बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री भन्दा पनि राष्ट्रपति को बन्ने भन्ने महत्त्वपूर्ण भएको छ: महामन्त्री शर्मा

‘अब बन्ने प्रधानमन्त्री २ वर्षका लागि मात्रै हो’
शनिबार, ०२ पुस २०७९, १९ : ३४
शनिबार, ०२ पुस २०७९

नेपाली काँग्रेसका महामन्त्री एवं झापा निर्वाचन क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नरहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सबैले चुनाव जितिसकेपछि मन्त्री बन्ने आकाङ्क्षा राख्ने गरे पनि आफूमा मन्त्री बन्ने कुनै आकाङ्क्षा नरहेको स्पष्ट पारेका हुन् । 

उनले पार्टीमा रहेर गर्नुपर्ने कामहरू धेरै रहेकाले मन्त्री बन्न अरूलाई सहयोग गर्ने बताए । महामन्त्री शर्माले सरकारमा मन्त्री बन्ने भन्दा पनि दूर दराजमा रहेका आम नागरिकको भावनाअनुसार काम गर्ने कुरा आफ्नो पहिलो प्राथमिकतामा रहेको स्पष्ट पारे । उनले कुनै बेला एक्लै दुई तिहाइ ल्याएको काँग्रेस अहिले मिलेर चुनाव लड्दासमेत ५७ सिटमा सीमित भएको भन्दै चुनाव जित्ने बित्तिकै मन्त्री बन्न खुट्टा उचालिहाल्ने बेला नभएको बताए । 

उनले भने, ‘सबैले चुनाव जितिसकेपछि मन्त्री बन्ने आकाङ्क्षा राख्छन्, अनौठो कुरा होइन । अरू साथीहरूले राखिरहँदा त्यसमा म कुनै आलोचना गर्न पनि चाहन्न । तर विश्वप्रकाश शर्माले के बिर्सिनु हुँदैन भन्दा १ वर्ष मात्रै पुगेको छ, महामन्त्री भएको । अहिले मैले पार्टीमा गर्नुपर्ने धेरै कामहरू बाँकी छन् । दूर दराजका साथीहरूको भावना बमोजिम काम गर्न बाँकी छ । सबै साथीले सरकारमा जानुपर्छ भन्ने होइन । एक्लै दुई तिहाइ ल्याएको काँग्रेस अहिले सबै मिलेर लड्दा पनि जम्मा ५७ सिट मात्रै ल्याइरहेको अवस्थामा चुनाव जित्ने बित्तिकै मन्त्री बन्न खुट्टा उचालिहाल्ने बेला यो होइन । मैले जिम्मेवार भएर मन्त्रीहरूको आकाङ्क्षा राख्ने नेताहरू उपयुक्त छनोट गर्नेदेखि लिएर ध्यान दिन उचित हुन्छ । सरकार कस्तो बन्ने सन्दर्भमा धारणा राख्न लाग्नुपर्छ ।’

महामन्त्री शर्माले अहिले प्रधानमन्त्री को बन्ने भन्ने विषय भन्दा महत्त्वपूर्ण राष्ट्रपति को बन्ने भन्ने रहेको बताए । उनले अहिले बन्ने प्रधानमन्त्री दुई वर्षलाई मात्रै भएको भन्दै उनले गठबन्धनलाई सरकार बन्ने, बनाउने भन्ने नाममा बिथोलिन दिनु नहुने बताए । उनले राष्ट्रपति भवनमा व्यक्ति नभई प्रवृत्ति लिएर जाने भएकाले पनि तेस्रो राष्ट्रपति बन्दै गर्दा समुदायको हिसाबले पनि फरक प्रस्तुति हुन सक्नुपर्ने बताए । उनले भने, ‘अहिले प्रधानमन्त्री को बन्ने भन्ने विषय जति महत्त्वपूर्ण छ, त्यो भन्दा धेरै महत्त्वपूर्ण विषय राष्ट्रपतिको बारेमा छ । प्रधानमन्त्री को बन्नुहुन्छ ? दुई वर्षलाई बन्नुहोला । लुकाउने अवस्थै छैन । हामीले एक्लै विजयी हासिल गरेका होइन, सबै दल हामीसँग छन् । यो गठबन्धन जनताको बीचबाट जे मत लिएर आएको छ । यसलाई एउटा सरकार बन्ने, बनाउने भन्ने नाममा बिथोलिन दिनु हुँदैन । भत्किन दिनु हुँदैन । मेरो मस्तिष्कमा राष्ट्रपति को बन्नुपर्छ भन्ने बारेमा त्यस्तो अनुहार छैन । तर राष्ट्रपति भवनमा आउँदै गर्दा के बिर्सिनु हुँदैन भने नकारात्मक कुराहरू बिर्सिनु हुँदैन । राष्ट्रपति भवनमा हामीले व्यक्ति होइन, प्रवृत्ति लिएर जाने हो । त्यो प्रवृत्ति राजतन्त्र कालीन भन्दा भिन्न हुनुपर्छ । तेस्रो राष्ट्रपति बन्दै गर्दा समुदायको हिसाबले पनि फरक प्रस्तुति हुन सकोस् । राष्ट्रपतिमा काँग्रेसले पनि सहजतापूर्वक लिनसक्ने, गठबन्धनका दलहरू र प्रतिपक्षले पनि सहजतापूर्वक लिनसक्ने नेतृत्व होस् । राष्ट्रपति पदको चयन गर्दै गर्दा प्रधानमन्त्रीको कुरालाई प्रथम र अन्तिम नमानीकन राष्ट्रपतिको विषयलाई गम्भीरतापूर्वक लिएर संविधानको रक्षा र पालना गर्नुपर्छ । अहिलेको राष्ट्रपतिले संविधानलाई भोइलेट गर्नुभयो । उल्लङ्घन गर्नुभयो ।’

महामन्त्री शर्माले राष्ट्रपति पदको चयन गर्दै गर्दा प्रधानमन्त्रीको कुरालाई प्रथम र अन्तिम नमानीकन राष्ट्रपतिको विषयलाई गम्भीरतापूर्वक लिएर संविधानको रक्षा र पालना गर्न आवश्यक रहेको बताए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीले यसअघि संविधानलाई उल्लङ्घन गर्दा सर्वोच्च अदालतबाट आदेश आउनुपरेको भन्दै अब सो स्थिति सिर्जना हुन नदिने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप