बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशसभाका सबै सदस्यलाई प्रदेश प्रमुखले नै शपथ गराउने

आइतबार, ०३ पुस २०७९, १६ : ०९
आइतबार, ०३ पुस २०७९

 लुम्बिनी प्रदेशसभाका सबै सदस्यलाई प्रदेश प्रमुखले नै एकसाथ शपथ गराउने भएका छन् । अन्य प्रदेशमा ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले शपथ गराउने र बाँकी सदस्यलाई ज्येष्ठ सदस्यले शपथ गराउने तयारी भइरहँदा लुम्बिनी प्रदेशमा भने प्रदेशसभाका सबै सदस्यलाई प्रदेश प्रमुखले नै सामुहिक रुपमा शपथ गराउने तयारी भएको हो ।

लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को ४ को अनुसूची १ ढाँचा अनुसार सबै सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउने तयारी भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले रातोपाटीलाई बताए ।

२०७४ सालमा भने ज्येष्ठ सदस्य बलदेव पोखरेलले अन्य सदस्यलाई शपथ गराएका थिए । प्रदेशसभाको पहिलो कार्यकालमा भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा बनेको समितिले उक्त नियमावलीमा प्रदेशसभाका सबै सदस्यलाई प्रदेश प्रमुखले नै शपथ गराउने उल्लेख गरेका कारण सोही अनुसार तयारी थालिएको पुनले बताए ।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनका स्वकीय सचिव नारायण आचार्यले पनि नियमावली अनुसार नै प्रदेश प्रमुख शेरचनले सबैलाई शपथ ग्रहण गराउने योजना रहेको रातोपाटीलाई बताए ।

उनले भने, ‘केही छुटपुट र पछि उपनिर्वाचनमा जितेर आउनेलाई प्रदेशसभामा सभामुखले शपथ ग्रहण गराउने छन् । तर अहिले सबैलाई प्रदेश प्रमुखले नै शपथ गराउने नियमावलीमा उल्लेख छ । त्यस अनुसार नै यहाँ शपथ ग्रहण हुन्छ ।’ 

लुम्बिनी प्रदेशका ८७ जना सदस्यलाई शपथ ग्रहण गराउनु अगाडि लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको पहिलो बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष आग्रह गर्नेछ । सोही अनुसार पहिलो बैठक बस्नु अघि प्रदेश प्रमुखले सांसदहरुलाई शपथ गराउने छन् ।

तर अहिलेसम्म प्रदेशसभाको बैठक कहिले बस्ने भन्ने टुङ्गो लागेको छैन । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले बैठक अझै निश्चित नभएको बताए । तर अन्य कामहरू हेर्दा सम्भवतः पुस १९÷२० गतेतिर बैठक आह्वान हुन सक्ने उनले बताए ।

ज्येष्ठ सदस्य भुसालले पहिलो बैठकको अध्यक्षता गर्ने

सभामुखको चयन नहुँदासम्म प्रदेशसभा बैठकको अध्यक्षता ८७ जना सदस्यमध्ये ज्येष्ठ सदस्यका रूपमा रहेका डिल्लीराज भुसालले गर्ने छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा भुसालको जन्म मिति २०१० साल जेठ ७ गते उल्लेख छ । भुसाल यसअघि गुल्मीको रेसुङ्गा नगरपालिकाको मेयर थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप