बुधबार, २१ कात्तिक २०८१
ताजा लोकप्रिय

विश्व श्रम बजारमा नेपाली श्रमिकको अवस्था कस्तो छ ?

तीन वर्षमा वैदेशिक रोजगारीका क्रममा ४१० जना नेपाली बेपत्ता
आइतबार, ०३ पुस २०७९, १६ : ५३
आइतबार, ०३ पुस २०७९

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल ‘श्रम आप्रवासन प्रतिवेदन २०२२’ सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा आयोजित कार्यक्रममा मन्त्रालयले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र मन्त्रालयका सचिव एकनारायण अर्यालले सार्वजनिक गरेको उक्त प्रतिवेदन छैठौं संस्करण हो । तीन वर्षको अन्तरालमा प्रतिवेदन सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका उपसचिव कविराज उप्रेतीले सन् २०२० पछि तीन आर्थिक वर्षलाई समेटेर प्रतिवेदन तयार पारिएको बताए । प्रतिवेदनमा आप्रवासी क्षेत्रको नेपालको अवस्था, नेपालले आप्रवासी क्षेत्रमा गर्दै आएका काम लगायतका विषय समेटिएका छन् ।

यो प्रतिवेदन तयार पार्न सरोकारवाला निकायसँग छलफल गर्नुका साथै रिसर्च शैली पनि अपनाइएको उपसचिव उप्रेतीको भनाइ छ । यसमा आर्थिक वर्ष २०७६/०७७ देखि २०७८/०७९ को तीन आर्थिक वर्षको अवस्था देखाउन खोजिएको छ ।

६ वटा भागमा विभाजन गरिएको प्रतिवेदनमा सिंहावलोकन, नेपालमा श्रम आप्रवासन शासन, नेपालमा श्रम आप्रवासनको स्थिति, श्रम आप्रवासनसँग सम्बन्धित विषयहरू, नेपालमा श्रम आप्रवासन तथ्यांकको अभावबारे टिप्पणी र आगामी बाटोको बारेमा उल्लेख छ ।

प्रतिवेदन अनुसार तीन आर्थिक वर्षमा नेपालबाट ११ लाख ६५ हजार १५१ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । जसमा १० लाख ७६ हजार १३८ पुरुष र ८९ हजार १३ जना महिला छन् ।

आर्थिक वर्ष २०७८/०७९ मा मात्रै अहिलेसम्मकै सबैभन्दा बढी ६ लाख ३० हजार ८९ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जसमा ५ लाख ८० हजार ९६१ जना पुरूष र ४९ हजार १२८ जना महिला छन् । आर्थिक वर्ष २०७७/०७८ मा १ लाख ६६ हजार ६८९ जना वैदेशिक रोजगारीमा गएका थिए । जसमा १ लाख ५५ हजार २३३ पुरूष र ११ हजार ४५६ जना महिला थिए ।

त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा ३ लाख ६८ हजार ३७३ जना वैदेशिक रोजगारीमा गएका थिए । जसमा ३ लाख ३९ हजार ९४४ पुरूष र २८ हजार ४२९ महिला थिए ।

त्यसरी वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा बढी प्रदेश नम्बर १ र मधेस प्रदेशका छन् । तीन वर्षको तथ्यांक हेर्दा नेपालीले १६३ देशमा रोजगारीका लागि श्रम स्वीकृति लिएको पाइएको छ । मध्य र पूर्वी युरोपेली क्षेत्रका देशहरू रोमानिया, क्रोएशिया, अल्बेनिया, पोल्याण्ड र पश्चिम एसियामा साइप्रस र टर्की जस्ता देशहरू केही वर्षयता नयाँ गन्तव्यका रूपमा देखा परेको प्रतिवेदनमा उल्लेख छ ।

नेपालबाट सबैभन्दा बढी रोजगारीका लागि साउदी अरेबिया जाने गरेको पाइएको छ । त्यसपछि कतारमा सबैभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि जाने गरेको पाइएको छ ।

मलेसिया, कुवेत, बहराइन लगायतका देशमा समेत धेरै नेपाली जाने गरेका पाइएको छ । वैदेशिक रोजगारीमा जाने पुरूष कामदारको हकमा सबैभन्दा बढी अवर्गिकृत मजदुर बढी छन् । कुनै काममा दक्ष नभई ४० प्रतिशत नेपाली पुरूष कामदार वैदेशिक रोजगारीमा गएको पाइएको छ ।

त्यस्तै निर्माण क्षेत्रमा ६.१ प्रतिशत, सवारी चालक/मेसिन अपरेटको रूपमा ८ प्रतिशत र औद्योगिक उत्पादन क्षेत्रका लागि ८.९ प्रतिशत पुरूष वैदेशिक रोजगारीमा गएको पाइएको छ ।

त्यस्तै महिला कामदारको हकमा ३९.९ प्रतिशत सरसफाई क्षेत्रका लागि गएका छन् । त्यस्तै सेवाजन्य पेशाहरूमा २५.६ प्रतिशत र त्यसमध्येको नर्सिङ–हेरचाह जन्य सेवामा २.८ प्रतिशत छन् ।

सरकारले पछिल्लो समय वैदेशिक रोजगारीबाट स्वदेश फर्किएकाहरूको समेत तथ्यांक राख्न थालेको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा ४ लाख ७० हजार ९७८ कामदारहरू वैदेशिक रोजगारीबाट नेपाल फर्किएका थिए । त्यसरी फर्किनेहरूमा कतार, यूएई, साउदी अरेबिया, मलेसिया र कुवेतबाट आएकाहरु छन् ।

तीन वर्षको अवधिमा ३ हजार १९९ जना नेपालीको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको पाइएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ६५८ जनाको मृत्यु भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा १ हजार १४६ जनाको र आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ३९५ जनाको मृत्यु भएको थियो ।

तीन वर्षको अवधिमा विभिन्न देशमा १६ जना नेपाली श्रमिक कोमामा रहेको पाइएको छ भने ४१० जना नेपाली आप्रवासी श्रमिक हराएका छन् ।

उमेर समूह :

नेपालबाट सक्रिय उमेरसमूहका श्रमिकहरू नै सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने गरेको देखिन्छ । प्रतिवेदनका लागि वैदेशिक रोजगारी जाने उमेर समूहलाई चार भागमा विभागजन गरेको थियो । जसमा १८–२४, २५–३४, ३५–४४ र ४५ वर्ष माथिका छन् ।

जसमा सबैभन्दा बढी वैदेशिक रोजगारीमा जानेमा २५ देखि ३४ वर्षसम्ममा नेपालीहरू छन् । गत वर्ष ५०.३ प्रतिशत पुरूष र ५२.३ प्रतिशत महिला वैदेशिक रोजगारीमा गएका थिए । त्यसपछि १८ देखि २४ वर्ष उमेर समूहका नेपाली रहेका छन् । भने तेस्रो नम्बरमा ३४ देखि ४४ वर्ष उमेरसमूहका नेपाली वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

महिलाहरूको प्रमुख गन्तव्य यूएई :

महिला आप्रवासी श्रमिकहरूले समेत यूएईलाई आफ्नो प्रमुख श्रम गन्तव्य मुलुक बनाएको पाइएको छ । तीन वर्षमा सबैभन्दा यूएई गएका छन् भने दोस्रो नम्बरमा कतार र तेस्रो नम्बरमा जोर्डन रहेको छ । गत वर्ष भने युएईपछि कतारमा बढी महिला कामदार गएका छन् । त्यसपछि महिलाहरूको रोजाईमा पर्ने अर्को मुलुक भनेको साईप्रस छ ।  

नयाँ श्रम गन्तव्य मुलुकको खोजी :

केही वर्ष अघिसम्म यूएई, कतार, मलेसिया लगायत गल्फ देशहरूलाई आफ्नो श्रम गन्तव्य बनाउन गरेका थिए । तर पछिल्लो समय भने नयाँ नयाँ मुलुकको खोजी गर्न थालेको देखिन्छ ।

गत वर्ष नयाँ श्रम गन्तव्य मुलुकमा रोमानियाले धेरै नेपाली श्रमिकले छनौट गरेको देखिन्छ । त्यसपछि क्रोएशिया, साईप्रस, यूके, पोल्याण्ड, माल्टा, टर्की, अल्बानिया, जोर्डन लगायत देशमा समेत नेपाली श्रमिकहरू जान थालेका छन् ।

प्रतिवेदनमा कामदारको न्यायमा पहुँच सम्बन्धी अवस्थाको समेत चित्रण गरिएको उपसचिव उप्रेतीले बताए । त्यस्तै कामदार भर्ना प्रक्रियामा देखिएका विद्यमान चुनौतीका विषय उल्लेख गरिएको उनको भनाइ छ । पुनः एकीकरणको नीतिगत व्यवस्था र सञ्चालनमा रहेका कार्यक्रमहरू सञ्चालनमा विषयमा समेत जानकारी दिइएको छ । जसमा हालै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः एकीकरणको लागि निर्देशिका जारी गरेको र यस्ता कार्यक्रमहरूलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्न दिशानिर्देश गरेको छ । यसमा स्थानीय तह, गैर सरकारी क्षेत्र, नीजि क्षेत्र, विकास साझेदारहरूको भूमिकाको समेत परिकल्पना गरिएको छ ।

प्रमुख गन्तव्य देशहरूमा श्रम आप्रवासन र रोजगारसम्बन्धी नीतिहरूमा भएको परिवर्तन र त्यसको प्रभावको विषय समेत प्रतिवेदनमा समेटिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप