सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश सरकार गठनको आह्वान गर्न अझै केही दिन लाग्ने

संघीय सरकार गठनपछि मात्रै छलफल अगाडि बढाउने दलहरूको तयारी
आइतबार, ०३ पुस २०७९, १९ : ०७
आइतबार, ०३ पुस २०७९

प्रदेश १ सरकार गठनको आव्हान गर्न अझै केही दिन लाग्ने भएको छ । प्रदेशसभा सदस्यहरूको शपथ ग्रहणको टुंगो पनि नलागेको र दलहरूले संसदीय दलको नेता चयन प्रक्रिया नटुंग्याइसकेको कारण सरकार गठनमा ढिलाइ हुने भएको हो ।

प्रदेश १ का प्रदेश प्रमुखका स्वकीय सचिव देबेन्द्र राईले संसदको अधिवेशन आव्हान र सरकार गठन आव्हान केही दिनपछि मात्रै हुने बताए । ‘प्रदेश प्रमुखज्यू छलफलमै हुनुहुन्छ, केही दिनपछि मात्रै आव्हान हुन्छ,’ उनले भने । 

यता, काँग्रेस प्रदेश १ का सभापति तथा प्रदेशसभा सांसद उद्धब थापाले संघीय सरकार गठनका लागि दिएको समयसीमा भन्दा अगाडि प्रदेश १ मा केही पनि छलफल नहुने बताए । ‘पुस १० गतेभन्दा अगाडि प्रदेश १ मा केही पनि हुँदैन,’ थापाले भने, ‘हाम्रो गठबन्धनको बीचमा त्यही सहमति छ, अरूको विषयमा मैले भन्न सक्दिन ।’ उनले काँग्रेस संसदीय दलको नेता चयन प्रक्रिया पनि १० गते पछि नै हुने संकेत गरे । ‘दलको नेता चयनको विषयमा पनि अहिलेसम्म कुनै तालिका आएको छैन, मैले त्यस्तो थाहा पनि पाएको छैन,’ उनले भने । 

संघीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनको समय दिएर आज दलहरूलाई पत्राचार गरेकी छिन् । उनले पत्राचार गरेसँगै दलहरू सरकार गठनका लागि तीव्र छलफलमा छन् । संविधान अनुसार निर्वाचन आयोगले मत परिणाम राष्ट्रपतिलाई हस्तान्तरण गरेको ३० दिनभित्र संघीय सरकार गठनका लागि आव्हान गर्नुपर्ने छ । राष्ट्रपतिले भने सांसदहरूलाई प्रमाणपत्र वितरण गरिसकेकै दिन सरकार गठनको आव्हान गरेकी हुन् । 

यता, प्रदेशमा भने संविधान अनुसार मत परिणाम प्रदेश प्रमुखलाई बुझाएको २० दिनभित्र प्रदेश प्रमुखद्वारा सरकार गठनको आव्हान गर्नुपर्छ । शनिवार प्रदेश प्रमुखलाई निर्वाचन आयोगले मत परिणाम हस्तान्तरण गरेको हो । आफूहरूसँग अझै १९ दिनको समय रहेकाले संघमा जस्तो हतार नहुने प्रदेश १ माओवादी केन्द्रका सांसद तथा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप