सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सातै प्रदेशमा संसदीय दलको नेता छान्न कांग्रेसको निर्देशन

आइतबार, ०३ पुस २०७९, १९ : २०
आइतबार, ०३ पुस २०७९

नेपाली कांग्रेसले सातै प्रदेशमा संसदीय दलका नेता चयनका लागि प्रक्रिया थाल्न पार्टीको प्रदेश कार्यसमितिलाई निर्देशन दिएको छ । आइतबार सकेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सातै प्रदेशमा संसदीय दलको चुनाव सम्बन्धी प्रक्रिया प्रारम्भ गर्न निर्देशन दिएको हो ।

कांग्रेस प्रवक्ता प्रकाशरण महतका अनुसार सातै प्रदेशमा भए सर्वसम्मत र नभए निर्वाचनबाट दलको नेता चयन हुने छन् । केन्द्रमा जस्तै प्रदेश कार्यसमितिले संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति बनाएर प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ । 

कांग्रेसभित्र प्रदेश १ मा संसदीय दलको नेताका लागि अमृत अर्याल, भीम पराजुली, उद्धव थापा, हिमाल कार्की र केदार कार्की आकांक्षी छन् । यस्तै मधेस प्रदेश संसदीय दलको नेतामा कृष्ण यादव, रामसरोज यादव, वीरेन्द्र सिंह र जनार्दन क्षेत्रीको आकाङ्क्षी देखिन्छ भने बागमती प्रदेशमा संसदीय दलको नेता इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाबीच प्रतिस्पर्धा हुने देखिन्छ  । 

गण्कडी प्रदेशमा सुरेन्द्र पाण्डे र मेहन्द्रध्वज जिसी दाबेदारका रुपमा अगाडि आउँदा लुम्बिनी प्रदेशमा डिल्लीबहादुर चौधरी, राजु खनाल, अब्दुल रज्जाक वीरबहादुर राना संसदीय दलको  नेताको दौडमा देखिन्छन् । यस्तै कर्णालीमा जीवनबहादुर शाही र राजीवविक्रम शाही तथा सुदूरपश्चिम प्रदेशमा मेघराज खड्का, बहादुरसिंह थापा, शिवराज भट्ट र प्रकाश देउवा गरी ४ जना संसदीय दलको नेताका आकाङ्क्षी देखिन्छन् ।

कांग्रेसबाट प्रदेश संसदीय दलको नेता बन्ने प्रदेशसभा सदस्य नै मुख्यमन्त्री हुने पार्टी विधानमा व्यवस्था छ । गठबन्धनभित्र भागबण्डा हुँदा कांग्रेसले कम्तीमा ४ प्रदेशको मुख्यमन्त्री पाउने सम्भावना देखिन्छ ।प्रदेशमा पार्टीले सरकार गठनबारे विभिन्न विकल्पबारे केन्द्रसँगको समन्वय गरी निर्णयमा पुग्न कांग्रेसले निर्देशन दिएको छ । उक्त निर्देशनसँग प्रदेश संसदीय दलको नेता र सरकार गठनबारे गठबन्धनमा ढोका खुलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप