आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश : ३३ वटा राजनीतिक दलको धरौटी जफत

शनिबार, ०२ पुस २०७९, २० : ४३
शनिबार, ०२ पुस २०७९

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा बागमती प्रदेशसभाका लागि भएको चुनावमा ३३ वटा राजनीतिक दलको धरौटी जफत भएको छ । निर्वाचन आयोगको प्रदेशसभा तर्फको अन्तिम मतपरिणामको प्रतिवेदन अनुसार निर्वाचनमा प्रत्यक्ष तर्फ ३५ र समानुपातिक तर्फ ४० राजनीतिक दल निर्वाचनमा सहभागी भएकामा ३३ दलको धरौटी जफत भएको हो । 

प्रदेशसभाको निर्वाचनमा प्रत्यक्ष तर्फ पुरुष ५८८ र महिला ८० गरी कूल ६६८ जना र समानुपातिक तर्फ कूल ७५४ जना उम्मेदवारको बन्द सूची कायम भएको आयोगको प्रतिवेदनमा उल्लेख छ । जसमा १० प्रतिशतभन्दा कम मत प्राप्त गरेका ४१७ पुरुष र ६७ जना महिला गरि कूल ४८४ जनाको धरौटी जफत भएको छ । 

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समानुपातिक तर्फ निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था रहेको छ भने सो ऐनको दफा ६० मा प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको १ दशमलव  ५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारको धरौटी फिर्ता हुने व्यवस्था छ । 


आयोगका सचिव गोकर्णमणि दवाडीले उक्त निर्वाचनको प्रतिवेदन बागमती प्रदेश प्रमुख समक्ष पेस गरे लगत्तै प्रदेश निर्वाचन कार्यालय हेटौंडामा पत्रकार सम्मेलन गर्दै सो प्रतिवेदन सार्वजनिक गरेका थिए । प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक तर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको ७ दिनभित्र प्रदेश प्रमुखसमक्ष पेस गर्नुपर्ने प्रावधान रहेको छ । सोही अनुसार आयोगले शनिबार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष उक्त प्रतिवेदन पेस गरेको थियो । सो पश्चात निर्वाचित प्रदेश सभा सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिने सचिव दवाडीले बताए । 

आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार बागमती प्रदेशमा ७ वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश सभामा प्रतिनिधित्व भएको छ । प्रदेशसभातर्फ ११० जना निर्वाचित भएका छन् । जसमा पुरुष ७० जना (६३ दशमलव ६३ प्रतिशत) र महिला ४० जना (३६ दशमलव ३७ प्रतिशत) निर्वाचित भएका छन् । 

प्रदेशसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशमा महिला १७ लाख ३३ हजार ३७८, पुरुष १७ लाख ३८ हजार ८७ र अन्य २७ गरी कूल ३४ लाख ७१ हजार ४९२ मतदाता कायम रहेका थिए । जसमध्ये प्रत्यक्ष तर्फ २१ लाख ४ हजार ५७८ (६० दशमलव  ६२ प्रतिशत) मतदान भएको थियो भने समानुपातिक निर्वाचनमा २० लाख ९९ हजार १०७ (६० दशमलव  ४७ प्रतिशत) मतदान भएको थियो । 

प्रत्यक्ष तर्फ मतदान भएको कुल मतको २० लाख २७ हजार ६४९ (९६ दशमलव  ३४ प्रतिशत) मत सदर भएको थियो भने ७६ हजार ९३८ (३ दशमलव  ६६) प्रतिशत मत बदर भएको थियो । यता समानुपातिक तर्फ मतदान भएको कुल मत मध्ये १९ लाख ७३ हजार ४७४ (९४ दशमलव  ०१ प्रतिशत) मत सदर भएको थियो भने १ लाख २५ हजार ६३३ (५ दशमलव  ९९ प्रतिशत) मत बदर भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप