बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नयाँ सरकारको ‘होमवर्क’मा कांग्रेस–माओवादी

आइतबार, ०३ पुस २०७९, १० : ४०
आइतबार, ०३ पुस २०७९

मङ्सिर ४ को निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेस र तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्र आ–आफ्नै नेतृत्वमा सरकार गठनको गृहकार्यमा लागेका छन् । त्यसका लागि उनीहरूले एकअर्कासँग सहयोग र समर्थनको अपेक्षासहित संवाद थालेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर पूर्व सहमतिअनुसार पहिलो खेपको प्रधानमन्त्रीका लागि आफूलाई सहयोग गर्न प्रस्ताव नै राखेका छन् । प्रचण्डको प्रस्तावमा सभापति देउवाले संसदीय संसदीय दलको नेता चयनपछि मात्रै यसबारे छलफल गर्ने जवाफ दिएका छन् । देउवा आफै प्रधानमन्त्री बन्ने कसरतमा छन् । 

निर्वाचनअघि यही गठबन्धनलाई अरू १० वर्ष निरन्तरता दिने बताएका कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीले पहिला को प्रधानमन्त्री बन्ने ? भन्नेमा ठोस सहमति नहुँदा पहिलो प्रधानमन्त्रीमा दुवै दलको दाबी रहँदै आएको छ । 

निर्वाचन आयोगले आज समानुपातिक सांसदलाई समेत निर्वाचित भएको प्रमाणपत्र दिँदैछ । आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचनको अन्तिम परिणाम बुझाइसकेको छ । संविधानअनुसार निर्वाचन नतिजा प्राप्त भएपछि राष्ट्रपतिले सरकार गठनक लागि आह्वान गर्नुपर्ने हुन्छ । सोही अनुसार राष्ट्रपतिले सोमबारभित्र सरकार गठनका लागि आह्वान गर्ने तयारी समेत गरेकी छन् । 

कांग्रेस–माओवादीले बोलाए बैठक 

कांग्रेस र माओवादी दुवैले सरकार गठनबारे पार्टीभित्र छलफल गर्न आइतबार पार्टी बैठक बोलाएका छन् । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो भने माओवादीले पदाधिकारी बैठक बोलाएको हो । 

कांग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्नेगरी बोलाइएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

बैठकले संसदीय निर्वाचनका लागि समिति गठन गर्ने र निर्वाचनको मिति तय गर्नेछ । बुधबारसम्ममा संसदीय दलको नेताका लागि निर्वाचन गर्ने कांग्रेसको तयारी छ । 

यता नेकपा (माओवादी केन्द्र)को पनि पदाधिकारी बैठक आइतबार नै बस्दैछ । माओवादी महासचिव देव गुरुङका अनुसार बैठक आइतबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा सरकार गठन र संसदीय दलका नेता चयनलगायतका विषयमा छलफल हुने गुरुङको भनाइ छ । माओवादीमा दलको नेता अध्यक्ष प्रचण्ड हुने लगभग निश्चित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप