सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

‘चिना हराएको मान्छे’को हात हेर्दा

शनिबार, ०२ पुस २०७९, ०५ : ५५
शनिबार, ०२ पुस २०७९

सन् २०२२ को नोभेम्बर महिनाभरि कैयौँ कलाकारहरूले समता स्कुलको सहयोगार्थ अमेरिकाका धेरै सहरमा कार्यक्रम गरे । 

समता शिक्षा निकेतनका संरक्षक तथा वरिष्ठ कलाकार हरिवंश आचार्य, समता शिक्षाका अभियन्ता उत्तम सन्जेल, समता ग्लोबल सिनेटका संयोजक डा. उत्तम गौली, गायक रामकृष्ण ढकाललगायत यस अभियानमा सहभागी थिए । 

यसै शृंखलामा करिब ५ सय दर्शकको उपस्थितिमा ‘बृहत् सुशोभन समारोह एवम् सांस्कृतिक कार्यक्रम’  बोस्टनमा सम्पन्न भएको थियो । अर्को दिन समता ग्लोबल सिनेटको सिनेटरको नाताले हरिवंश आचार्य दाइसँग एउटा नेपाली रेस्टुरेण्ट्मा भेटेर सँगै मःम खाने अवसर जुर्‍यो ।

बाल्यकालदेखि नै टेलिभिजन, पर्दामा देखिरहेको कलाकारलाई प्रत्यक्ष भेट्दा उत्साहित थिएँ । तर अत्यन्त सरल स्वभावका हरि दाइसँग कुरा गर्दा उनमा चर्चित विशेष व्यक्ति हुँ भन्ने भाव रत्तीभर पनि देखिएन । सबैले हरिवंश दाइसँग सेल्फी र सामूहिक तस्बिर खिचेपछि मःम खान एउटै टेबलमा बस्यौँ । 

कुराकानीकै क्रममा मैले म ज्योतिषीको नाति हुँ र मलाई हस्तरेखा पढ्न आउँछ भनेपछि “चिना हराएको मान्छे’ पुस्तकका लेखक हरि दाइले आफ्नो हात अघि सारे ।  

हुन त दाइको जीवनको बारेमा धेरै कुरा प्रायः सबैलाई थाहै छ तर म यस्ता बहुप्रतिभाशाली कलाकारको हातमा अरूभन्दा के फरक रेखा छन् त भन्ने अध्ययन गर्न उत्सुक थिएँ ।  
हरि दाइको हात चौडा (वर्गाकार) भन्दा बढी लामो (आयाताकार) थियो ।  सामान्यतः वर्गाकार हात हुने व्यापारी र केही हदसम्म“पैसाको लागि जे पनि गर्ने’ खालका हुन्छन् ।  यसको विपरीत आयाताकार हात हुने कलात्मक, दार्शनिक, रचनात्मक र समाजसेवी  हुने गर्छन् ।  ठ्याक्कै यस्तै हात हरि दाइको थियो । सबैलाई थाहा छ हरि दाई बहुप्रतिभाशाली कलाकार हुनुहुन्छ तर उहाँ एक विशाल हृदयका धनी समाजसेवी पनि हुनुहुन्छ भन्ने सबैलाई थाहा नहुन सक्छ ।

औंलाहरुको लम्बाई हेर्दा हामीले चिनेका हरि दाइ भन्दा फरक देखिए ।  पहिलो तर्जनी (चोर औँला)  अनामिका (बिहेको औँठी लगाउने औँला) भन्दा लामो थियो । 

सामान्यतया कलाकारहरूमा  तर्जनी भन्दा अनामिका औँला लामो हुन्छ  । मैले गायक चक्र बम अनि गायिका सोफिया थापाको हात हेर्दा त्यस्तै देखेको थिएँ । अनि नेता, कमान्डर, व्यवस्थापक, शिक्षक लगायतको अनामिका भन्दा तर्जनी औँला लामो हुन्छ । भनिन्छ नेपोलियनको तर्जनी औँला लगभग मध्यमा बराबार थियो  । 

हरि दाइको चाहिँ तर्जनी औँला नै लामो थियो । उहाँ कलाकार हुनुका साथै कुशल व्यवस्थापक र शिक्षाप्रेमी पनि हुनुहुन्छ । यसबाहेक दाइको  अङ्गुठा (बूढी औँला) लचिलो थियो ।  यसको अर्थ जस्तो परिस्थितिमा पनि घुलमिल हुन सक्ने र उदार हृदयको साथ समाजसेवामा पैसा÷साधन–स्रोत लगाउने भन्ने हुन्छ ।  

हरि दाइका रेखाहरू हेर्दा लामो जीवनरेखा, स्पष्ट फराकिलो मस्तिष्क रेखा र सफा हृदय रेखा थियो । रेखाहरूमा पनि कनिष्ठा औँलामुनि केही ठाडा रेखा थिए । यी प्रायः दुःखी–बिरामीलाई प्रत्यक्ष सेवामा खटिने डाक्टर, नर्स, उद्धारकर्मीहरुको हातमा हुने गर्छ । त्यस्तै रेखा हरि दाइका हातमा पनि थिए । दाइ पनि अरूको दुःख देख्न नसक्नेमा हुनुहुन्छ । 

उहाँको हात हेरेपछि अन्त्यमा मैले दाइका केही प्रश्न छन् भने सोध्नुहोस् भने ।  अनि दाइले दुई गहन दार्शनिक प्रश्न सोध्नु भयो ।  

उहाँको पहिलो प्रश्न थियो, मेरो बाल्यकाल यति धेरै दुःखद किन भयो ? शायद दाइलाई बाल्यकालमा नै आमा गुमाउनु परेको स्मरण भयो  होला । मैले जीवनरेखा र भाग्यरेखा  फेरि हेरें । बाल्यकालमा अल्लि अस्पष्ट अर्थात् कहिले यता, कहिले उता रहेछ ।  

मैले भने, “दाइ तपाईंले आफ्नो भाग्य आफैँ कोर्नु भयो, त्यो सबै संघर्षले नै आज तपाईंलाई हरिवंश आचार्य बनायो ! 

उहाँको दोश्रो प्रश्न के मेरो दुइटा विवाह लेखेकै रहेछ त ? भनेर सोध्दा प्रायः खुसी रहने दाइ अलि भावुक हुनुभयो । शायद स्वर्गीय मीरा भाउजुको याद आयो होला ।

मैले कनिष्ठा र हृदयरेखाको बिचमा हेर्दा दुइओटा रेखा थिए,  एक अलि चाँडै र अर्को अलि ढिला  । यी प्रणय रेखाहरूले सम्भावना मात्रै बताउने हुन् । वास्तविक विवाह गर्ने÷नगर्ने त आआफ्नो  निर्णयमा भर पर्छ भनें । 

ज्योतिष विद्या एक कला हो र केही हदसम्म सान्त्वना, हौसला र सकारात्मकताको सञ्चार गर्ने विधि । एक कुशल ज्योतिषले  दुःखमा सम–भाव  र स्वीकार भाव बढाउने अर्ती दिनु पर्छ, ता कि प्रश्नकर्ताको मन हलुङ्गो होस् ।  

मैले आफ्नो ज्योतिष धर्म ख्याल गरेर भनें, “दाइ जीवनमा कति कुरा हाम्रो नियन्त्रणभन्दा बाहिर हुन्छन्, तिनलाई सहजताका साथ स्वीकार्न सके नै खुसी भइन्छ’ । 

मैले दाइलाई त्यो दुःखद घटना स्वीकार्न अझै मद्दत होस् भनेर फेरि जोड दिएर भनें, “तपाईंको लेखा नै यस्तै रहेछ । जे भयो शायद राम्रै भयो ।’ मेरो आशय मीरा भाउजूको स्थान त कसैले लिन सक्दैन तर रमिला भाउजूको आगमनले तपाईंको जीवनको उत्तरार्ध एक्लो भएन भन्ने थियो । 

मेरो कुरा सुनेपछि दाइको अनुहारको मलिनता हरायो र फेरि प्रफुल्ल देखिनु भयो । हरि दाइ र म सँगै उही टेबलमा बसेका हाम्रो संवादलाई मनोचिकित्सक डा. श्रीधर पौडेलले ध्यान दिएर सुनिरहनु भएको थियो ।  केहीबेर अघि मात्रै डा. पौडेलसँग मनोविज्ञानको बारेमा मेरो कुरा भएको थियो । कुरैकुरामा योग्य ज्योतिष हुन योग्य काउन्सिलर पनि हुनुपर्छ भन्ने प्रसंग पनि आएको थियो ।  

साथै, हात हेर्दै गफिदै गर्दा समता शिक्षाका अभियन्ता उत्तम सन्जेल र  समता ग्लोबल सिनेटका संयोजक डा. उत्तम गौली पनि त्यही टेबलको अर्कोपट्टि बसेर हेर्दै हुनुहुन्थ्यो । 

उत्तम सन्जेलले ठट्यौली पाराले “हरि दाइको बारेमा त सबैलाई थाहा छ, हाम्रो बारेमा मिलाएर देखाउनु होस्’ भनेर आफ्नो हात अघि सार्नुभयो ।  

हरि दाइले उहाँको पनि हात सँगै सार्दै ठट्यौली पाराले सोधे, “सबै मेरो पछि लाग्छन्, म चाहिँ समता स्कुलको लागि यिनको पछि लागेर हिँडिरहेको छु । म पछि नलागे उत्तमले गाली गर्ला कि नगर्ला ?’ एकछिन हाँसो छायो ।  

मैले दुवैको हात दाँजेर हेर्दा समाजसेवा, नेतृत्व क्षमता र उदार हृदय जनाउने रेखाहरू समान थिए ।  त्यो देखेपछि मैले भने, “तपाईंहरूको यो हृदयको तालमेल हो र समाजसुधारको लागि गठबन्धन, यो कहिल्यै टुट्ने छैन ।’

डा. जोशी समता ग्लोबल सिनेटका सिनेटर तथा युवा वैज्ञानिक हुन् । उनी ज्योतिष विद्यामा पनि गहिरो रुचि राख्छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप