आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

हुस्सुका कारण सिमरा विमानस्थलबाट हुने नियमित उडान प्रभावित

शुक्रबार, ०१ पुस २०७९, १८ : २८
शुक्रबार, ०१ पुस २०७९

लगातार तीन दिनदेखि लागेको हुस्सुको कारण सिमरा विमानस्थलबाट हुने नियमित उडानहरू प्रभावित भएको छ ।  सिमरा विमानस्थलबाट काठमाडौंका लागि हुने दैनिक १२ देखि १५ सम्म उडानहरू मध्ये मौसममा देखिएको खराबीका कारण (कम भिजिविलिटी) का कारण आज (शुक्रवार) पहिलो उडान ४ बजेपछि मात्रै भएको छ । ‘हामीकहाँ  मौसमका कारण ३ दिन देखि नियमित हुँदै आएको हवाई उडानहरू प्रभावित भएको छ, ३ देखि ४ घन्टा उडान ढिलो हुँदा यात्रुहरूलाई पनि समस्या हुने गरेको छ’ सिमरा विमानस्थलका प्रमुख सुर्यबहादुर खत्रीले भने,  ‘मौसमको कारणले प्रायः बिहानको सबै उडानहरू स्थगित भएका छन्’

सिमरा विमानस्थलबाट काठमाडौंको लागि बुद्ध एयरलाइन्सले दैनिक ९ वटा, यति र श्रीले २÷२ वटा र गुणको एउटा उडान भर्दै आएका छन् । तर, तीन दिनदेखि लागेको हुस्सुका कारण बुद्धको ४ वटा र यतिको एउटा वटा मात्रै उडान भर्दै आएको विमानस्थल कार्यालयले जनाएको छ । ‘प्राविधिक कारणले भन्दा पनि मौसमको कारणले पुस र माघको महिना यस्तै समस्या हुन्छ, नियमित उडानहरू तोकिएको समयमा गर्न सकिँदैन’ प्रमुख खत्रीले भने । सिमरा विमानस्थलबाट काठमाडौंको लागि पहिलो उडान बिहान साढे ७ बजेदेखि साँझ ७ बजेसम्म उडान हुने गर्छ । सिमरा–काठमाडौ उडानको लागि  २ हजार ३ सय भन्दा धेरै भिजिविलिटी आवश्यक पर्छ । तर भिजिविलिटी कम हुँदा उडानहरू प्रभावित भएको यति एयरलाइन्स सिमरा शाखाका इन्चार्ज अकलबहादुर वाइवाले जनाएका छन् ।  

बारा, पर्सा, रौतहट, मकवानपुर, छिमेकी मुलुक भारतबाट दैनिक एक हजारदेखि १ हजार ५ सय यात्रुहरू सिमरा काठमाडौं आउजाउ गर्ने गर्दछन् । मधेस प्रदेशमा हुने राजनीतिक कार्यक्रममा सहभागी हुन आउने दलका नेता, कार्यकर्ता, काठमाडौंको पशुपतिनाथ, मुक्तिनाथ दर्शन गर्न जाने भारतीय पर्यटक, बारा–पर्सा औद्योगिक करिडोरका व्यवसायीदेखि मध्यमवर्गले पनि सिमरा–काठमाडौ आउजाउ गर्न उक्त विमानस्थल प्रयोग गर्ने गर्छन् ।

१ वर्ष अघिसम्म २ हजार ५ सय देखि ३ हजार २ सयसम्म रहेको हवाई भाडा पछिल्लो समय ह्रवात्तै बढेको ३ हजार ७ सय देखि ४ हजारसम्म पुगेको भन्दै यात्रुहरूले गुनासो गरेका छन् । सिमरा विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाहिरको नेपालकै सबैभन्दा पुरानो विमानस्थल हो । यसको स्थापना सन् २००८ सालमा भएको विमानस्थल कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप