सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

दूधको उचित मूल्य नपाएको कृषकहरूको गुनासो

सोमबार, ०४ पुस २०७९, ०९ : ०३
सोमबार, ०४ पुस २०७९

जितपुरसीमरा वडा नं १६ महेन्द्रनगरका शंकरराज अर्यालले करिब १ करोड लगानीमा २० वटा गाई, ५५ वटा बाख्रा पालन गरेका छन् ।  १६ वटा दुहुना गाईको उनले दैनिक ७० देखि ७५ लिटर दूध बिक्री गर्दछन् । अर्यालले उत्पादन गरेको दूध बजारमा प्रतिलिटर ९० देखि सय रुपैयाँमा बिक्री हुन्छ । तर सोही दूधको मूल्य सहकारी (डेरी) ले भने प्रतिलिटर ५८ देखि ६४ रुपैयाँ भन्दा माथि दिँदैन ।

 ‘डेरीले हामीलाई दिने मूल्य चित्त बुझ्दो छैन । तर त्यसको विकल्प पनि हामीसँग केही छैन, १ करोड लगानी गरेर मासिक ५० हजार आम्दानी गरेर के फाइदा भयो भन्नु ?,’ अर्यालले भने, ‘तैपनि खाडी मुलुक गएर अरूको देशमा पसिना बगाउनु भन्दा यही केही सङ्घर्ष गर्दा हुन्छ कि भनेर हो  ।’ उनले मासिक १ लाख २५ हजारको दूध ब्रिकी गर्दा त्यसको खर्च ६० प्रतिशत भन्दा माथि हुने बताउँछन् ।

‘लागतको हिसाब गर्ने र बजारको दाना चोकरको मात्रै भर पर्ने हो भने यो पेसामा हातै नहाले हुन्छ।  मैले त दाना, चोकर आफै बनाउँछु । गहुँ, मकै, कनिका, भटमास, पिना मिलाएर आफैले दाना  बनाएर खुवाउँछु । १ बिगाहामा व्यावसायिक रूपमा घाँस खेती पनि गरेको छु,’ उनले भने, ‘बजारको दाना चोकरको भर पर्ने हो भने त ३० प्रतिशत पनि फाइदा हुँदैन ।’ 

पशुपालक कृषकहरूले बजारमा पाइने महँगो दाना, चोकर र परालको मात्रै भर पर्दा दूधमा उत्पादन लागत बढ्ने भएकाले आफैले उत्पादन गरेको धान, मकै, गहुँ, पिना मिलाएर दाना बनाउने र पराल भन्दा पनि व्यावसायिक घाँस खेतीमा जोड दिए उत्पादन बढ्ने अर्यालको सुझाव  छ । ‘सामान्य घरेलु उपायहरू अपनाएर पशुपालन गर्दा घाटा नै त छैन । पशु बीमाले पनि धेरै रिकभर गर्छ, अलिकति समस्या भनेको गाईमा बाँझोपन, थुनिलोको छ,’ उनले भने ।

अर्यालले जस्तै  जितपुरसीमरा वडा नं १५ भवानीपुरका सूर्यप्रसाद लम्सालले २५ वर्षदेखि पशुपालन र दूध बिक्री गर्दै आएका छन् । उनले गाई, भैँसीको मिलाएर दैनिक २० लिटरसम्म दूध प्रतिलिटर ७० रुपैयाँमा बिक्री गर्दछन् । लम्साल पशुपालनमा किसानहरू आफैँ अलि बढी चलाख हुनुपर्ने बताउँछन् । 

‘पशुपालक कृषकहरू बढी दानै चाहियो, चोकरै चाहियो भन्नुहुन्छ । चोकरमा त्यस्तो केही छैन म खुवाउँदिन तैपनि वस्तुको दूध घटेको छैन,’ उनले भने ‘हामी २०/२२ रुपैयाँ किलोमा मकै, धान बेच्छौ अनि ४० रुपैयाँ किलोमा ढुटो किन्छौँ, म त्यही मकैको पिठो र १ बोरा धान पिनाएर त्यसैलाई दाना बनाउँछु अनि सख्खर मिलाएर खुवाउँछु दूध जे का त्यही आउँछ .जग्गा हुन्डामा लिएर व्यावसायिक घाँस खेती पनि गरेको छु ।’ अधिकांश पशुपालक कृषकहरू बजारमा दाना, चोकर, ढुटो,पराल, पशुको औषधी उपचारका महँगो भएको तर दूधको चित्तबुझ्दो मूल्य नपाएको गुनासो गर्दै आएका छन् । सरकारले प्रतिलिटर दूधको मूल्यको ५६ रुपैयाँ ५६ पैसा तोकेको छ तर किसानले उत्पादन गरेको दूध उपभोक्ताको भान्छासम्म पुग्दा प्रतिलिटर ९० देखि सय रुपैयाँ सम्म पर्ने गर्दछ ।

जितपुरसीमरा १४ कि शान्ता जमरकट्टेल उन्नत जातको २ वटा गाईको दूध बेचेर मासिक ५० हजार सम्म आम्दानी गरेको बताउँछिन् । ‘गाईको दूध हो पातलो हुन्छ प्रतिलिटर ५५ देखि ५७ रुपैयाँसम्म परेको छ मासिक ५० हजार आम्दानी हुँदा गाईको खुराकी र घर खर्च मजाले धानेको छु, म सन्तुष्ट नै छु,’ जमरकट्टेलले भनिन्, ‘व्यावसायिक रूपमा पशुपालन गर्न सके किसानलाई धेरै मर्का छैन ।’ किसानहरूले ४० रुपैयाँ किलोमा ढुटो, ५० रुपैयाँ किलोको चोकर र ५५ रुपैयाँ किलोमा दाना खरिद गर्दै आएका छन् । बजारको दाना, चोकर, परालमा मात्रै आश्रित हुँदा दूधको उत्पादन र गुणस्तर दुवै घट्ने र लागत अधिक हुने जमरकट्टेलको भनाई छ ।

पछिल्लो समय सहकारीहरूले गाई भैँसी खरिद गर्न ऋण दिने, पशुबीमा, निःशुल्क घाँसको बिउ वितरण लगायतका कार्यक्रमहरूले केही सहुलियत भएको उनीहरूको भनाई छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बारा इकाईका प्रमुख डा. हेमचन्द्र जैशवाल किसानले आफैले उत्पादन गरेका सामग्री पशुलाई खुवाउँदा दूध उत्पादन लागत कम पर्ने बताउँछन् । ‘हामीकहाँ घाँस खेती गर्ने कृषकहरू कम छन् । पराल खुवाएर उत्पादन लिने प्रयास गर्छौँ भने दूध उत्पादन हुँदैन,’ प्रमुख जैशवालले भने ।

स्थानीय तहले किसानमैत्री कार्यक्रम ल्याउनुपर्‍यो : अध्यक्ष न्यौपाने

डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष टिकाराम न्यौपानेले स्थानीय तहले किसानको उत्पादन लागत घटाउ स्थानीय श्रोतको उपयोगसम्बन्धी कार्यक्रम बनाउन नसकेको बताएका छन् । 

‘स्थानीय तहले घाँसको बिउ २ किलो दिन्छ । हामी वार्षिक रूपमा २२ लाखको घाँसको बिउ किन्छौँ, घाँस लगाऊ जग्गाको हुन्डा म तिरिदिन्छु भन्न सरकार तयार हुनुपर्‍यो,’ डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष न्यौपानेले भने, ‘डेरीले रोजगारी सिर्जना गरेको छ, संस्थाको सञ्चालन खर्च छ, सिस्टममा आएको नाफा पनि हामीले दिएका छौँ । किसानले जति दूध उत्पादन गरे पनि सरकारले हामी व्यवस्थापन गर्छौँ मात्रै भन्यो भने यहाँ बजारको मागभन्दा धेरै दूधको उत्पादन हुन्छ ।’ 

डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था बारा जिल्लामै सबैभन्दा धेरै दूध उत्पादन गर्ने सहकारी हो । संस्थाले दैनिक करिब ११ हजार लिटर दूध सङ्कलन तथा बजारीकरण गर्ने गर्दछ भने मासिक करिब १ करोड किसानको दूधको भुक्तानी दिने गर्दछ । ‘हामीसँग दैनिक २० हजार लिटर दूध बेच्न सक्ने क्षमता भए पनि अहिले बजारमा दूध अभाव छ,’ अध्यक्ष न्यौपानेले भने । संस्थामा २ हजार ५३७ दूध उत्पादक कृषकहरू आबद्ध छन् । संस्थाले बाराको अम्लेखगञ्जदेखि वीरगञ्ज कलैयासम्म दूधको बिक्री वितरण गर्ने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप