आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस सांसद्हरु भन्छन्, ‘प्रचण्डको ईच्छालाई सम्मान छ तर प्रधानमन्त्री देउवाकै नेतृत्वमा नयाँ सरकार बन्छ’

शनिबार, ०२ पुस २०७९, १८ : ३९
शनिबार, ०२ पुस २०७९

नेपाली काँग्रेसका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, नेता विमलेन्द्र निधिलगायतका प्रतिनिधिसभामा निर्वाचित सांसदहरूले संसद्मा सबैभन्दा ठुलो दलको हैसियतमा काँग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्नु स्वाभाविक हुने तर्क समेत गरे । 

शनिबार पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाले आयोजना गरेको सांसदहरूको भेलामा सहभागी हुनु भएका काँग्रेस प्रवक्ता महतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि प्रधानमन्त्रीमा इच्छा व्यक्त गर्नु भए पनि सरकारको नेतृत्व काँग्रेसले नै गर्नु स्वाभाविक हुने प्रतिक्रिया दिए । उनले भने, ‘नेपाली काँग्रेस सबैभन्दा ठुलो दल हो । संसद्मा सबै भन्दा ठुलो दलको हैसियत नेपाली काँग्रेसले प्राप्त गरेको छ । र, गठबन्धनमा पनि हाम्रो फराकिलो अन्तरले ठुलो दलको हैसियत छ । त्यस अर्थमा स्वाभाविक रूपमा नेपाली काँग्रेसको प्रधानमन्त्री हुने कुरालाई देशले, जनताले सबैले स्वाभाविक रूपमा लिन्छन् भन्ने हाम्रो दृष्टिकोण छ । यद्यपि यस विषयमा औपचारिक रूपमा कसरी जाने भन्ने विषयमा निर्णय भइसकेको छैन । तर यो स्वाभाविक रूपमा हामीले लिएका छौँ । अव केही दिनमै संसदीय दलको दलको निर्वाचन हुन्छ । हाम्रो दलको एकल बहुमत पनि छैन । अरू दलको सहयोग लिएर हामीले सरकार बनाउने हो । त्यो अवस्थामा नेपाली काँग्रेस एक ढिक्का छ । र, सर्वसम्मतबाट नेतृत्व चयन भए अझ बलियो सन्देश जान्छ भन्ने हामी सबैलाई लागि राखेको छ । हाम्रो कोसिस पनि त्यही नै हुन्छ । भएन भने विधानको व्यवस्था अनुसार प्रतिस्पर्धामा सहभागी हुने छुट  छँदैछ । प्रचण्डजीले पनि प्रधानमन्त्रीका लागि ईच्छा व्यक्त गर्नु भएको छ । त्यसलाई हामीले भन्न नमिल्ने भन्ने कुरा छैन । प्रधानमन्त्री भइसकेको व्यक्तित्व हुनु हुन्छ उहाँ । नेतृत्व गर्न पाए हुन्थ्यो भन्ने उहाँको इच्छा छ । त्यसलाई हामी सम्मान नै गर्छौँ तर अहिलेको अवस्थामा नेपाली काँग्रेसको नेतृत्व चाहिँ स्वाभाविक ठहर्छ ।’

प्रधानमन्त्री देउवाकै नेतृत्वमा सरकार बन्नेमा काँग्रेस नेता विमलेन्द्र निधि पनि ढुक्क छन् । उनले काँग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्नु परिस्थितिजन्य निष्कर्ष भएको औँल्याउँदै सोही बाटोमा मुलुक अघि बढ्ने बताए । नेता निधिले भने, ‘नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्छ । र, हाम्रो चाहना पनि हो । र, अहिलेसम्मको परिस्थितिजन्य निष्कर्ष पनि हो । प्रधानमन्त्री देउवाकै नेतृत्वमा सरकार बन्छ भन्ने हाम्रो ठम्याई हो ।’

सांसद दीपक खड्काले काँग्रेसकै नेतृत्वमा सरकार बनाउन गठबन्धन दलहरुबीचमा सहमति जुट्ने बताए । उनले पार्टी संसदीय दलको नेतामा पनि देउवा भारी मतले विजयी हुने अवस्था रहेको बताए । सांसद खड्काले भने, ‘ठुलो दल हुनुको नाताले नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने र त्यसको पक्षमा सहमति जुट्ने विश्वास छ । सांसदहरूको अङ्कगणितलाई हेर्ने हो भने देउवाले दाबी गर्दा त्यही नै भारी हुने देखिन्छ ।’

काँग्रेस नेताहरूले पार्टी संसदीय दलको नेता चयनमा सर्वसम्मतिको प्रयास हुने र त्यो सम्भव नभए पनि देउवा नै निर्वाचित हुने दाबी समेत गरेका थिए । नेता निधिले त आफू संसदीय दलको निर्वाचन भए देउवाको पक्षमा उभिने समेत प्रष्टयाए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप