभयो होला । यो फन्डा त जसले पनि त झिक्छ नि चुनावमा । त्यो हुँदा ९० सिट प्रत्यक्ष जित्नुपर्छ ।

–अध्यक्षले बोलेपछि ठ्याक्कै आधा हार्ने गरी त कस्तो मूल्याङ्कन गर्नुभयो ?

अध्यक्ष ज्योतिषी त होइन । उहाँले एउटा राजनीतिक स्ट्यान्ड दिनुभयो होला । सिद्धियो कुरा ।

–एमालेले निर्वाचन जित्यो त ?

जस्तो परिस्थितिमा थियो त्यस परिस्थितिमा जित्यो । जति जित्नुपर्थ्यो त्यति जित्न सकेन ।

–एमालेको आफ्नै कमजोरीले हार्‍यो होइन ?

तपाईं यही कुरा गर्नुहुन्छ र गाली खानुहुन्छ ।

–टिकट वितरणमा कमजोरी भएन ?

म के भन्दै थिएँ त ? खाली मलाई असहिष्णु भन्ने ? कुनै पनि वस्तुको कुनै पनि पदार्थको परिवर्तनको प्रमुख कारण आफैँभित्र हुन्छ । बाह्य वातावरण सेकेन्डरी हुन्छ । आफ्ना कमजोरी थिए नि किन थिएनन् ?

–के के थिए गल्ती ? १२, १५ सिट एमालेले बढाउन सक्थ्यो नि ?

त्यो भन्ने बैठकमा हो । मेरो हिसाबमा प्रत्यक्षमा ६३ सिट जित्थ्यो । के के गर्‍यो देशभरी त्यो म जान्दिनँ । मेरै जिल्लाको कुरा गर्ने हो भने, मलाई एक वचन पनि कहाँ के गरौँ भनेर कसैले सोधेन । जसले निर्वाचन कमान्ड गरेका थिए । मसँग १०, २० मिनेट भेटेर कुरा गर्न पनि चाहेनन्, भेट्छु भनेर पनि भेटेनन् त्यही गल्ती गरे । 

–त्यस्तै देशभरी भयो होला ?

भयो होला, मेरो अनुमान । मैले एउटा सिफारिस गरेको छु तर काभ्रेको भनेर अर्कै जिल्लाका मान्छेको नाम समानुपातिकमा हालेर छोड्देको छ । त्यस्तो पनि गरेर पठाए फस्ट फेजमा । मैले क्म्प्लेन गरेँ । यो पनि सुनेनन् । केही न केही मनोपोली त गरे नि ! केहीकेही ठाउमा भुइँ मान्छेका कुरा नसुनेको हो । त्यो देशैभरी सुनेनन् कि मेरो जिल्लामा मात्रै सुनेनन्, म जान्दिनँ ।

–एमालेमा तपाईंको त कुरा सुनुवाइ भएन भने अरूको के हालत होला त ?

जसलाई जिम्मा दिएको छ उहाँहरूलाई लाग्यो होला । त्यो उहाँहरूकै दोष हो, अध्यक्षको होइन होला । अध्यक्षले त मलाई भनेका थिए उनीहरूलाई भन्नु भनेर । त्यसैले म व्यक्ति तोक्न चाहान्न । जसको जिम्मा थियो त्यसले लिनुपर्छ । कमिकजोरीरहित त को छ र ?

–टिकट वितरणमा कमजोरी भयो, भएन ?

यी धेरै कुरामा म छिर्न चाहन्न । म मेरो कुरा जहाँ गएर पनि भन्न सक्छु । अध्यक्षकहाँ गएर पनि, बैठकमा पनि र जनतासँग पनि भन्न सक्छु –मेरो कुरा सुनेनन् काभ्रेको हकमा । तर देशभरीको मलाई थाहा हुँदैन । तर मेरो आधा कुरा सुने, आधा सुनेनन् ।

–यसको अर्थ तपाईंलाई टिकट दिए, आधा सुने । भनेका मान्छेलाई दिएनन् सुनेनन् हो ?

त्यस्तो पनि हुँदैन । राजनीतिक विश्लेषण हुनुपर्दैन ? कुरा सुन्ने भनेको खाली मान्छेलाई टिकट दिने कुरा मात्रै हुँदैन । परिस्थिति के छ ? कसो गर्दा राम्रो हुन्छ ? राजनीतिक स्ट्रेन्थ के छ ? यो कुराका लागि सडकमा को को मान्छे लगाएर सुनेर त हुँदैन । बसमा र चिया पसलमा सुनेको कुरा भनेर हुन्छ ? हुँदैन । यस्तो गर्दा पार्टीको आधिकारिक च्यानललाई धराप भयो ।

–गोकुल बाँस्कोटाको बोली एमालेमा सुनुवाइ नहुनुको अर्थ तपाईं र अध्यक्षबीचको सम्बन्ध चिसिएको हो ?

यो व्यक्तिगत कुरा नगर्नुस् । तपाईंहरूको यही बानी खराब छ । अध्यक्ष र मेरो केही पनि चिसिएको छैन ।

–किन सुनुवाइ भएन त ?

अध्यक्षले कसैलाई जिम्मा लगाएको थियो होला, सबैतिरका मान्छे त्यतै गइरहेका थिए । कार्यालयमै गइरहेका थिए, त्यहाँ टिम थियो । अनि उनीहरूले कुरा गरे त ? मलाई बोलाउँछु भनेर नबोलाईकन विषय टुङ्ग्याएको हो नि !

–आफ्ना फेसबुक स्टाटसमा पनि तपाईंले समानुपातिकमा ठूलो असन्तुष्टि जनाएको देखिन्छ नि ?

त्यसमा त मेरो सिस्टममाथि नै प्रश्न छ । जस्तो सङ्घीयता र समानुपातिकको म विरोधी नै हुँ, फेरि पनि भन्छु यो कामै छैन, यो मेरो स्वतन्त्र नागरिकका रूपमा मत हो । तर मैले नै यो सिस्टम परिवर्तन गर्न त सक्दिनँ नि ! मेरो मत र दृष्टिकोण दिने कुरा हो । त्यसकारण म निष्प्रिय रूपमा के भन्न सक्छु भने मसँग भएको कुराको जवाफदेहिता लिन्छु । अर्काको र देशभरीको कुरा भन्न सक्दिनँ । लाइट मेन्डेटहरू बसेर मात्रै तिनको दिमागमा जे घुस्यो, त्यो गर्ने कुरा गलतै हो ।

–समानुपातिकमा नेकपा एमालेबाट जोजस्ता व्यक्तिहरू परे र बाहिर विवाद पनि भयो । त्यसमा तपाईंको भनाइ के हो त ?

त्यो हामीलाई थाहा हुन्न । एकनाथ ढकालको नाम कसरी पर्‍यो मलाई थाहा छैन ।

–त्यस्तो व्यक्ति पर्नु ठीक कि बेठीक ? 

बेठीकै हो मेरो विचारमा । पार्टीले गर्‍यो, व्यक्तिले गर्‍यो थाहा छैन तर मलाई ठीक लागेन । बेठीक लाग्नुमा कारण दुईवटा छ । पहिलो पार्टीको अध्यक्ष रहेछ, अर्को पार्टीको अध्यक्ष कुनै चुनावी तालमेल नभई समानुपातिकमा बस्ने होइन नि त ! कि त पार्टी प्रवेश गर्नुपर्‍यो । नामप्रति मेरो कुनै घृणा छैन । एमाले प्रवेश गरेर उसको पार्टी भङ्ग गरेर आउनुपर्‍यो, त्यो ठीक छ । तर यसरी गर्ने कुरामा म समर्थन गर्न सक्दिनँ । यसमा मलाई कसले के भन्छ भन्ने मतलब छैन । अरू पार्टीमा पनि भएको होला एमालेमा मात्रै होइन फेरि यो । अरू पार्टीमा विवादै नभएको त होइन । श्रीमान् श्रीमती राख्नुपर्ने, एक नम्बर, दुई नम्बरमा राख्नुपर्ने ? यस्तो प्रवृत्ति जम्मैतिर छ । नेपालका राजनीतिक पार्टीहरूमा यो समस्या छ । उनीहरू डेमोक्रेसीका लागि लडे तर आफैँ डेमोक्र्याटस हुन सकेनन् ।

–जसलाई जे दोष दिए पनि एमाले निर्वाचनमा पराजित भएको त हो नि ?

पराजित भएन । तपाईंको भाष्य नै गलत छ ।

–ओरालो लागेको त हो नि ?

नो नो ! तपाईंको भाष्य एकदमै गलत छ । यसखालको अपमानित हुनेगरी एमालेलाई कुरा नगर्नुुस् ।

–अध्यक्षले सय सिट प्रत्यक्षमा जित्छु भनेका अध्यक्षले ४४ सिट मात्रै जित्दा हारेको भन्न मिल्दैन ?

त्यो मलाई थाहा छैन । उहाँले कति भन्नुभो, मैले त सुनेको पनि छैन । मैले चुनावभरी कसैको कुरा सुन्दा पनि सुनिनँ । मलाई टिकट दिइएको थियो म जित्न हिँडे । मैले सकेका ठाउँमा जिताउन कोसिस गर्ने हो आफ्नै टेरिटोरीभित्र । देशभरको ठेक्केदार म होइन । क्लियर छ कुरा, जजसले जहाँ जहाँ ठेक्का पारेका थिए त्यो जिम्मा उनीहरूले नै लिऊन् । जसको जे कामको परिभाषित थियो त्यहीँ काम गरे होलान् । के जिम्मेवारी थियो, के रिजल्ट आयो, त्यो पनि उनीहरू जानुन् । हरेकले जवाफदेहीता बोक्नैपर्छ । मैले अघि भनेको कुरा चाहिँ इनप्रिन्सिपल सबै पार्टी डेमोक्र्याट हुन् इन प्राक्टिस अधिकांश पार्टी डेमोक्र्याटिक होइनन् । त्यसैले यसमा चेन्ज जरुरी छ, छ, छ ।

–पार्टीहरूभित्रको आन्तरिक लोकतन्त्र परिवर्तन गर्न जरुरी छ ?

छ । तपाईंले एमाले हार्‍यो भन्नुभयो, कसरी हार्‍यो ? यदि त्यो समानुपातिक प्रणाली नै मानकमध्ये एक बनाएकै छ । कोही छोड्न तयार छैन नि ! किनभने खल्तीबाट झिको यता हाल्यो, उताबाट आफ्नै हाल्यो । त्यो अवस्था त छ नि !

–त्यो पनि एमालेमा बढी देखियो त्यस्तो ?

तीन चार पटक कांग्रेसमा देखिएन र ! माओवादीमा देखिएन, विवाद छैन ? हुँदाहुँदा भर्खर खुलेको पार्टीमा पनि आत्महत्या गर्छु भन्ने अन्तरवार्ता झिलिक्क हेरेको थिएँ । त्यसैले यस्तो मानक नबनाउनुस् कि फलानालाई लखेट्नैपर्छ । बरु यो भन्नुुुुस् हामी सबै मिलेर एमालेलाई लखेट्ने अभियान अझै सकिएको छैन, जारी छ । यो तपाईंको मिडियाले घोषणा गर्छ, तपाईं गर्नुहुन्छ केही पार्टीहरूको इच्छा तुष्टीकरणका निम्ति त्यो घोषणा गर्छन्, त्यो मलाई स्वीकार्य छ तर... ।

–हामीलाई किन घोषणा गर्नु छ र ?

गर्न त त्यही खोजनुभयो नि ! जहाँसम्म तपाईं जसरी प्रश्न रेज गर्नुभएको छ । दोस्रो एमाले हार्‍यो भन्ने कुरा गलत हो । समानुपातिकमा सबैभन्दा बढी भोट कसले ल्यायो ? एमालेले धेरै मत ल्याएपछि हारेको हुन्छ ? मेरै जिल्ला र क्षेत्रको कुरा गर्नुस् । ३४ हजार भोट एमालेले समानुपातिकमा ल्याएको छ, २६ हजार कांग्रेसको छ ।

–०७४ साललाई हेर्दा के भन्नुहुन्छ त ?

त्यसबेलाको हेर्दा तीन प्रतिशत उसले पनि गुमाएको छ तीन प्रतिशत उसले पनि गुमाएको छ । अनि एमाले लुजर, कंग्रेस मात्रै विनर ?

–तपाईं आफ्नो पार्टीको मात्रै कुरा गर्नुुस् न !

कम्प्यारेटिभ पोल्टिक्सको कम्प्यारेटिभ कुरा हुन्छ । ठीक छ एमालेको पनि घट्यो होला तर कतिपय कमजोरीबिना त घटेन होला । मैले त्यही भनिरहेको छु । ओरालो लागे म भन्दिनँ, प्रभाव गुमाए । हार्‍यो एमाले, सक्कियो भन्नुभयो नि यदि सक्किएका भए जम्मै सकिएका छन् । करेक्सनको घण्टी चाहिँ बज्यो । म त अर्को पनि भन्दिन्छु । एमालेको ३४५ कि ३४८ को केन्द्रीय कमिटी किन ? ४, ५ सयको प्रदेश कमिटी किन ? सबैलाई टिकट चाहिएको छ । टिकट कति छ भन्दा देशभरी जोड्दा हजार बाह्र सय होला । अनि यस्ता चिजहरूमा रिथिङ्क गर्नुपर्छ । आफ्नो सङ्गठनात्मक प्रणाली सुधारून्, सोच्ने शैलीमा केही सुधार ल्याऊन् ।

–निर्वाचनपछि एमालेको समीक्षा मिटिङ त बस्ला । फेरि त्यहाँ बोल्न पाइँदैन भन्ने पनि छ । त्यो बैठकमा आफ्नो पार्टीको साङ्गठनिक संरचना बदल्नुपर्छ भन्नुहुन्छ ?

केन्द्रीय समितिको मिटिङ हुँदा सधैँ त्यही हो भन्ने । को आयो, को गयो, कसले के बोल्छ, त्यो पनि थाहा हुदैन र फेरि पनि रेडिमेड कुरा हो । अथवा समीक्षा माथिबाट मात्र हुन्छ भन्ने भाष्यबाट जान्छ तलको कुरा कम आउँछ । तलको कुरा जब कम सुनिन्छ सिक्ने र सिकाउने कुरा कमजोर हुनथाल्छ । नेतृत्वले अवश्य सिकाउनुपर्छ । तलले भनेको सबै कुरा ठीक हुन्छ भन्ने पनि होइन । सूचना, संश्लेषण र विश्लेषणका कुरा पनि हुन्छन् । त्यसैले त्यहाँ त एउटा प्रतिवेदन पेस गर्ने हो, राय व्यक्त गर्ने हो । टोली नेतालाई आएका कुरा सुना भनेको हुन्छ, त्यसलाई पनि १० मिनेटको समय हुन्छ । त्यसैले सङ्गठनात्मक संरचनामा अविलम्ब ठूलो परिवर्तन देख्छु म एमालेमा । एमाले पिरामिडजस्तो पार्टी हुनुपर्ने सोलीजस्तो हुन थाल्यो । मेरो पार्टीको फोरममा म यो कुरा राख्छु । लागेको कुरा भन्न हुँदैन, जिब्रो थुतेर फाल्दिन्छ भन्ने त्रास र आसले लुगलुग कामेर भाग्नेवाला म छैन । त्यसो नगर्ने नाममा लु आइज भनेर जुध्नेवाला पनि छैन । यी दुई अतिबाट म भिन्न छु । यसको मतलब एमालेको विचारधारात्मक कुरामा कुनै समस्या छैन, मूल नेतृत्वमा पनि त्यस्तो समस्या देख्दिनँ ।

–फेरि अध्यक्षलाई जोगाउनुभयो तर अध्यक्षकै कार्यशैली भएन भन्ने आम कार्यकर्तामा परेको छ नि ?

अध्यक्षको कार्यशैली ठीक भो भएन भन्ने समीक्षा त्यही ठाउँमा होला । विकल्प पनि हुनुपर्ला । सिध्याउने र सच्याउने फरक कुरा होला ।

–यो चुनावमा भीम रावल र घनश्याम भुसाललाई टिकट नदिँदा एमालेले घाटा बेहोर्‍यो धेरैले भन्छन्, तपाईं चाहिँ के भन्नुहुन्छ ?

घनश्याम भुसाललाई टिकट दिनुपर्ने नपर्नेमा मेरा पनि रिजर्भेसन थिए । नदिँदा पनि हुने । किनभने उहाँ विचार पनि नमान्ने र सङ्गठनात्मक प्रणाली पनि नमान्ने, उहाँ जे भन्नुहुन्छ त्यो मात्रै मान्नुपर्ने ? यदि तपाईंले केपी ओलीलाई आफ्नै कुरा मात्रै लाद्ने भन्ने हो भने घनश्यामको पनि कुरा त्यही थियो नि त !

–त्यसोभए केपी ओली र घनश्याम भुसालको कार्यशैली एउटै हो ?

सुन्नुस्, घनश्याम भुसाललाई टिकट दिनैपर्थ्यो भन्ने कुरा होइन । जहाँसम्म भीम रावलको कुरा हो, नाम सर्वसम्मत आइसकेपछि पनि नदिएका कारण मलाई थाहा छैन । प्रक्रियाबाट आएपछि त्यो प्रक्रिया मान्नुपर्छ भन्ने हो मेरो बुझाइ । अब त्यसले के असर गर्‍यो गरेन, विश्लेषण होला नै ! त्यसकारण रावललाई टिकट नदिनु ठीक बेठीक मैले भन्ने भन्दा पनि दिनेले भन्नुपर्ला ।

–सरकार बनाउन एमाले पनि लागिरहेको चर्चा छ । कोसँग मिलेर बनाउँदैछ ?

एमालेले सरकार बनाउने म्यान्डेट त आएन र तुलनात्मक म्यान्डेट यो चुनावी प्रणाली रहेसम्म आउँदा पनि आउँदैन । यति उत्कृष्टभित्रको यति अस्थिर संविधान बनाउने अहिलेकै मुख्य पार्टीहरू हुन् । कसैको बहुमत नै आउन नसक्ने कुरा पनि मान्ने हो ? कि एकल प्रणालीमा जाऊँ । प्रत्यक्ष निर्वाचित बनाइदिए भयो नि ! माथि २७५ र तल १२ सय चाहिएको होइन ? ६ महिनामा १२ प्रतिशत पुँजीगत खर्च गर्नसक्ने, २८ प्रतिशत साधारण खर्च गरेर रमाउने, विकासको परिभाषा गर्ने, अनि देश पनि बनाउँछु भनेर गफ दिनेहरू यसमा सोच्न तयार छन् त ? छन् भने स्थिरता आउँछ । समानुपातिकबाट राष्ट्रिय सभालाई अर्कै सभामा बदल । खास समानुपातिकबाट राष्ट्रिय सभा बनाऔँ न, भइहाल्यो नि ! अनि प्रत्यक्षमा प्रतिस्पर्धाबाट आउने आए भयो त । महिलाको क्षेत्रमा गर्नेभए पूर्ण एक पटकमा ५३ क्षेत्र आरक्षण गर । अर्को पटकलाई नदोहोरिने गरी गोला हान्देऊ । मेरो क्षेत्रमा महिला पनि पर्न सक्छन् । मलाई जन्माउन महिलाले सक्छन्, उनले त्यहाँ जित्न सक्दैन भन्ने कुनै कुरा हुन्छ र ! आफू सुध्रन नचाहने अनि उसले उसलाई दोष दिएर हुन्छ ? एमाले हराउन पाँच दल लागेकै हुन् र पाँचै दललाई निमोठेर फाल्न एमाले लागेकै हो । यसमा के को कमजोरी खोज्नुहुन्छ ?

–मेरो प्रश्न एमाले सरकारमा जाने कि नजाने भन्ने हो ?

सरकारमा नजान एमाले पार्टी जन्मेको होइन । सरकार बनाउने, नेतृत्व गर्ने, नेतृत्वकारी विचार, नेतृत्वकारी सङ्गठन स्थापित गर्ने भन्ने त हाम्रो उद्देश्य नै हो । तर अहिले एमाले सरकारमा जान सिटै पुग्दैन त कसरी जान्छ ?

–प्रचण्डलाई प्रधानमन्त्री दिएर भएपनि सरकारमा जाने भन्ने कुरा सत्य होइन ?

मलाई अहिले नै त्यो अवस्था आउला भन्ने लाग्दैन ।

–तपाईंहरू नै वामपन्थीहरू मिलाउन लाग्नुभएको छ भन्ने पनि सुनिन्छ नि ?

यो देशमा वामपन्थी मिलाउनु र पाँचवटा उपियाँ एकै ठाउँमा एकछिन राख्छु भन्नु उस्तै हो ।

–यसमा तपाईं असफल भएको हो ?

म के असफल ? जेट पाइलट नै ढल्यो त । नेपालका वामपन्थी पार्टी नेपालकै माटोबाट चल्नुपर्‍यो । नेपाली मतबाट चल्नुपर्‍यो । कम्फर्टेबल सरकार बनाउँछौ भन्ने गठबन्धन जीवित रहँदा, उसको बहुमत रहिरहँदा एमालेले सरकार कसरी बनाउँछ ?

–अर्को व्यक्तिलाई प्रधानमन्त्री मानेर एमालेले सरकार बनाउँदैन ?

एमाले सरकारमा जान कि एमालेले अरूलाई समर्थन गर्नुपर्‍यो त्योबाहेक एमालेकै नेतृत्वमा अहिले सरकार बन्छ भन्ने मलाई लाग्दैन । एमालेले अरूलाई समर्थन गर्छ गर्दैन त्यो मेरो बुताको कुरा होइन ।

–कांग्रेस र एमाले मिलेर सम्भव छैन ?

कांग्रेस एमाले मिल्ने भन्ने कुरा धेरै कठिन कुरा हो । मिलेको इतिहास नै छैन भन्ने होइन, क्राइसिसमा मिलेको छ । कम्पिटिसनमा मिलेको छैन । अहिले केको क्राइसिस ? यो जन्माएको त गलत राजनीतिक अभ्यासले हो ।

–राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको मतमा तपाईंको केही टिप्पणी छ ?

आइसकेको मतको के छ कसो छ भन्नतिर म जान चाहान्न । जनताको अभिव्यक्ति हो त्यो । त्यसमा पुराना पार्टीहरूप्रति केही प्रश्नहरू उठ्यो होला । तर यो टिक्छ टिक्दैन भनेर म कुनै प्रेडिक्सन गर्दिनँ, उहाँहरूलाई पनि एउटा च्यालेन्ज चाहिँ थपियो ।

–के हो त्यो ?

हिजो असन्तुष्टिहरूलाई सङ्गठित गरेर एउटा शक्ति आर्जन गर्नुभयो । अब उहाँहरू कुनै न कुनै रूपमा विपक्षी नै भए पनि जवाफदेहिताको सिद्धान्त त मान्नुपर्छ ।

–नयाँ पार्टीप्रति जनताको मत यसरी नै जाने हो भने अबको ५ वर्षपछि पुराना पार्टीहरू लाल्टिन बालेर खोज्नुपर्ने अवस्था नआउला ?

राजनीतिमा यही हुन्छ भनेर भन्न मिल्दैन । हाम्रोजस्तो देशमा त झन भन्न मिल्दैन । किनभने हाम्रो देशमा धेरै फ्याक्टरले काम गर्छ । त्यसैले त्यो मत असन्तुष्टिको पनि होला, आशावादको पनि होला अथवा समय बदलियो है भन्ने पनि होला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप