बाराही हाइड्रोको सेयर बाँडफाँट, साढे १० लाखको हात खाली
बाराही हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) ५१ हजार ५२२ जनाले पाएका छन् । कम्पनीले आज आइपीओ बाँडफाँड गर्दै आवेदकहरूमध्येबाट गोलाप्रथामार्फत उक्त आवेदकले आइपीओ पाएको जानकारी दिएको हो ।
कम्पनीको सेयर निष्कासक तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार आइपीओमा ११ लाख ९१ हजार २८४ जनाले आवेदन दिएका थिए । उनीहरूले १ अर्ब ३० करोड ७८ लाख १० हजार रुपैयाँ बराबरको सेयर माग गर्दै आवेदन दिएका थिए ।
कम्पनीले मंसिर २१ देखि २६ गतेसम्म ५ लाख ५४ कित्ता साधारण सेयर बिक्री खुलाएको थियो । यसमध्ये २७ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । यस्तै, ११ हजार ८० कित्ता कर्मचारीका लागि र बाँकी रहेको ५ लाख १५ हजार २२० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
कम्पनीले बाग्लुङ जिल्लामा १.५ मेगावाट क्षमताको जलविद्युत उत्पादन गर्दै आइरहेको छ ।