आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसले भन्यो – गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन सम्भव छैन

शुक्रबार, ०१ पुस २०७९, १५ : ०८
शुक्रबार, ०१ पुस २०७९

पूर्व प्रधानन्यायधीश तथा मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेपछि राष्ट्रपतिमा गैरराजनीतिक व्यक्तिको चर्चा सुरु भएको छ । सत्ता गठबन्धनमा प्रधानमन्त्री र राष्ट्रपतिको भागबण्डा पेचिलो बनेका बेला मंगलबार साँझ रेग्मी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेपछि तरंग पैदा भएको छ ।

कांग्रेसले राष्ट्रपतिसहित पहिलो चरणमा प्रधानमन्त्री आफूले गर्न पाउनुपर्ने अडान राखेको छ भने माओवादीले पहिला आफू सरकारको नेतृत्व गर्न चाहेको देखिन्छ । पहिलो चरण कांग्रेसलाई सरकार छाड्नु परे राष्ट्रपति आफूले पाउनुपर्ने माओवादीको अडान छ । उक्त परिदृश्यका बीच देउवाले रेग्मीलाई राष्ट्रपति बनाउन खोजेको चर्चा छ । तर कांग्रेसका नेताहरु राजनीतिक दलबाटै राष्ट्रपति हुने दाबी गर्छन् ।

राष्ट्रपतिको चर्चामा रहेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पूर्व उपसभापति गोपालमान श्रेष्ठले राजनीति बाहिरको मान्छे राष्ट्रपति बन्ने सम्भावना नरहेको बताए । ‘अहिले त्यो सम्भावना पनि छैन । हुन पनि सक्दैन,’ पौडेलले रातोपाटीसँग भने, ‘ गठबन्धनभित्रै राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाइन्छ ।’

उनका अनुसार अहिलेको समयमा पनि खिलराज रेग्मीजस्ता व्यक्तिलाई राष्ट्रपति बनाउनु पर्ने कुनै बाध्यता छैन । अहिलेको परिवर्तनको रक्षाका लागि बनेको गठबन्धनले व्यवस्थालाई संकट हुने काम गर्ने उनको भनाइ छ । यस्तै नेता गोपालमान श्रेष्ठ कांग्रेसबाट आफू राष्ट्रपतिको दाबेदार रहेको भन्दै राष्ट्रपतिमा गैरराजनीतिक व्यक्ति आउन नसक्ने दाबी गरे ।

 ‘अब जनजातिबाट राष्ट्रपति बन्नुपर्छ । त्यसका लागि मेरो योगदान र अनुभव पर्याप्त छ,’ श्रेष्ठले भने, ‘गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने त्यो हल्ला मात्र हो । कुनै सम्भावना छैन ।’ कांग्रेसका महामन्त्री तथा नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले राष्ट्रपति बनाउने विषयमा आन्तरिक अभ्यास भइरहेको बताए ।

‘राष्ट्रपति बनाउने विषयमा बाहिर धेरै टिकाटिप्पणी गर्नुभन्दा आन्तरिक अभ्यासमै बढी जानुपर्छ,’ उनी भन्छन्, ‘राष्ट्रपति को बन्ने भन्दा पनि कस्तो व्यक्ति राष्ट्रपति बनाउने भन्ने कुरा हो । राष्ट्रपतिको व्यवहार र भूमिकाले गणतन्त्रप्रतिको आकर्षण बढाउने कुरा गर्छ ।’

राष्ट्रपति पद प्रधानमन्त्रीको पद भन्दा फरक भन्दै सार्वजनिक बहसमा आउन आवश्यक नरहेको उनको भनाइ छ । महामन्त्री शर्माले भने, ‘प्रधानमन्त्रीको पदमा सार्वजनिक रुपमै बहसमा उत्रिनु स्वाभाविक थियो । त्यसमा गएको पनि हो । तर राष्ट्रपतिबारे संयमतापूवर्क आन्तरिक छलफल गरेर मात्र बोल्दा उचित हुन्छ जस्तो लाग्छ ।’
 
कांग्रेस राष्ट्रपति चयनबारे गठबन्धनका दलहरुसँग धारणा मिलाएर जानुपर्छ भन्ने पक्षमा रहेको शर्माले बताए  । ‘गठबन्धनमा रहेका दलका साथीहरुको विश्वासमा साझा दृष्टिकोण निर्माण गरिनुपर्छ भन्ने विषयमा प्रस्ट र प्रयत्नशील छ,’ उनले भने ।
कांग्रेस नेता तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी भने राष्ट्रपति पद नै राजनीतिक पद भएका बताए । ‘राष्ट्रपतिमा राजनीतिक व्यक्ति कि अराजनीतिक व्यक्ति भन्ने प्रश्न नै हुँदैन । त्यो पद नै राजनीतिक पद हो,’ उनले भने ।

तर पद राजनीतिक भएपनि योग्यता पुगेको जोसुकै मान्छे राष्ट्रपतिको उम्मेदवार हुने बताए । ‘निर्वाचनको पद्धतिबाट राष्ट्रपति चयन हुने हो । कि निर्विरोध निर्वाचित हुनुप-यो । अहिले निर्विरोध निर्वाचित हुने अवस्था मैले देख्दिनँ । राष्ट्रपतिको निर्वाचन हुँदा राष्ट्रपतिको निर्वाचनका लागि योग्यता पुगेको मान्छे उम्मेदवार हुने हो ।’  उनका अनुसार संघीय संसदका प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशका सदस्यले राष्ट्रपतिमा मतदान गर्छन् । त्यसमा ५१ प्रतिशत मत ल्याउने मान्छे राष्ट्रपति बन्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप