आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

आश्रममा के गरेर बसिरहेकी छन् राष्ट्रपति भण्डारीकी आमा ?

आइतबार, ०३ पुस २०७९, १३ : १०
आइतबार, ०३ पुस २०७९

२०७३ सालको अन्तिमतिर राष्ट्रपति विद्यादेवी भण्डारीकी आमा मिथिला पाण्डे आश्रममा बस्दै आएको चर्चा भयो । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा रहेको श्रीराम शान्ति कुञ्ज अनाथ महिला सेवा केन्द्रको आश्रममा पाण्डे बसेको समाचारमा उल्लेख थियो । विपक्षीहरूले राष्ट्रपति भण्डारीले आमालाई वृद्धाश्रममा राखेको भनेर नकारात्मक टिप्पणी गरे ।

६ वर्ष अगाडिको यो टिप्पणीप्रति राष्ट्रपति भण्डारीकी आमा मिथिला पाण्डेको भने धेरै चित्त दुखाइ रहेको पाइयो । गत शुक्रबार आश्रममा पुग्दा घाम तापेर बसिरहेकी पाण्डेसँग कुराकानी गर्ने मौका मिल्यो । त्यहाँ प्रवेशका लागि कुनै रोकटोक थिएन । सुरक्षाकर्मी तथा सेक्युरिटी गार्ड कोही पनि थिएनन् ।

राष्ट्रपतिको आमा बस्ने आश्रम कस्तो होला भन्ने जिज्ञासासहित आश्रम परिसर प्रवेश गर्दा पाण्डे प्लास्टिकको कुर्सीमा बसेर कामदारसँग कुराकानी गरिरहेकी थिइन् ।

त्यही सन्दर्भमा मैले उहाँसँग फोटो खिच्ने अनुमति मागेँ । पाण्डेसँग फोटो खिचेर केही कुराकानी गर्ने हेतुले आफू पत्रकार भएको परिचय दिएँ । जब उनलाई पत्रकारको परिचय दिइयो, उनले उति चासो दिइनन् । केही समयपछि उनले विगतमा पत्रकारले गरेको नकारात्मक प्रचारले पीडित बनेको आशयसहित आक्रोश व्यक्त गरिन् । ‘छोरी राष्ट्रपति नभई हामीले आश्रम बनाएका हौँ । छोरी राष्ट्रपति भएको ७–८ वर्ष भयो होला । तर, हामीले यो बनाएको २२–२३ वर्ष पार गरिसक्यो । भन्न त राष्ट्रपतिले आफ्नी आमालाई आश्रममा राखेकी छिन् भनेर भन्छन् । यो साह्रै नराम्रो प्रचार हो । त्यसरी प्रचार गर्ने पत्रकारप्रति मलाई धेरै घृणा लागेको छ,’ उनले पत्रकारप्रतिको आफ्नो धारणा सुनाउन थालिन्, ‘हुन त पत्रकारले जसरी फाइदा हुन्छ, त्यस्तै कुरा बोल्छन् । त्यस्तो कुरा होइन बाबु । आफूले राम्रो काम गर्‍यो भने राम्रै हुन्छ । आफू हरियो झिँगो हुन नखोज्नु, भँवरो हुन खोज्नु । राम्रोलाई राम्रो भन्नुपर्छ । नराम्रोलाई नराम्रो भन्नुपर्छ । नराम्रो छ त्यसले कुट्छ, मार्छ के के गर्छ भने त्यसलाई राम्रो भन्नु हुँदैन । राम्रो गरेको छ त्यसलाई यस्तो र उस्तो भनेर बङ्ग्याउनु हुँदैन ।’

पाण्डेले धाराप्रवाह पत्रकारप्रति धारणा सुनाइरहँदा मैले सुन्नु बाहेक अर्को विकल्प भएन । उनले निरन्तर पत्रकारको बारेमा यस्तै टिप्पणी गरिरहिन् । ‘बाबुलाई पिर नपरोस्, पत्रकारको बानी त्यही हुन्छ । किनभने पैसा कताबाट आउँछ, आम्दानीको स्रोत मात्रै हेर्ने । इज्जत कमाउने काम चाहिँ तपाईहरु गर्नुहुन्न होला जस्तो लाग्छ (हाँस्दै..),’ उनले भनिन् ।

यति सुनिसकेपछि मैले भनेँ– समाजका सबै क्षेत्रमा राम्रा नराम्रा सबै हुन्छन् नि आमा !

त्यसको जवाफमा उनले भनिन्, ‘एउटा बिराउनेले शाखा पिराउने पनि हुन्छन् । त्यस खालको चाहिँ नहुनु । नेताहरूले पनि सबैले राम्रो गरे त राम्रो हुन्थ्यो होला नि । अहिले काहीँ कोही पनि हार्दैन थिए होला । हुन त चिप्लामा लड्नु, निसाफमा हार्नु भन्छन् । तर, जे गरे पनि हामी जीवित बस्दैनौँ । एक दिन त हामी माटामा मिल्ने नै छ । तर, हामीलाई भगवान्ले शरीर सितिमिति त दिएको छैन । चौरासी लाख जुनीको उँभो हेर्ने शरीर पाएपछि हामीमा चेतना छ । गाईले बाच्छालाई राम्रो घाँस देख्यो भने उसको घाँस पनि खाइदिन्छ । तर, बाच्छालाई जन्म दिएको बेला रछ्यान पनि चाटेर माया दिन्छ । विवेक छैन नि गाईमा । त्यही भएर माया गरेको बाछो भए पनि राम्रो घाँस खाइदिन्छ । त्यसकारण पशु र मानिसमा फरक हुनुपर्छ । त्यसकारण गलत गरेकाहरूले जसो गर्‍यो, त्यसै गर्नु भएन । आफ्नो इज्जत र बुद्धि जसरी राम्रो हुन्छ त्यसरी नै गर्नुपर्‍यो ।’

पाण्डेले कुराकानीका क्रममा आश्रममा १०–१२ जना वृद्धवृद्धा रहेको जानकारी दिइन् । एक महिना अगाडि आश्रम आएकी उनी केही महिनापछि पुनः काठमाडौँ जाने बताउँछिन् । ‘एकै ठाउँमा यहाँ बसिँदैन । म कति वर्ष बसेँ, मेरो ध्यान नै छैन । पहिलेपहिले बसेँ । अहिले काठमाडौँ तिरै बस्छु । यहाँ एक महिना अगाडि आएको हुँ । अब एक दुई महिना बसेर फेरि काठमाडौँ जान्छु,’ उनले भनिन् ।

भोजपुर फालिकोट माइती र भोजपुरको मानेभञ्ज्याङ घर भएकी उनले २३ वर्ष अगाडि मोरङ केराउनकी यशोदा पाण्डेसँग मिलेर आश्रम निर्माणको सुरुवात गरेकी हुन् । ८३ वर्षकी उनी जहाँ हुँदा पनि आश्रमकै चिन्ता लागिरहने बताउँछिन् । ‘तपाईलाई जन्मे हुर्केको ठाउँको याद आउँछ कि आउँदैन ? मलाई पनि यहाँको याद आइरहन्छ,’ पाण्डेको भनाइ छ ।

आश्रममा आएर बस्नेहरूका लागि खाना, नाना र सामान्य उपचार सेवाको व्यवस्था छ । ‘वृद्धवृद्धाको भत्ता पनि उनीहरू आफै चलाउँछन्,’ पाण्डे भन्छिन् । आश्रममा २०–२२ जना बस्न सक्ने क्षमता छ । भवन तथा टहरा गरेर सो स्थानमा आधा दर्जन जति छन् । पहिले सुरुवातमा ४ वटा कोठाको भवन बनेको थियो । पहिलेपहिले मसान घाटले चिनिने यो स्थानलाई अहिले बालसन्त घाट तथा कुम्भ मेला स्थानको नामले चिनिन्छ ।

‘६० वर्षको हुँदा आश्रम खोलेको हुँ । अहिले एक दर्जन जति वृद्धाहरू आश्रममा बसिरहेका छन् । २२ वर्ष अगाडि चिहान घारी थियो, डाँडाकाँडा थियो । अहिले सम्याएर राम्रो बनेको छ,’ आश्रम खोल्दाको अनुभव सुनाउँदै उनी भन्छिन् ।

बराहक्षेत्र नगरपालिका, तत्कालीन सुनसरी जिल्ला विकास समिति, नेपाल सरकारलगायतबाट हालसम्ममा झण्डै ७ करोडजति लगानी भएको पाण्डेको अनुमान छ । यो पुण्यको काम हो नि भन्ने प्रश्नमा उनले भनिन्, ‘यो पुण्य भन्दा पनि कर्तव्य हो, पुण्य कमाउन त कहाँ सक्छौँ र ?’

पहिले पहिले चतरामा केही पनि पाउँदैन थियो । साइकल र मोटरसाइकल आउँथ्यो । निर्माणका सामाग्रीहरू ल्याउन पनि धरान नै जानु पर्थ्यो । तर, अहिले सबै थोक आश्रम स्थलमै आइपुग्ने उनी बताउँछिन् । आश्रम चाहिँ कसरी चलिरहेको छ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘चन्दा दिनेले दिन्छन् । जहाँ पनि गहिरो ठाउँमा पानी जम्छ, डाँडामा जम्दैन भनिन्छ नि । अहिले हामी कसैसँग माग्न पनि गएका छैनौँ । खानलाई भगवान्ले पुर्‍याएका छन् । आफ्नै खेतीबाट पहिले ल्याएको धान अहिले पनि छ । मोरङ बाहुनीमा आफ्नै खेती छ ।’

बेलबारी नगरपालिकामा पर्ने बाहुनीमा उनको झण्डै ७ बिगाहा खेतीको जग्गा रहेको स्थानीय बताउँछन् । त्यहाँ उत्पादन भएको धानको केही हिस्सा आश्रममा पुग्ने गरेको छ । पाण्डेका श्रीमान् रामबहादुर पाण्डेको स्वर्गारोहण भइसकेको छ । पाँच जना छोराछोरीमा राष्ट्रपति भण्डारी भने उनकी जेठी छोरी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप