सुदूरपश्चिम प्रदेश : कांग्रेसमा संसदीय दलको नेताका लागि ६ जनाको दाबी
सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको नेताका लागि दौडधुप सुरु भएको छ । मुख्यमन्त्री बन्नका लागि संसदीय दलको नेता नै हुनुपर्ने व्यवस्था अनुसार सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र यो पदका लागि दौडधुप सुरु भएको हो ।
२०७४ को निर्वाचनमा तेस्रो दल बनेको कांग्रेस हालै सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ ७ सहित जम्मा १९ सिट पाएर पहिलो बनेको हो । यहाँ ४ वर्ष सत्ता बाहिर बसेको कांग्रेस गत २०८९ चैत २५ गते नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भएको थियो ।
निर्वाचन आयोगले समानुपातिकतर्फका प्रदेशसभा सदस्यहरुको अन्तिम नामावली सार्वजनिक गरेसँगै प्रदेश सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग गर्दै आएको नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले संसदीय दलको नेता बन्न कसरत गरिरहेका हुन् ।
संसदीय दलको नेताका लागि कांग्रेसका प्रदेशसभा सदस्यहरु भेटघाटलाई तीव्रता दिइरहेका छन् । ५ वर्ष कांग्रेस संसदीय दलको नेता भइसकेका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुरलाई निर्वाचनअघि भावी मुख्यमन्त्रीका रुपमा हेरिएको थियो । तर उनी नै कैलाली निर्वाचन क्षेत्र न. १ (२)मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार लक्ष्मण किशोर चौधरीसँग पराजित भएपछि हाल संसदीय दलको नेताका लागि विभिन्न नेता लविङमा लागेका हुन् ।
को–को छन् आकांक्षी ?
खासगरी कांग्रेसका आधा दर्जन प्रदेशसभा सदस्यहरु संसदीय दलको नेताका लागि शक्ति केन्द्र धाइरहेका हुन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित बहादुरसिंह थापा, कञ्चनपुरकै निर्वाचन क्षेत्र नं. १ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित दिवानसिंह बिष्ट, कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री समेत रहेका अछाम निर्वाचन क्षेत्र नं. १(१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित मेघराज खड्का, कैलाली निर्वाचन क्षेत्र नं. २ (१) बाट निर्वाचित कमल बहादुर शाह, कैलाली निर्वाचन क्षेत्र नं. ४ (२) बाट निर्वाचित प्रकाश बहादुर बम र कैलाली निर्वाचन क्षेत्र नं. ५ (२) बाट निर्वाचित प्रकाश बहादुर देउवाको नाम संसदीय दलको नेताका लागि चर्चामा छ ।
कञ्चनपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित कांग्रेसका बहादुरसिंह थापाले आफू मुख्यमन्त्रीको आकांक्षी रहेको बताए । २०७० मा संविधानसभा सदस्य भएको र कञ्चनपुर कांग्रेसको ३ कार्यकाल सभापति भइसकेकाले आफ्नो दाबी स्वाभाविक रहेको उनी बताउँछन् ।
हाल काठमाडौंमै रहेका थापाले भने, ‘हामी गठबन्धनबाटै चुनाव लड्यौं र निर्वाचित पनि भयौं । यदि गठबन्धनभित्र कांग्रेसले सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने निर्णय भएको अवस्थामा मैलै संविधानसभामा निर्वाह गरेको भूमिका र पार्टीको ३ पटक जिल्ला सभापति भइसकेकाले मेरो दाबी स्वाभाविक रुपमा हुन जान्छ ।’
कैलाली निर्वाचन क्षेत्र नं. २ (१) बाट निर्वाचित कमल बहादुर शाहले संसदीय दलको नेताको दाबी गर्दै भने, ‘म त निर्वाचनअघि देखि नै मुख्यमन्त्रीको दाबेदार रहेको भन्दै आएको छु । अर्कोकुरा, पार्टीमा सबैको लगानी छ । तर म विद्यार्थी कालदेखि निरन्तर इमानदारिताका साथ लागेको छु । समाजमा योगदान पनि छ मेरो । जुनकारण नेतृत्व लिन सक्छु ।’
संसदीय दलको नेता बन्ने दौडमा रहेका मेघराज खड्काले एक भन्दा बढी आकांक्षी हुनु स्वाभाविक रहेको बताए । पार्टीले मूल्यांकन गरेको अवस्थामा आफूले जिम्मेवारी निर्वाह गर्न सक्ने उनको भनाइ छ । खड्का कांग्रेसका सुदूरपश्चिम महामन्त्री समेत हुन् ।
प्रतिनिधिसभामा आकांक्षी रहेको तर गठबन्धनका शीर्ष नेताले मुख्यमन्त्री बनाउने समझदारी गरेकै कारण प्रदेशसभाको निर्वाचन लडेको र निर्वाचित भएको बताउँछन् दिवानसिंह विष्ट ।
कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा समेत रहेका कैलाली ५ (२)बाट निर्वाचित प्रकाश देउवाको नाम पनि संसदीय दलको नेताको रुपमा चर्चामा छ । उनी भने, गठबन्धनभित्र अझै टुङ्गो नलागेकोले अझै दाबी गर्ने बेला भइनसकेको बताउँछन् । उनले आफूले अझैसम्म कुनै दाबी अगाडि नसारेको सुनाउँछन् ।
होला त आन्तरिक निर्वाचन ?
दलको नेताको लागि २ भन्दा बढी आकांक्षीले दाबी गरेपछि आन्तरिक निर्वाचनमा जाने सम्भावना पनि रहेको बताइन्छ । तर सहमतिबाटै दलको नेता चुन्न पहिलो प्राथमिकता रहने स्रोत बताउँछ ।
५ वर्ष कांग्रेस संसदीय दलका नेता भइसकेका आन्तरिक मामिला तथा कानून मन्त्री डा. रणबहादुर रावलले भने, ‘दलको नेतासहित जिम्मेवारी बाँडफाँटका लागि केन्द्रीय कार्यालयले प्रतिनिधि खटाउँछ । खटिआएका प्रतिनिधिको सहजीकरणमा जिम्मेवारी टुङ्ग्याइन्छ । सहमति नभएको अवस्था आन्तरिक निर्वाचनमा पनि जान सकिने अवस्था रहन्छ । तर त्यहाँसम्म जाँदैन भन्ने लाग्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी