नवीनतम् प्रविधिमार्फत आँखाको गुणस्तरीय उपचार सेवा दिएका छौँ– अध्यक्ष डा.पोखरेल
![नवीनतम् प्रविधिमार्फत आँखाको गुणस्तरीय उपचार सेवा दिएका छौँ– अध्यक्ष डा.पोखरेल](https://rpcdn.ratopati.com/media/albums/nepal-eye-hospital_Q4SpRK4si0.webp)
नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले वार्षिक रुपमा १० हजार व्यक्तिको आँखाको शल्यक्रिया गर्ने लक्ष्य लिएको छ । अस्पतालले आर्थिक वर्ष २०७८/७९ मा पाँच हजार ९८१ जटिलसहित आठ हजार १२६ शल्यक्रिया गरेको थियो ।
अस्पतालको १७ औँ साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष डा.गोपालप्रसाद पोखरेलले गत आर्थिक वर्षमा अस्पतालले एक लाख ३२ हजार ४३३ बिरामीलाई उपचार सेवा प्रदान गरेको जानकारी दिए ।
उनले अस्पतालले विश्वमा प्रयोग भएका अत्याधुनिक नवीनतम् प्रविधिको प्रयोगद्वारा उपचार सेवा पुर्याएकाले पछिल्लो समय बिरामीको रोजाइमा नेपाल आँखा अस्पताल पर्दै आएको बताए । अस्पतालमा हाल १४ जना नेत्र विशेषज्ञसहित ११८ जना जनशक्ति कार्यरत रहेको र दैनिक सरदर सात सय बिरामीलाई सेवा पुर्याउँदै आएको छ ।
काठमाडौँ उपत्यकाभित्र अस्पतालले टोखा, खोकना, मूलपानी र थानकोट तथा उपत्यका बाहिर बाराको सिमरा र गोर्खाको भच्चेकमा आँखा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । पछिल्लो समय अस्पतालले स्थान अभावका कारण बिरामीको चाप धान्न र शुद्ध–सफा पानीको आपूर्तिमा देखिएको समस्या सम्वोधन गर्न विभिन्न विकल्पको खोजी गरिरहेको छ ।
अस्पतालले आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन गरेको आठ सर्जिकल शिविरमा चार हजार ८६१ को आँखा परीक्षण गरेकोमा त्यसमध्ये सात सय ७९ को शल्यक्रिया गरिएको जानकारी दिएको छ । त्यस्तै मुलुकका विभिन्न स्थानमा सञ्चालन गरिएका १७ वटा ‘स्क्रिनिङ’ शिविरमा पाँच हजार नै सय ६० को आँखा परीक्षण गरिनुका साथै ४४ जनाको शल्यक्रिया भएको थियो ।
बालाजु स्कुल अफ इन्जिनियरिङसँगको सहकार्यमा अस्पतालले नेत्र सहायक कोष सञ्चालन गरी वार्षिकरुपमा ७४ जना जनशक्ति उत्पादन गर्दै आएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालसँगको सहकार्यमा सञ्चालन भइरहेका कार्यक्रमबाट एमडी हालसम्म ५७ पुरा गरेका छन् भने बी अप्टोमेट्री कोर्षमा २३ अध्ययनरत रहेको सचिव मेघराज गजुरेलले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ ।
अस्पतालले उक्त आर्थिक वर्षमा विभिन्न सेवा प्रदान गरेवापत रु १७ करोड २७ लाख ७७ हजार २३२ आम्दानी तथा सेवा प्रदान गर्ने सिलसिलामा रु १४ करोड ८९ लाख ४३ हजार खर्च गरेको थियो । उक्त आर्थिक वर्षमा अस्पतालले रु दुई करोड ३८ लाख ३४ हजार बचत गर्न सफल भएको कोषाध्यक्ष सविता भण्डारीको प्रतिवेदनमा उल्लेख छ । सो अस्पताल आगामी चैत ३० गते स्थापनाको ५० वर्षमा प्रवेश गर्दैछ ।
साधारणसभामा अस्पतालका संस्थापक प्राडा रामप्रसाद पोखरेलले देशमा आँखासम्वन्धी उपचार सेवा गुणस्तरीय र प्रभावकारी रहेकै कारण छिमेकी मुलुकका नागरिकसमेत ठूलो संख्यामा लाभान्वित भएको बताए । उपाध्यक्ष दमन घलेले अस्पतालले अविछिन्न गुणस्तरीय सेवा प्रदान गर्ने अग्रणी संस्थाको गरिमा कायम गर्न सफल भएको प्रतिक्रिया दिए ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट कमलबहादुर खड्काले अस्पतालले प्रदान गरिँदै आएका आँखा उपचारसम्वन्धी विभिन्न गुणस्तरीय सेवाबारे जानकारी गराए ।
अस्पतालका संस्थापक सदस्य विश्वकान्त मैनाली,आजीवन सदस्य कृष्णप्रसाद भण्डारी,तेजूलाल चौधरीलगायतले अस्पतालको श्रीबृद्धिमार्फत आमजनताको सेवाका लागि सबैबाट सहयोगको अपेक्षा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?