शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

लोसपाको दाबी : केन्द्रमा राष्ट्रपति, प्रदेशमा मुख्यमन्त्री

आइतबार, ०३ पुस २०७९, १५ : ५९
आइतबार, ०३ पुस २०७९

 लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले केन्द्रमा राष्ट्रपति र मधेस प्रदेशमा मुख्यमन्त्रीको दाबी गरेको छ । सत्ता गठबन्धनकै एक हिस्साको रुपमा रहेको लोसपाले सरकार गठनका लागि हुने भागबन्डामा आफ्नो पार्टीलाई राष्ट्रपति र मधेस प्रदेशको मुख्यमन्त्री दिनुपर्ने माग गरेको हो ।

यसका लागि लोसपका अध्यक्ष महन्थ ठाकुरले पहल थालेका छन् । सत्ता गठबन्धनले बनाउने सरकारलाई समर्थन गर्ने निर्णय गरेसँगै लोसपाले भागबन्डामा आफ्नो हिस्सा खोजेको छ । लोसपाका अध्यक्ष ठाकुरलाई राष्ट्रपति बनाउन सो पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले पनि पहल थालेका छन् । लोसपाका एक कार्यकारिणी सदस्यका अनुसार भण्डारीले प्रधानमन्त्री देउवासँग भेटेर नै अध्यक्ष ठाकुरलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन् ।

राष्ट्रपति कसलाई बनाउने भन्नेमा कांग्रेस, माओवादीलगायतका दलमा अन्योल भइरहेको बेला लोसपाले अध्यक्ष ठाकुरलाई साझा व्यक्तिको रुपमा अघि सारेको बताइन्छ ।​ कांग्रेस पार्टी छाडेर मधेस राजनीतिमा प्रवेश गरेसँगै अध्यक्ष ठाकुर मन्त्री बनेका छैनन् । पाए राष्ट्रपति वा प्रधानमन्त्री बन्ने, अन्यथा मन्त्री नहुने अडान उनले लिँदै आएका छन् ।

उनले आफ्नो पार्टीमा मात्र होइन, २०६४ देखि यता बनेको हरेक सरकार तथा प्रमुख दलका शीर्ष नेतालाई पनि जानकारी गराएका छन् । अध्यक्ष ठाकुरले आम निर्वाचन २०७९ कै पूर्व सन्ध्यामा आफ्नो यो अन्तिम चुनाव भनेका थिए । अबको पाँच वर्षपछि सक्रिय राजनीति छाड्ने मुडमा रहेका ठाकुरले यो कार्यकालमा प्रधानमन्त्री वा राष्ट्रपति बन्ने चाहना राखेका छन् ।

केहीअघि अध्यक्ष ठाकुरले रातोपाटीसँग अन्तरवार्ता दिने क्रममा राजनीति गरेपछि राष्ट्रपति, प्रधानमन्त्री बन्ने चाहना राख्नु स्वाभाविक भए पनि त्यसमा अरुको चाहना पनि मिल्नुपर्ने बताएका थिए । आफ्ना चाहना राष्ट्रपतिमा रहेको कुरा सबैलाई जानकारी रहेको उनले बताए ।

चुनाव सकिए यता अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवालाई चार पटक भेटिसकेका छन् । उनले सत्ता गठबन्धनलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुका साथै मधेस प्रदेश सरकारको नेतृत्वको विषयमा पनि कुराकानी गरेका छन् ।

चुनावमा सँगसँगै गएका कारण लोसपा सत्तारुढ गठबन्धनकै एक हिस्सा भएको बताउँदै ठाकुरले गठबन्धनमा हुने हरेक भागबण्डामा लोसपाले आफ्नो दाबी राख्ने बताए । प्रदेशदेखि लिएर केन्द्रसम्म हुने भागबण्डामा लोसपाले आफ्नो दाबी राख्ने भन्दै उनले मधेस प्रदेशमा सरकारको नेतृत्वमा दाबी रहेको बताए ।

सात वटा प्रदेशमध्ये कुनै पनि प्रदेशमा कुनै एउटा दलले मात्र सरकार बनाउन सक्ने अवस्था छैन । सात वटै प्रदेशमा गठबन्धनको सरकार बन्ने निश्चित छ । सात प्रदेशमध्ये एउटा प्रदेशमा लोसपाले नेतृत्वमा दाबी गरेको सो पार्टीका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए ।

‘केन्द्रदेखि प्रदेशसम्म गठबन्धनकै सरकार बन्ने हो भने त्यही अनुसार भागबण्डा पनि हुन्छ,’ उनले भने, ‘त्यसमा लोसपाले मधेस प्रदेश माग गरेको छ ।’

गठबन्धनसँग चुनावी तालमेल गरेकै कारणले मधेसमा कांग्रेसलगायतका दल बलियो भएको उनको जिकिर छ । लोसपाले सबै ठाउँमा उम्मेदवारी दिएको भए कांग्रेसका धेरै उम्मेदवार हार्न सक्ने उनको आकलन छ । ‘कांग्रेसलाई ठूलो दल बनाउन लोसपाको पनि योगदान छ,’ सोनलले भने, ‘सांसद संख्याको हिसाबले लोसपा कमजोर देखिए पनि मुद्दा र संगठनको हिसाबले कमजोर छैन, मधेसमा लोसपा बलियो शक्ति हो, क्षेत्रीय पार्टी भएको कारणले गठबन्धनको हिसाबले त्यहाँको सरकारको नेतृत्व गर्ने अधिकार लोसपाको छ ।’

प्रदेश बाँडफाँट गर्दा कांग्रेसले तीन, माओवादी केन्द्रले दुई र नेकपा एकीकृत समाजवादी पार्टी र लोसपालाई एक–एकवटा प्रदेश दिनुपर्ने लोसपाका नेताहरुको तर्क छ ।

लोसपा नेपालसँग प्रतिनिधिसभामा चार र मधेस प्रदेशको प्रदेशसभामा नौ जना सांसद छन् । मधेसमा अघिल्लो कार्यकालको सुरुवातमा तत्कालीन समाजवादी पार्टी र राजपाको संयुक्त सरकार थियो । पछि समाजवादी पार्टी र राजपा नेपालबीच एकता भइ जसपा बनेको थियो । जसपा विभाजन भएर लोसपा बनेपछि लोसपालाई सरकारबाट हटाइएको थियो । त्यसपछि जसपाले कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीलाई साथमा राखेर सरकार गठन गरेको छ ।

जसपा पाँच दलीय गठबन्धनबाट बाहिर निस्केपछि मधेस प्रदेशको सरकारबाट कांग्रेसका मन्त्रीलाई बर्खास्त गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप