आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

महानगरमा गुण्डाराज : कुन अधिकार प्रयोग गरेर पक्राउ गरिँदैछ नागरिक ?

अर्काले फालेको फोहोर देखाएर महानगरले तिरायो १० हजार जरिवाना
शुक्रबार, ०१ पुस २०७९, १५ : ५५
शुक्रबार, ०१ पुस २०७९

काठमाडौ महानगरपालिकाको वडा नम्बर १६ स्थित सोह्रखुट्टेबाट बालाजुतर्फ जाँदा नयाँबजारमा कृपा फार्मेसी नामक औषधि पसल र क्लिनिक छ । औषधिको कारोबार र बिरामीको चेकजाँच गर्ने उक्त पसलमा बुधबार बिहान पसलका सञ्चालक महेश डोटेल बसिरहेका थिए ।

बुधबार बिहानै सोह्रखुट्टेबाट बालाजुतर्फ महानगरपालिकाको टोली बालाजुमा दमकल स्थापना गर्ने भन्दै ‘मार्चपास’सहित र्‍यालीमा सहभागी हुँदै थियो । सोही बाटो भएर जाने क्रममा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीसहितको टोली महेशले सञ्चालन गरिरहेको कृपा फार्मेसीको अगाडि पुगेर रोकियो ।

फुटपाथमा रुख रोप्ने प्रयोजनका लागि बनाइएको ‘ट्रि बार’ भित्र फोहोर देखेपछि अधिकारी आक्रोशित बने । औषधि पसलमा गएर महेशलाई धम्काउँदै औषधि पसलको कागजात माग गरे ।

महेशले सञ्चालन अनुमति पत्रदेखि आवश्यक सबै कागजात उपलब्ध गराए । कागजातमा कुनै कैफियत थिएन । महेशले घरबहाल कर लगायतका सबै करहरु तिरिसकेका थिए ।

कागजातमा कैफियत नपाएपछि प्रमुख प्रशासकीय अधिकृत अधिकारीले तपाईको पसलको अगाडि यति फोहोर हुँदा के हेरेर बस्नुभएको छ भन्दै गाली गरे । अनि महानगर प्रहरीलाई कारवाहीका लागि निर्देशन दिए ।

अधिकारीसँगै मार्चपासमा थिए, काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डे । सँगै रहेका पाण्डेले आफ्नो वाकीटकीबाट कृपा फार्मेसीमा रहेका व्यक्तिलाई कारवाही गरी जरिवाना तिराउन मातहतको युनिटलाई निर्देशन दिए ।

पाण्डेको निर्देशन आएलगत्तै काठमाडौं महानगर प्रहरी महेशको कृपा फार्मेसीमा आइपुगे । अनि महानगरपालिकामा कारबाहीका लागि जान भने । तर फार्मेसीमा आफू एक्लै भएको अवस्थामा तत्कालै जान नसक्ने महेशले बताए । साथै आफूले के कसुर गरेका कारण लैजान लागिएको हो भनी सोधे ।

महेशलाई ‘पक्राउ’ गर्न आएका महानगरका प्रहरीले माथिबाट निर्देशन आएको र कार्यालयमै गएर कुराकानी गर्न भने । आफ्नो पसल अगाडि भएको फोहोरमा आफ्नो कुनै संलग्नता नभएको र फोहोरमा औषधिजन्य फोहोर पनि नभएको कारण आफूले कुनै कसुर नगरेको जिकिर गरिरहे ।

महेशको पसलसँगैका अन्य पसले र स्थानीय पनि सोही स्थानमा आइपुगे र उक्त फोहोर औषधि पसलले फालेको नभई बाटो हिँड्ने बटुवाले फालेको बताए । बाटो हिँड्ने बटुवाले गरेको र फालेको फोहोरमा पसलको अगाडि भयो भन्दैमा पसले वा घरधनीलाई जरिवाना र कारवाही गर्न नमिल्ने अन्य स्थानीयले पनि बताए ।

महेशको पसल अगाडिको ‘ट्रि बार’मा चुरोटको बट्टा, चाउचाउ र चिजबल्सको खोल लगायतका फोहोर थिए । तर घर अगाडि फोहोर हुँदा किन रोक्न नसकेको भन्दै उनलाई नै कारवाही र जरिवाना गराउने भन्दै महानगर प्रहरीले महेशलाई बुधबार बिहान करिब ८ बजेको समयमा लिएर गयो ।

महेशलाई महानगर प्रहरीले पाखुरामा समातेर गाडीमा हालेको भिडियोमा समेत देख्न सकिन्छ ।

बुधबार बिहान ८ बजे पक्राउ परेका महेशलाई महानगरपालिकाको टेकुस्थित वातावरण विभागमा मध्याह्न १२ बजेसम्म त्यसै राखियो । त्यसपछि सार्वजनिक स्थलमा फोहोर फालेको अभियोग लगाई उनलाई १० हजार जरिवाना तिर्न भनियो । सुरुमा महेशले उक्त फोहोर आफूले नफालेको कारण जरिवाना तिर्न र सजाय भोग्न आफू बाध्य नभएको तर्क गरे । तर महानगरका कर्मचारी पूर्णचन्द्र भट्टले जरिवाना नतिरे सार्वजनिक अपराधमा मुद्दा चलाउने भन्दै प्रहरी बोलाएर जेल पठाइदिने धम्की दिए । त्यसपछि महेश महानगरपालिकालाई १० हजार जरिवाना तिरेर आफ्नो पसल फर्किए ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा पर्ने उक्त स्थानमा महेशले फोहोर फालेको कसैले देखेका छैनन् । महेशका अनुसार उक्त स्थानमा भएको फोहोर उनले फालेका पनि होइनन् । न त उनको औषधि पसलबाट निस्कने फोहोर नै त्यहाँ थियो । बटुवाले फालेको चाउचाउ र चिजबल्सको खोल तथा चुरोटको बट्टा जस्ता फोहोर फालेको अभियोग लगाएर महेशलाई १० हजार जरिवाना गराइयो ।

बिहीबार बिहान रातोपाटीसँग कुराकानी गर्दै महेशले महानगरपालिकामा गुण्डाराज सुरु भएको र आफूले नगरेको गल्तीको पनि जबरजस्ती सजाय गराइएको भन्दै आपत्ति जनाए । रातोपाटीसँग महेशले भने, ‘काठमाडौं महानगरपालिकामा नगर प्रहरी होइन, गुण्डाराज छ । त्यहाँ गुण्डा पालेर राखिएको छ । गुण्डाको काम के हो र कसरी गर्छन् त भनिरहनु नै परेन नि ।’

महानगर प्रहरीले बिना कुनै आधार, कारण र प्रमाण आफूमाथि फोहोर फालेको आरोप लगाएको महेशले बताए । औषधिको कार्टुनमा राखिएको फोहोर देखाउँदै महेशले भने, ‘हाम्रो फोहोर त यसरी राख्ने गरेका छौँ र सफाईका कर्मचारी आएपछि दिने गरेका छौँ । हाम्रो पसल अगाडि जसले फोहोर फाले पनि हामी नै जिम्मेवार हुनुपर्ने भन्दै हामीलाई जबरजस्ती अपराधी करार गराइयो । यो त गुण्डाराजको हद भयो ।’

महेशले महानगर प्रहरीले के कुन कानुनका आधारमा आफूलाई पक्राउ गरेर लगेको हो भन्दै प्रतिप्रश्न समेत गरे । उनले भने, ‘मलाई पक्राउ पूर्जी र कसुरको जानकारी समेत नदिई के कुन आधारमा पक्राउ गरिएको हो ? कुन कानुनका आधारमा महानगर प्रहरीले मलाई नियन्त्रणमा लिएको हो, त्यसको जवाफ म महानगरका मेयर बालेन्द्र साहबाट चाहन्छु ।’

पक्राउ गरेको होइन, सँगै लिएर गएका हौँ : महानगर

यस विषयमा काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई के कति कसुरका आधारमा महेशलाई पक्राउ गरिएको हो भन्ने प्रश्न रातोपाटीले गरेको थियो ।

जवाफमा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले पक्राउ गरेको नभई सँगै लिएर गएको बताए । पाण्डेले भने, ‘हामीले उहाँलाई पक्राउ गरेको होइन । फिल्डमै जरिवाना गराउने हाम्रो व्यवस्था पनि छैन । अब भिडमै जरिवाना तिराउने कुरा पनि भएन । हामीले उहाँलाई जरिवाना तिर्न हिँड्नुहोस् भनेर उहाँलाई सँगै लिएर गएको हो । कार्यालयमा गएर जरिवाना तिर्नुभयो र त्यहाँबाट निस्कनुभयो । उहाँलाई पक्राउ गरिएको होइन ।’

कुनै व्यक्तिको पसल अगाडि फोहोर देख्दैमा त्यही व्यक्ति नै जिम्मेवार हुनुपर्ने हो ? भन्ने प्रश्नमा यस्तो अवस्थामा सोही व्यक्ति नै जिम्मेवार हुने बताए । पाण्डेले भने, ‘उसकै पसलकै ठिक अगाडि फोहोर फालिएको छ । उसको पसल र फोहोर फालिएको स्थान तीन फिटको फरकमा छ । त्यहाँ कण्डमको बट्टाहरु पनि देखिएको छ । त्यो त अरुले ल्याएर फाल्दैन नि । औषधिजन्य सामानको रुपमा त्यहाँ कण्डमको बट्टा देखिन्छ । उनको पसलकै अगाडि यस्तो सामान देखिएपछि यो भन्दा बढी त मैले के नै भनौं र ?’

तर महानगर प्रहरीले यसरी व्यक्तिलाई घिच्याउँदै पक्राउ नै गरेर ल्याउन मिल्छ र भन्ने प्रश्नमा पाण्डेले फेरि पक्राउ नगरिएको दावी गरे । उनले भने, ‘फोहोरमैला फालेको विषयमा चिठी दिएर साध्य हुँदैन । त्यही भएर जरिवाना तिराउन उहाँलाई सँगै लिएर गएका हौँ, पक्राउ गरिएको होइन ।’

‘त्यसो भए तपाईकै घर अगाडि ल्याएर कसैले फोहोर फालिदियो भने तपाईलाई पक्राउ गरेर ल्याउन मिल्ने कि नमिल्ने ?’ भन्ने रातोपाटीको प्रश्नमा पाण्डेले गोलमटोल जवाफ दिए । उनले भने, ‘पक्राउ त होइन ।’

पाण्डेलाई जरिवाना गराउन मिल्ने कि नमिल्ने ? भन्ने प्रश्नमा पनि उनको त्यस्तै गोलमटोल जवाफ आयो । पाण्डेले भने, ‘घर अगाडि फोहोर फाल्दा पनि कसले फालेको, कुन प्रकृतिको फोहोर हो, त्यो त हेरिन्छ नि हजुर ।’

हामीले फेरि प्रश्न गर्‍यौँ, ‘ठिक छ, तपाईकै घरमा उत्पादन हुने तरकारीजन्य फोहोर ल्याएर कसैले तपाईको घर अगाडि कसैले फालिदियो भने नि ?’

पाण्डेले जवाफ दिए, ‘आफ्नो घरअगाडि कसैले ल्याएर फोहोर फाल्दैछ भने सचेत नागरिकले फोहोर नफाल्नुस् त भन्नु पर्‍यो नि ! कसैले फोहोर फाल्न ल्याउँदैछ भने तपाईले नल्याउनुस् र नफाल्नुस् त भन्नु परेन ?’

पाण्डेले अगाडि भने, ‘हाम्रो स्वार्थ भनेको नगर सरसफाईको स्वार्थ त हो नि । अरु त के नै स्वार्थ छ र ?’

तर प्रक्रिया मिलेन कि भन्ने गुनासो आयो नि भन्ने प्रश्नमा पाण्डेले भने, ‘हामीले उहाँलाई पक्राउ गरेको होइन, सम्मानका साथ जरिवाना तिर्न हिँड्नुहोस् भनेर लिएर गएका हौँ । त्यसलाई नकारात्मकरुपमा लिन मिलेन । हामीले उहाँलाई घिच्याएर वा पक्राउ गरेर ल्याएको होइन, सँगै लिएर गएकासम्म हौँ ।’

जरिवाना तिराइएका व्यक्तिले नै त्यहाँ फोहोर फालेको हो भन्ने प्रमाण केही छ तपाईसँग भन्ने प्रश्नमा पाण्डेले फेरि कण्डमकै बट्टाको कुरा निकाले । पाण्डेले भने, ‘उहाँको पसलको ठिक अगाडि फोहोर छ । त्यस्तो ठाउँमा अरु कसले फोहोर फाल्छ ? त्यस्तो अवस्थामा जिम्मेवार बनाउने भनेको उहाँलाई नै हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप