‘म जुन स्कुलको शिक्षक थिएँ, प्रचण्डले पनि त्यहाँ पढाउँथे’
मङ्सिर २४ गते राप्रपाको केन्द्रीय कार्यसम्पादन बैठकको कार्यादेशअनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोगलाई समानुपातिक सूची सिफारिस गर्दासम्म राप्रपा महामन्त्री भुवन पाठक समानुपातिकमा परे/नपरेको अन्योलमा थिए । पार्टीभित्र समानुपातिक सांसद बन्न हानथाप भएपछि पाठकसहितका सबै सदस्यको सिफारिस अध्यक्षले परामर्शका आधारमा गर्ने भनेर सोहीअनुसार सूची पठाइयो । पछि पाठकको नाम बन्दसूचीअनुसार नै बागमती प्रदेश सभा सदस्यमा सिफारिस भएको सार्वजनिक भयो ।
नुवाकोट पुर्ख्यौली थातथलो भएर राष्ट्रवादी आन्दोलनमा सक्रिय पाठक आफूले पद प्राप्तिका लागि राजनीति नगरेको बताउँछन् । तर आएको जिम्मेवारी ठीक ढङ्गले फत्ते गर्न तयार रहेको बताउने उनी पार्टीले बागमती प्रदेश सभा सदस्य बनाएसँगै पार्टीका एजेन्डा र नीतिलाई सदनमा सशक्त ढङ्गले अघि बढाउने योजनामा छन् । पञ्चायतकालमा तत्कालीन विद्यार्थी मण्डलबाट राजनीतिमा सक्रिय उनी राप्रपाको स्थापनाकालदेखि नै आबद्ध भएका हुन् । राजदरबारसँग निकट मानिने पाठक पार्टीभित्र शालीन, सहकर्मीहरूसँग मिलनसार र स्पष्ट वक्ताका रूपमा समेत परिचित छन् । हाल पार्टीको निर्वाचित महामन्त्रीको भूमिकामा रहेका पाठक शाहीकालमा शिक्षा सहायक मन्त्रीसमेत बनेका थिए । उनै पाठकसँग जीवनका अनेक आरोह–अवरोहका साथै उनीसँग जोडिएका विविध पाटालाई रातोपाटीको नियमित स्तम्भ ‘मेरो जीवन’मा खोतल्ने प्रयास गरिएको छ ।
फेरेर खान रुचाउँछु
दाल, भात र तरकारी मनपर्ने खाना हो । बिहान नियमित लसुन, ड्राइफुट्स (सिजल फलफूल) हट लेमन हनी राखेर खान्छु । बिहानको खाना १२ बजेपछि खान्छु । बेलुका कहिल्यै डिनर गर्दिनँ । हल्का फलफूल, बिस्कुट लिन्छु । मासुमा बढी माछा मनपर्छ । परिवारसँग कम्तीमा पनि महिनाको एक पटक कुनै नयाँ रेस्टुरेन्टमा खाना खान जान्छु ।
रेस्टुरेन्ट जान्छु । स्वदेशी रेस्टुरेन्टमा जाँदा म फेरेर खान रुचाउँछु । विदेशका पनि त्यही देशका फरक फरक खाना खान मनपर्छ । मम मेरो मनपर्ने खाना हो । केटाकेटीदेखि नै खाने भएकाले ममको विषयमा मलाई जति जानकारी शायद कसैलाई नहोला । मलाई पकाउन होइन, खानामा रुचि छ । आफूलाई अनुशासनमा राख्न म मङ्गलबार कहिल्यै माछामासु खान्न ।
फिट्नेसमा सजग
फिट्नेसमा सजग छु । पहिले दैनिक नियमित एक्सरसाइज गर्थे । अहिले भने वाक मात्र गर्छु । फुर्सद भयो कि बिहान, दिउँसो, बेलुका वाक गर्छुु ।
एक्सरसाइजका सामान घरमै धेरै छन् । पहिले त्यो पनि प्रयोग गर्थें । उमेर बढेसँगै बिस्तारै कम गर्नुपर्छ भनेर एक्सरसाइजका सामान प्रयोग गर्न छोडेँ ।
पहिरन सौखिन
म पहिलेदेखि नै पोसाकमा सौखिन थिएँ । त्यसैले जहिले पनि टिपटप भएर हिँड्न मनपर्छ । समय सन्दर्भअनुसारको पहिरन लगाउँछु । ट्राउजर, जिन्स, टिसर्टलगायत क्याजुअल पहिरन बढी प्रयोग गर्छु ।
फर्मल कार्यक्रम, विवाहलगायतका विषेश कार्यक्रममा दौरा सुरुवाल, कोटपाइन्ट प्रयोग गर्छु । टाई भने कहिल्यै मनपर्दैन । चस्मा पनि लगाउँछु । पहिरनमा मनपर्ने रङ नेबी ब्लु हो । पहिरनमा ब्रान्ड हेर्दिनँ । राम्रो, मनपर्ने किन्छु । ब्रान्ड भनेको बढी पैसा खर्च गर्ने माध्यम हो जस्तो लाग्छ । मनपरेको पहिरन लिनुपर्छ ।
करिब विश्व घुमिसकेँ
घुमघाम एकदमै मनपर्छ । ज्योतिषीले पनि धेरै भ्रमणको योग छ भनेर भनेका थिए । भाग्यले पनि साथ दिएकाले होला घुमघामको अवसर मिलिरहन्छ । अहिलेसम्म करिब विश्व सबै घुमिसकँे ।
दक्षिण अमेरिकाको देश भने पुग्न भ्याएको छैन । त्यहाँको भेनेजुयला, बोलिभयालगायत जुन अन्य भन्दा फरक देश हुन् । अहिले त्यो हेर्न मन छ ।
मेरो लक नै भन्नुपर्छ महिनाको एक पटक कुनै न कुनै कारणले घुमघाम परेकै हुन्छ । देशको पनि प्रायः ठाउँहरू घुमेको छु । नयाँ ठाउँ, जुन पहिले पुगेको हुँदिनँ, त्यस्ता ठाउँ घुम्न मनपर्छ । कहिल्यै नगएको ठाउँमा पुगेँ भने हिँडेरै ठाउँहरू हेर्छु । देशको पहाडी भूभाग हिँडेर घुम्दा मलाई सबैभन्दा आनन्द लाग्छ ।
नियमित अध्यायन
मेरो नियमित अध्ययन गर्ने बानी छ । रातको ९ देखि ११ बजेसम्म नियमित पुस्तक अध्ययन नगरी मलाई निन्द्रा लाग्दैन । नेपालका महत्त्वपूर्ण र धेरै पुस्तक मैले पढेको छु ।
पहिले म साहित्यिक पुस्तक बढी पढ्थेँ । त्यसपछि सबै प्रकारका र राजनीतिक पढँे । भर्खर सूर्यबहादुर थापाको नयाँ पुस्तक पढेर सकेँ । पछिल्लो समय बायोग्राफी पढ्न मनपर्छ ।
साहित्यकार पनि हुँ
म साहित्यकार पनि हुँ । राजनीतिमा नआएको भए साहित्यकार हुन्थँे । किनभने म पहिले गीत, कविता, कथा धेरै लेख्थँे । स्कुल पढ्दा अन्तर स्कुल कविता गोष्ठीमा पहिलो भएर पुरस्कार समेत जितेको छु ।
मेरा गीत, कथा, कविता पहिले धेरै पत्रपत्रिकामा नियमित छापिन्थ्यो । म पहिलेका र नयाँ केही कविता समेटर कविता सङ्ग्रह, गीतहरू समेटेर गीत सङ्ग्रह र कथा समेटेर कथा सङ्ग्रह ल्याउने सोचमा छु ।
‘नेपाली युवा र प्रजातन्त्र’ र त्यसपछि ट्रेनिङसम्बन्धी, एउटा अङ्ग्रेजीलगायतका पुस्तक सम्पादन गर्दै छु ।
केको फुर्सद ?
फुर्सद कमै हुन्छ । परिवार, आफन्त र साथीभाइलाई समय दिन पर्यो भने फुर्सद मिलाउन सक्छु । अन्य समय म व्यस्तै हुन्छु ।
खेलाडी पनि हो
म खेलाडी पनि हो । सानैदेखि खेल्न थालेको फुटबल मैले ठूलो भएसम्म खेले । ए डिभिजनमा म अन्तिम डिफेन्स भएर खेलाडीको रूपमा समेत फुटबल खेल्थे । टेबुल टेनिस, ब्याडबेन्टिन, बक्सिङ र कराँते पनि खेल्थे । फुटबलबाट ट्रफी, पुरस्कारहरू समेत जितेको छु ।
अहिले राष्ट्रिय, अन्तर्राष्ट्रिय चर्चित फुटबल खेलहरू नियमित हेर्छु ।
आइफोन बोक्छु
मसँग आइफोन ब्रान्डको एउटा मोबाइल छ । त्यसमा एउटा सिम, त्यो पनि पुरानै छ । नयाँ नयाँ मोबाइल फेर्न सौख लाग्दैन । त्यसैले नबिग्रिए, नहराएसम्म फेर्दिनँ ।
मोबाइलमा फोन गर्नुको अलवा फोटो खिच्न, फेसबुक, ट्विटर, भाइबरलगायत सामाजिक सञ्जाल चलाउने र समाचार पढ्नसमेत प्रयोग गर्छु । मोबाइल छोराले उपहार दिएको छ ।
टीभी र फिल्म नियमित
–टीभी हेर्छु । टीभीमा हेर्ने भनेको समाचार हो । पहिले बीबीसी, सीएनएन बढी हेर्थें । अहिले अलजजिरा हेर्छु । टीभीमा खेलकुद पनि हेर्नेगरेको छु ।
फिल्म पनि हेर्छु । विद्यार्थी जीवनमा फिल्म हलमै गएर फस्ट दिन, फस्ट सो हेर्थे । त्यो समय जुनै पनि फिल्म हेरिन्थ्यो । अहिले भने नेपाली फिल्म हलमै गएर हेर्छु । फिल्म हिन्दी, नेपाली, अङ्ग्रेजी सबै प्रकारको हेर्न मनपर्छ । नियमित बन्ने गरेका फर्मुल टाइपका भन्दा फरक फरक विषयवस्तुका केही सिक्न र जान्न मिल्ने फिल्म मनपर्छ ।
राजनीतिमा म विद्यार्थी जीवनदेखि होमिएको हो । स्कुले जीवनमा रेडक्रसको चुनाव लडेर त्यसको अध्यक्ष भएको थिए । २०३१ मा जब पाटन क्याम्पस भर्ना भएँ त्यहाँको साथीभाइको लहलहैमा युनियनको सहसचिवमा लडेको थिएँ । तर थोरै भोटले पराजित भए ।
त्यसपछि त्रिचन्द्र अध्ययनको समय पनि सक्रिय रहेँ । त्यहाँबाट म राष्ट्रवादी स्वतन्त्र विद्यार्थी युनियनमा लागेँ ।
२०३६ सालमा एनटीएस (राष्ट्रिय विकास सेवा कार्यक्रम भन्ने एक कार्यक्रम थियो । त्यो कार्यक्रमअन्तर्गत एमए पढ्ने सबैले एक वर्ष गाउँमा गएर पढाउनुपथ्र्योे । त्यो समय म पढाउनँ, भिमोदय माध्यमिक विद्यालय आरुघाट गोर्खा पुगेको थिए । अहिलेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेस नेता चिनकाजी श्रेष्ठ त्यहीका शिक्षक थिए ।
२०३६ को जनमत सङ्ग्रहपछि म पञ्चायत पक्षीय विद्यार्थीहरूको सङ्गठन नेपाल राष्ट्रिय छात्रा सङ्गठनको केन्द्रीय अध्यक्ष भए । त्यसपछि राजा वीरेन्द्रबाट युनिभर्सिटी सिनेटमा मनोनीत हुँदै काठमाडौँ नगरपञ्चायतको सभापति भए ।
२०४६ को परिवर्तनपछि राष्ट्रिय प्रजातान्त्रिक पार्टीको संस्थापक सदस्य करिब एक दर्जन मात्र थिए । तीमध्येको एक म हो । २०४८ मा राष्ट्रिय प्रजातान्त्रिक युथ सङ्गठनको अध्यक्ष भएको थिए । उक्त समय अहिलेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन विद्यार्थी सङ्गठको अध्यक्ष हुनुहुन्थ्यो ।
राप्रपाको अध्यक्ष सूर्यबहादुर थापा हुँदा म केन्द्रीय सदस्य भए । राप्रपाको २०६० सालको पोखरा महाधिवेशनमा जम्मा २० जना (१७ पुरुष र ३ महिला) देशभरबाट केन्द्रीय समितिमा निर्वाचित भएका थिए । त्यो समय म राप्रपाको केन्द्रीय समितिमा निर्वाचित भए । त्यसपछि हरेक महाधिवेशनमा निकै पपुलरमतका साथ केन्द्रीय सदस्य रहँदै आएको छु । एक पटक राप्रपाका सह महामन्त्री भएको म, त्यसपछि प्रवक्तासमेत भएको थिए । राप्रपाको गत वर्षको महाधिवेशनबाट म महामन्त्रीमा चुनिएको छु ।
राजनीतिमा लामो समयदेखि रहेपछि संसदीय निर्वाचन म कहिल्यै लड्न पाइनँ । यो वर्ष चुनाव लड्ने सारै इच्छा, तयारी पनि गरेको थिए । यो पटक हाम्रो पार्टीमा नेतृत्व परिवर्तन भएकाले राप्रपाको पक्षमा जनलहर छ भन्ने मेरो बुझाइ थियो । तर साथीहरूका कारणले अन्तिम समय प्रत्यक्ष उम्मेदवारी छोड्नुपर्यो । अहिले बागमती प्रदेश सभाको समानुपातिकको संसदमा चुनिएको छु ।
२०६२/६३ मा तत्कालीन राज ज्ञानेन्द्र शाहको साशनकालमा म शिक्षा सहायक मन्त्री भएको थिएँ । त्यसअगाडि राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशकसमेत रहेको म खेलकुदको विभिन्न सङ्घ संस्थामा रहेर विभिन्न जिम्मेवारी पनि निर्वाह गरेको छु । बागमती प्रदेश सदस्य भए पनि अहिले मलाई राज्यको कुनै पदको लोभ छैन । प्रतिपक्षमा बसेर सरकारलाई खबरदार गर्ने सोच छ । राजनीतिमा म लामो समयदेखि छु । त्यसैले एक पटक यो देशको उच्च पदमा अर्थात् प्रधानमन्त्री बन्ने इच्छा छ । त्यो अवसर पाए भने शानदार ढङ्गले देश हाँकेर देखाउँछु । मैले अहिलेसम्म जहाँ जहाँ अवसर पाए राम्रै काम गरेको छु । यो गलत मानिस हो भनेर कसैले औँलो उठाउन सक्दैन ।
मेरो सपना
हाम्रो देश भौगोलिक दृष्टिकोणले विश्वकै उत्कृष्ट छ । यो देशमा हरेक सम्भावन छन् । तर यो देशलाई हामीले व्यवस्थित गर्न सकेनौँ । यो मुलक विश्वको उत्कृष्ट मुलकको रूपमा हेर्ने र बनाउने मेरो सपना छ ।
त्यसरी विवाह
२०३८ सालमा मैले मागी विवाह गरेको हो । मेरा लागि श्रीमती परिवारले जुराएका थिएँ । मेरो घरबाट श्रीमतीको माइती तीन मिनेटको दूरीमा रहेको थियो । जोडले करायो भने उनले सुन्न सक्थिन् । तर पनि मैले विवाहअगाडि कहिल्यै देखेको थिइनँ । पहिलो पटक देखेको विवाहमै हो ।
विवाहअगाडि, पछाडि कहिलै कसैसँग प्रेम भएन । कलेज, स्कुलको समय लेटर लेख्ने, कसैलाई मनपराउने भयो होला । प्रेम भने विवाहपछि श्रीमतीसँगै बस्यो । त्यो प्रेम अहिले पनि जारी छ ।
–के भूल गरेँ र ?
मानिस भएपछि सानातिना भूल त हुन्छ नै । त्यो स्वाभाविक हो । जानीजानी कसैलाई दुःख दिने गरेर केही भूल गरेजस्तो लाग्दैन । सबैलाई सकेसम्म सहयोग गर्ने, आफ्नो कारणले कसैलाई नोक्सान नपुगोस् भन्नेमा म सजग रहन्छु । राजनीतिमा आउनु भूल कहिल्यै मान्दिनँ ।
यो मेरो खराबी
जुन कुरो चित्त बुझ्दैन, त्यसमा म आपत्ति प्रकट गरिहाल्छु । त्यसको कडा प्रतिकारसमेत गर्छु । यो बानी कतिपयलाई मन नपर्ने रहेछ ।
राजनीतिमा कतिपय कुरा थाहा नपाए झैँ गर्नुपर्दाे रहेछ । प्रतिकार गर्ने बानी धेरै हानिकारक हुँदोरहेछ । प्रतिकार गर्ने बानीले धेरै मानिस मसँग चिढिन्छन् ।
गीत नरुचाउने को ?
गीतसङ्गीतको नरुचाउने को होला र ? पनि रुचाउँछु । मेलोडियस, राष्ट्रवादी गीतहरू मनपर्छ । गोपाल योञ्जनका गीतहरू एकदमै मनपर्छ, मन छुन्छ पनि । म भावकु मानिस भएकाले हिन्दी, नेपाली र अङ्ग्रेजी सबै प्रकारका भावुक खालका गीतहरू नियमित सुन्छु ।
रोग छैन
भगवानको कृपाले अहिलेसम्म कुनै रोग छैन । कहिलेकाहीँ ज्वरो आउनु, रुघाखोकी लाग्नु स्वाभाविक हो ।
हल्का मापसे
मापसे पार्टी, साथीभाइको जमघटमा कहिलेकाहीँ हल्का लिन्छु । नियमित गर्दिनँ । खाएको समय पनि लिमिटले खान्छु । मापसेमा लिने भनेको बियर र वाइन हो । घरमा होस् वा बाहिर एक्लै मापसे कहिल्यै गर्दिनँ ।
मेरो घरमा रक्सीको कलेक्सन छ । विदेश भ्रमणको बेला ल्याएको रक्सी कलेक्सन गरेको हो । घर होस् वा बाहिर कहिल्यै एक्लै मापसे गर्दिनँ ।
राशि ‘धनु’
राशि ‘धनु’ हो । ग्रहदशाका लागि ज्योतिष हेराउने, जुराउने गर्दिनँ । आफ्नो जीवनलाई हेर्दा कतिपय कुरा स्वाभाविक रूपले प्राप्त भएको देख्छु । कतिपय धेरै मिहिनेत गर्दा पनि प्राप्त नभएका छन् । त्यसैले भाग्यमा पनि विश्वास लाग्छ । धेरै कुरो म कर्ममा विश्वास गर्छु ।
पूजापाठमा पनि विश्वास छ । त्यसैले घरमा एक घन्टा नियमित पूजापाठ गर्छु ।
मृत्यु फिक्स
एउटा कुरो निश्चित छ, त्यो मृत्यु हो । जन्मिएपछि मृत्यु अनिवार्य छ । तर मृत्य कहिले, कसरी हुन्छ भन्ने हामी कसैलाई थाहा छैन । मृत्यु फिक्स भएकाले मलाई डर लाग्दैन ।
मानिस अन्तिमसम्म पनि सक्रिय रहनुपर्छ, भोलि पनि सम्झने कर्म गर्नुपर्छ भन्ने मेरो धारणा हो । हिँडडुल गर्दागर्दै सहज मृत्यु होस् भन्ने मेरो चाहना हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर दिवस : जनकपुरमा उत्कृष्ट चार उद्योग सम्मानित
-
इन्भेस्टमेन्ट कम्पनीको सेयर कारोबारसम्बन्धी नयाँ प्रावधान
-
फिल्म उद्योगका मानिस चिन्न निर्माण क्षेत्रमा आउनुपर्ने रहेछ : नायिका ढुंगाना
-
सार्क मुलुकका पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’
-
चार महिनामा १३ अर्ब ४० करोडको मोबाइल आयात
-
विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित