आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुखका लागि सत्ता गठबन्धनबाट तीन आकांक्षी

शुक्रबार, ०१ पुस २०७९, १५ : ०२
शुक्रबार, ०१ पुस २०७९

अहिलेकै सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलको नेतृत्वमा नयाँ सरकार गठनको प्रयास भइरहेका बेला राज्यका महत्त्वपूर्ण पदहरुबारे कसरी भागबण्डा होला भन्ने आमचासो बढ्न थालेको छ । यसैक्रममा राष्ट्रपति र प्रधानमन्त्रीपछि सभामुख पदको समेत चर्चा सुरु भएको छ ।

दलहरुबीच शक्ति बाँडफाँड नभएपनि ती महत्त्वपूर्ण पदहरुमा आकांक्षा राख्नेहरु पनि बढ्दै जान थालेका छन् । निर्वाचनअघि कांग्रेस, माओवादी र समाजवादीले क्रशम: राष्ट्रपति, प्रधानमन्त्री र सभामुख लिने मौखिक सहमति भएको भनिएपनि निर्वाचन परिणामले पहिलाको ‘सोलोडोलो’ सहमतिअनुसार पदहरु बाडफाँट हुने/नहुने निश्चित छैन । यही अनिश्चितताकाबीच प्रतिनिधि सभाको नेतृत्व गर्ने सभामुखमा कसले वाजी मार्ला भन्ने चासो बढेको हो । यही क्रममा आकांक्षी नेताहरुको दौडधुप समेत हुन थालेपछि विभिन्न अड्कलवाजी हुन थालेका छन् । 
 

नेताहरू बधाई साटासाटका नाममा एक अर्काबीच भेटघाट र सम्वाद बाक्लै भइरहेका छन् । सोही भेटघाट र संवादलाई लिएर कतिपयले पदका लागि दौडधुप बढाएको भन्नेसम्मका टिप्पणी गरेका छन् । यस्तोमा सभामुखका लागि सत्ता गठबन्धनका चार नेताको नाम चर्चामा आएको छ । कांग्रेसबाट अर्जुननरसिंह केसी, माओवादीबाट रेखा शर्मा तथा नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वालाको नाम सभामुखका लागि चर्चामा ल्याइएका छन् । 

यद्यपि नुवाकोट क्षेत्र नम्बर २ बाट निर्वाचित केसीले आफूले पदका कुनै दौडधुप नगरेको बताउने गरेका छन् । त्यसैगरी माओवादीकी रेखा शर्मा एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेर दाङबाट सांसद निर्वाचित भएकी हुन् । यदि माओवादीले सभामुख समेत पाउने अवस्था आए शर्मालाई अघि सार्ने तयारी गरेको पार्टीभित्रै चर्चा छ । त्यस्तै समाजवादीका उपाध्यक्ष पाण्डे हाल वागमतीको मुख्यमन्त्री छन् । निर्वाचनमा उनी धादिङ १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । 

समाजवादीले सभामुख पद पाए उनै पाण्डेलाई अघि सार्ने बुझिएको छ । पाण्डेले अस्वीकार गरे सो पार्टीले विकल्पमा सल्यानबाट निर्वाचित ज्वालालाई भावी सभामुखका रुपमा पठाउने तयारी गरेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप