आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

धाँधलीको स्वर: औँला आफैतिर

शनिबार, ०२ पुस २०७९, ११ : ३३
शनिबार, ०२ पुस २०७९

धाँधली भन्ने शब्दले सामान्यतः नकारात्मक सन्देश दिने भएता पनि नेपाली समाजमा यो धेरै नै चिरपरिचित शब्द भएको छ र यसको बारेमा कसैलाई बुझाइ रहनुपर्ने आवश्यकता परोइन । 

हाम्रो विद्यार्थी कालमा स्कूलमा पढ्दा कसै कसैले फेल हुनेले पास हुनेलाई र पास हुनेले फष्ट, सेकेण्ड हुनेलाई विद्यार्थी वा मास्टरकै तहमा समेत धाँधली गरेर फष्ट, सेकेण्ड भएको भन्ने आरोप लगाउने गर्दथे । 

त्यसै गरी दशरथ रङ्गशालामा हुने गरेको फुटबल म्याचमा पनि आफ्नो सपोर्टको टिमले जित्न सकेन भने रेफ्र नै बदमास रहेछ । विरोधी टिमसँग मिलेको वा पैसा खाएको रहेछ र धाँधली गरेर जितायो भन्ने आरोप लगाउने गरिन्थ्यो । 

तर आजभोलि यस्ता सानातिना कुरामा धाँधली शब्दको प्रयोग त्यत्ति भएको देखिँदैन । यस्ता सानातिना कुरामा अल्झिने फुर्सदै पनि छैन मानिसलाई । अर्थात् धाँधली शब्दले साँघुरो घेरा पार गरेर फराकिलो मोडमा पुगिसकेको छ । र, यसले आजभोलि कुनै पनि क्षेत्र अछुतो राखेको छैन भन्दा पनि हुन्छ । राजनीतिक, सामाजिक, आर्थिकलगायत दैनिक क्रियाकलापमा समेत यसले प्रवेश पाउँदैछ । 

फरक यत्ति छ कि पहिला पहिला मानिसले कानेखुसी गरेर वा एक अर्काबिच जमघट वा भेटघाटका समयमा धाँधलीबारे चर्चा परिचर्चा गर्ने गर्दथे भने आजभोलि सामाजिक सञ्जाल र यस्तै अनलाइनहरूमार्फत् धाँधलीबारे प्रचारप्रसार हुने गरेका छन् । 

तर काग कराउँदैछ पिना सुक्दैछ भनेजस्तै सामाजिक सञ्जाल वा अनलाइनहरूले जति नै लेखे पनि जति नै अक्षर ठूलोपारे पनि सम्बन्धित ब्यक्ति वा निकायलाई खास कुनै असर परेको देखिंदैन । बरु थेचरो भएको देखिन्छ । 

धाँधली गर्नेहरू यति निकृष्ट हुँदै गएका छन् कि मानवीय समवेदना समेतलाई उनीहरूले वास्ता गर्न छोडेका छन् । र, आफूले आफैलाई म को हुँ, मेरो हैसियत र मेरो स्तर के हो भन्ने बिर्सिसकेका छन् । 

भूइँचालोको बेलामा घरवास नभएकाहरूका लागि पाल वितरणमा धाँधली गर्नेदेखि हुम्ला, डोल्पामा चामल वितरणमा समेत धाँधली हुने गरेको सुन्दै, बुझ्दै र देख्दै आएका पनि छौं । यति सम्म कि कोरोनाकालमा भटाभट मानिसहरू मृत्युको मुखमा पुगिरहेको समयमा र अनलाइनहरूमा तिनका बारेमा विरोधका शब्दहरू आइरहँदा पनि धाँधली गर्न छाडेनन्  । यी त भए सामाजिक तथा दैनिक क्रियाकलापमा हुने गरेका धाँधलीका केही नमूना मात्र ।

तर अहिले हामी अन्य क्षेत्र छाडेर राजनीतिक क्षेत्रमा भएका र हुने गरेका धाँधली बारे संक्षिप्त चर्चा गर्दैछौं । यो लेखकले थाहा पाउँदा पञ्चायत व्यवस्थामा व्यापक धाँधली हुने गर्दथ्यो । यस व्यवस्थाको अन्त्य ताका त गाउँफर्कको मूल्याङ्कनको आधारमा भन्दै त्यसबेलाका राष्ट्रिय पञ्चायतका सदस्यहरूको छनौट दरबारका बड ेबडे हाकिम र सचिवहरूको बैठक कोठाबाट हुने गर्दथ्यो । 

भनिन्छ एकातिर खल्तीमा नाम र अर्को खल्तीमा दाम हुन्थ्यो रे । दामको मतलब हो आर्थिक लेनदेन । त्यस्तो वातावरणमा अरु के कस्ता धाँधली भए होलान्, यहाँ उल्लेख गरिरहनु नपर्ला । 

यस्तै धाँधली र अनियमित कामका पोकाहरूले भरिपूर्ण एकदलीय व्यवस्थाको अन्त्य गर्नुपर्छ र सबैको भलो गर्ने, देशको विकास गर्ने, भ्रष्टाचार र धाँधली त गर्दै नगर्ने भनेर बहुदलीय व्यवस्था के भित्र्याइएको थियो, सुरुको केही वर्ष त पर्ख र हेरमा बित्यो । त्यतिबेला कहाँबाट कसरी सुरु गर्ने भन्ने बाटो पहिल्याउन थालेका रहेछन् । 

अहिले त बज्र भएर जुनसुकै दल र समूहमा पनि धाँधली छरपष्ट रूपमा देखा परेको छ । माथि उल्लेख गरिएबमोजिम धाँधलीलाई हामीले पहिले देखि नै अङ्गालेर आएका थियौं र अहिले यसलाई त्याग्नुको सट्टा मलजल गर्दै यसको पालनपोषण गर्दैछौं । गणतन्त्रदेखि हालको यो संघीय व्यवस्थासम्म आउँदा अघिल्लो व्यवस्थामा हुने गरेको धाँधली त फिक्का लाग्न थालेको छ । र, वर्तमानमा यो बलियो रूपमा देखा पर्न थालेको छ । 

जुनसुकै क्षेत्रमा पनि धाँधलीको प्रयोग हुने भएता पनि चुनावसँग यसको सम्बन्ध बढी देखिन्छ । चुनाव र यो धाँधली भन्ने शब्दको सम्बन्ध नङ् र मासुको जस्तो रहेको छ । तर चुनावमा सबैका लागि यसको उपयोगिता उत्तिकै देखिँदैन । चुनावमा हार्नेका लागि मात्र यस्को मन्त्र जप्नु उनीहरूका लागि बलियो सुरक्षा कवच हुने रहेछ । 

यसै प्रसंगमा गएका चुनावहरूको फेहरिस्त खोतल्दै जाँदा धाँधली नामक शब्दहरूको पोकाहरू प्रशस्त भेटिन्छन् । तर मङ्सिर ४ मा भएको चुनावको परिणामलाई लिएर प्रयोग गरिएको धाँधली शब्दको यति दुरुपयोग भएको छ कि मानिसहरूले सामाजिक सञ्जालमार्फत यसको विरुद्धमा आफ्ना भावना व्यक्त गरिरहेका छन् । 

यथार्थमा धेरै नै भोट ल्याएर प्रतिस्पर्धामा आउनेले धाँधली भयो भन्दा त अलि सुहाउला । तर, ५०÷६० भोट ल्याउनेले पनि धाँधली भयो, धाँधली नभएको भए पक्का जित्ने थिएँ भन्दै हिँडेको देख्दा त उनीहरू प्रति दया नै लागेर आउँछ । 

यतिसम्म कि भोट गन्दा गन्दै जब भोट कम पाएको देखिँदै जान्छ अनि धाँधली भयो, पुनः मतगणना, पुनः निर्वाचन भनेर चिच्यायो तर पछि पुनः मतगणना गर्दा आफूले जितेपछि भने थाहा नभएको जस्तो चुपचाप भयो । यसको ज्वलन्त उदाहरणको रूपमा हालै मात्र भएको चुनावमा सुनसरी जिल्लाको क्षेत्र नम्बर ४ लाई लिन सकिन्छ । 

सो क्षेत्रको मतगणनाको क्रममा कहिले धाँधली भयो, मतगणना रोकी पाउँ भन्यो, फेरि कहिले मतगणना गरियोस् भन्ने जस्ता आफैँमा विरोधाभास जस्ता वक्तव्य निकालेर जनतामा आफ्नो वजन आफैले घटाए वर्तमान मन्त्री महोदयले । आम जनमानसमा यस्ता नेता वास्तवमा नेता होइनन् हास्यपात्र बने । 

जनताले चुपचाप बुझिरहेका छन् । मौकामा त्यस्तालाई उचित सजाय दिन जनता पछि पर्दैनन् भन्ने कुरा गएको स्थानीय चुनावबाट समेत देखिइसकेको छ । अरु साधारण व्यक्तिले यस्तो गरेको भए त त्यति ठुलो कुरा हुन्नथ्यो । देशको एउटा जिम्मेवार पदमा बसेको मात्र होइन, आफ्नै सरकारको व्यवस्थापनमा सन्तोषजनक रुपले सम्पन्न भएको चुनावमा जिम्मेवार ब्यक्तिले समेत त्यस्तो कुराहरू बोल्नु सुहाउने कुरा थियो र ? 

यसपालीको चुनावमा यो भन्दा पनि अझ ताज्जुब लाग्ने मात्र  होइन, बरु दया लागेर आउने खालको अर्को घटना पनि मिडियाहरूमा त्यतिबेला बराबर आयो । इलाम–१ को चुनावका उम्मेदवार देशको सबैभन्दा माथिल्लो तहमा रहेर काम समेत गरिसकेका त्यो पनि आफ्नै गठबन्धनको सरकारले गराएको चुनावको नतिजा देखिन थालेपछि र आफ्नो मत कम आउन थालेपछि धाँधली भयो भन्नु कत्तिको जायज कुरा थियो ? जब आफ्नो हार हुन थाल्यो अनि धाँधली भयो भनेर कसैले पत्याउने वा सहानुभूति देखाउने फुर्सद कस्लाई थियो र ?

यसरी अहिलेको चुनावमा धाँधली भएर हारियो भने पहिले पहिलेको चुनावमा पनि आफैले धाँधली गरेर नै जितेको रहेछ भन्ने अनुमान गर्दा कसो होला ? यसरी धाँधली शब्दको सुरुआत त आफैँबाट पो भएको देखिन्छ नि, होइन त ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

धनन्जय पौड्याल
धनन्जय पौड्याल
लेखकबाट थप