पुर्ख्यौली पेसा ऊनका कपडा व्यवसाय सङ्कटमा
जुम्लामा पुर्ख्यौली पेसा राडीपाखी व्यवसाय लोप हुने अवस्थामा पुगेको छ । केही वर्षअघि ऊनबाट बुनेर लिउ, फेरुवा, बक्खु, राडिपाखी, लगायतका उत्पादनले कपडाको सबै माग धान्ने गरेको थियो । तर अहिले आधुनिक कपडाको उत्पादन र प्रयोग बढ्दै गएपछि पुर्ख्यौली पेसा सङ्कटमा परेको हो ।
त्यसैगरी युवापुस्तामा राडीपाखीप्रतिको अरुचीले गर्दा पनि पेसा नै सङ्कटमा परेको बूढापाका बताउँछन्। भेडा बाख्रापालन व्यवसाय बिस्तारै लोप हुन थालेपछि राडीपाखी बुन्नका लागि आवश्यक भेडाको ऊन पनि अभाव हुन थाले पछि यसको कमी भएको हो । ऊनको कपडा परम्परागत तरिकाले बुनिँदा र आधुनिकतातर्फ यसलाई लिन नसकिनु यो व्यवसाय नफस्टाउनुको कारण भएको स्थानीय कृष्ण रोकायाले बताए।
उनका अनुसार पुरानै शैलीमा राडीपाखी बुन्नका लागि प्रविधिको अभाव तथा धेरै मेहनत गर्नुपर्ने भएकाले ऊनको कपडा बनाउन महिनौं समय लाग्ने गरेको छ । राडिपाखीको मूल्य पनि महँगो हुँदै गएकाले प्रयोगमा कमी आएको उनले बताए। राडीपाखीबाट बनेका उत्पादन अहिले न्यून मात्रामा वृद्धवृद्धाले मात्र बुन्ने र उपभोग गर्नेको संख्या मात्र भेटिन्छ । पुरानो कपडाका रुपमा पहिचान बनेको राडीपाखी उद्योगलाई प्रवर्द्धन गर्न स्थानीय बासिन्दा सरकारी निकायसँग माग गर्न थालेका छन् ।
स्थानीय तह कार्यान्वयनमा आएपछि उद्योगले प्रोत्साहन पाउनेमा आशावादी रहेको भए पनि स्थानीय तहले राडीपाखी व्यवसायप्रति ध्यान नदिएको स्थानीयको खाम्बा रावतको आरोप छ । तर पछिल्लो पुस्तामाझ यो पेसा झन्झटिलो र समयको लगानी बढी हुने अनि मूल्य कम पाइनुले यो पेशा लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ ।
जन्मदेखि मृत्यु संस्कारसम्म चोखो र अनिवार्य मानिने राडीपाखी स्वास्थ्यका लागि समेत राम्रो मानिन्छ । मेला पर्व, विवाह, बाथ रोगीका लागि उत्तम मानिएको राडीपाखी ३ हजार देखि १० हजार रुपैयाँसम्म पर्ने गर्दछ । राडी पाखी व्यवसायलाई प्रवर्द्धन गर्न जुम्लाका सबै स्थानीय तहले ध्यान दिन जरुरी देखिन्छ।