आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस काभ्रेद्वारा गणेश लामासहित क्षेत्रीय सभापतिलाई कारबाही

शनिबार, ०२ पुस २०७९, १९ : ४६
शनिबार, ०२ पुस २०७९

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेस काभ्रेले दुई केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिलाई कारबाहीका लागि केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको छ । 

नेपाली कांग्रेस काभ्रेको शनिबार बसेको बैठकले पार्टीका कुनै पनि जिम्मेवारीमा नरहने गरी केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, गणेश लामा र प्रतिनिधि सभा क्षेत्र नम्बर- २ का सभापति महेश खरेललाई कारबाही गर्ने निर्णय गरी सिफारिस गरेको हो । 

निर्वाचनमा पार्टीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर-२ मा प्रत्यक्षतर्फ उम्मेदवार रहेका पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँ र जिल्ला सभापति तीर्थ लामालाई अन्तर्घात गरी असहयोग गरेको तथा केन्द्रीय सदस्य द्वय आचार्य र लामा निर्वाचन प्रचार अभियानमा साथ नदिएको र विपक्षी उम्मेदवारलाई मत मागेको भन्दै कारबाहीको लागि केन्द्रमा सिफारिस गरेको नेपाली कांंग्रेस काभ्रेले जनाएको छ । 

केन्द्रीय सदस्य आचार्यले निर्वाचन अभियानमा मत माग्न सहभागी नभएको र आफू प्रदेशभरको जिम्मेवारीमा रहेको भन्दै व्यस्त कार्यतालिका सुनाउँदै पार्टी र गठबन्धनको उम्मेदवारलाई मत नमागेको,  निकट रहेका वडा सभापति र वडा अध्यक्षहरूको बैठक नै बोलाएर विपक्षी उम्मेदवार एमालेका गोकुल बाँस्कोटालाई मतदान गर्न दबाब दिएको र अन्य किसिमका प्रलोभन बाँडेको आरोप सहित कांग्रेस काभ्रेको वडा कार्यसमिति, गाउँ तथा नगर कार्यसमिति, क्षेत्रीय समिति मार्फत जिल्ला अनुशासन समितिमा समेत उजुरी परेको थियो ।  

यता केन्द्रीय सदस्य लामाले निर्वाचन अभियानमा उपस्थित नभएको, आफू निकटका कार्यकर्तालाई सूर्य चिन्हमा मतदान गर्न र नसके हलोमा मत माग्न लगाएको, सार्वजनिक रूपमा एमाले उम्मेदवार चन्द्र लामालाई जिताउनु आह्वान गर्दै पार्टी सभापति तीर्थ लामा विरुद्ध लागेको आरोपसहित उजुरी परेको थियो । 

प्रतिनिधि सभा क्षेत्र नम्बर- २ का सभापति खरेल क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहेर निर्वाचन परिचालनको कुनै पनि जिम्मेवारी नलिएको, मातहतको सङ्गठनहरू वडा, नगर र प्रदेश कार्यसमिति परिचालन नगरेको, आफू निकटका कांग्रेस वडा सभापति र  वडा अध्यक्षका उम्मेदवार, नेता कार्यकर्ताहरू समेतलाई बोलाइ एमाले उम्मेदवार बास्कोटालाई भोट हाल्न दबाब दिने र पैसा समेत बाँडेको आरोपसहित उजुरी परेको थियो । 

कांग्रेस काभ्रेले बनेपा नगरपालिकाबाट प्रदेश सभा सदस्य उम्मेदवारलाई भन्दा प्रतिनिधि सभा सदस्य उम्मेदवारलाई तीन हजार भन्दा बढी मत कम  आउनुको कारण बारे स्पष्ट पार्न प्रदेश सांसद कञ्चनचन्द्र बादे र बनेपा नगर समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप