शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महन्थ ठाकुर र राजेन्द्र महतोबीच दुरी बढ्दै

शुक्रबार, ०१ पुस २०७९, १२ : २९
शुक्रबार, ०१ पुस २०७९

लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा पुनः एकपटक आन्तरिक विवाद सुरु भएको छ । राष्ट्रिय जनता पार्टीदेखि नै महन्थ ठाकुर र राजेन्द्र महतोबीच सौहाद्र सम्बन्ध थिएन । पार्टीमा को शक्तिशाली भनि देखाउनका लागि दुवैजनाबीच द्वन्द्व छ । 

अहिले पछिल्लो समय चुनाव सकेपछि लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बीचको दुरी झन बढेको छ । चुनावपछि पार्टीको समीक्षात्मक बैठक पनि बस्न सकेको छैन । सर्लाही २ बाट चुनाव हारेपछि उनी केही दिनका लागि काठमाडौँ आएका थिए । केही समय काठमाडौंमा बसेर जनकपुर हुँदै सर्लाही पुगेका छन् । सर्लाहीमा उनी मतदातालाई धन्यवाद दिन गाउँ गाउँ पुगिरहेका छन् ।
 
क्षेत्रीय समीक्षा बैठक पनि सम्पन्न गरेका छन् । उनी सर्लाही २ मा क्षेत्रीय कार्यालय पनि उद्‍घाटन गरेका छन् । तर काठमाडौँ आउन नाम लिइरहेका छैनन् । यता, राजेन्द्र महतो फर्केपछि चुनावी समीक्षाका लागि राजनीतिक समितिको बैठक बस्ने तयारी अध्यक्ष ठाकुरको छ तर महतो त्यहाँबाट फर्किने नाम लिइरहेका छैन । 

चुनावका लागि टिकट वितरणदेखि लिएर समानुपातिक सदस्यमा नाम राख्ने विषयलाई लिएर नेता महतोले चित्त दुखाएका थिए । अध्यक्ष ठाकुरले पार्टीमा एकलौटी गरेको, आफ्ना निकटलाई टिकट दिनुको साथै समानुपातिक सदस्यको बन्द सूचीमा आफन्त र आफ्ना निकटलाई मात्र राखेको, संगठनका कामहरु अगाडि नबढाएको, पार्टीलाई अनिर्णयको बन्दी बनाएका जस्ता आरोप लगाउँदै नेता महता असन्तुष्ट भएर बसेका छन् ।

अध्यक्ष ठाकुरले पार्टीलाई गतिशिलता दिन नसकेको गुनासो आफ्ना निकट नेताहरुलाई गरिरहेका छन् । हालसम्म पार्टीको केन्द्रीय समिति गठन भएको छैन । कार्यकारिणी समितिको भरमा पार्टी सञ्चालन भइरहेको छ । त्यो पनि नियमित बैठक बस्दैन भनि नेता महतोको गुनासो आफ्ना निकटका नेताहरु समक्ष गरेका छन् । 

नेता महतो अबको राजनीति परम्परा ढंगबाट होइन, नयाँ ढंगले नबढाए मधेशले कहिले पनि अधिकार नपाउने भन्दै आएका छन् । लोसपा राम्रोसँग सञ्चालन नभए त्यसको विकल्प खोज्न पनि नेता महतो तयार छन् । सरकार गठनसम्म उनी पर्खिने छन् । सरकार गठनपछि लोसपा कसरी अगाडि बढ्छ त्यसको आधारमा उनले निर्णय लिएर आफ्नो राजनीति यात्रा तय गर्ने स्रोतले जनाएको छ । 

उनी जनकपुर र सर्लाहीमा आफ्ना नेता तथा कार्यकर्तासँग लोसपाको विकल्प बारेमा पनि छलफल गरेका छन् । अब पनि महन्थ ठाकुरले पार्टीलाई ठीक ढंगले चलाउन सकेन भने त्यसको विकल्प खोज्ने विषयमा आफ्ना निकट नेताहरुसँग छलफल चलाएका स्रोतले जनाएको छ । 

तर नेता महतोका प्रेस संयोजक किशोर गुरुले ठाकुर र महतोबीच रहेको विवादलाई इन्कार गरेका छन् । नेता महतो चुनावमा पराजित भएपनि मतदातालाई धन्यवाद दिनका लागि क्षेत्रमा आएको बताउँदै उनले सातवटा पालिका छन्, एउटा पालिकालाई एक दिनको समय दिए पनि सात दिन लाग्दो रहेछ, त्यसमा अलि बढी समय लागेको कारण अरुलाई शंका लागेको हुनुपर्छ तर त्यस्तो केही पनि नरहेको दावी गरे । 

अब एक दुई दिनमा काठमाडौँ फर्किने तयारी भइरहेको बताउँदै उनले फर्केपछि पार्टीको समीक्षात्मक बैठक बस्ने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप