शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारीद्वारा निजी क्षेत्रको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण

बिहीबार, २९ मङ्सिर २०७९, १७ : ४८
बिहीबार, २९ मङ्सिर २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले निजी क्षेत्रको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएकी छिन् । विराटनगरस्थित डिग्री क्याम्पसको मैदानमा आजदेखि सुरु भएको विराट एक्स्पो २०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले निजी क्षेत्रको समस्या समाधान गर्नुपर्ने बताउँदै सरकारको ध्यानाकर्षण गराएकी हुन् । 

उनले औद्योगिक क्षेत्रमा थप लगानी भित्र्याउन तथा परिश्रमी एवं देशप्रेमी उद्योगी, व्यवसायीलाई उत्साहित तुल्याई राख्न सबै पक्षको विशेष ध्यान जान आवश्यक रहेकोमा जोड दिइन् । ‘औद्योगिक क्षेत्रका समस्या पहिचानका लागि पहल गर्न यस क्षेत्रका सम्पूर्ण बुद्धिजीवी व्यवसायीहरूलाई आव्हान गर्दै निजी क्षेत्रका समस्या समाधानमा पहल गर्न सरकारको ध्यान आकृष्ट गर्न चाहन्छु,’ भण्डारीले भनिन् । 

विराटनगर क्षेत्रबाट फेरि एकपटक सम्पूर्ण मुलुकलाई नै ऐतिहासिक सन्देश दिनेगरी उद्योगी व्यवसायीले अग्रसरता लिने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले यसबाट देशको आर्थिक एवम् औद्योगिक क्षेत्रले नयाँ गतिशीलता प्राप्त गर्नेछ भन्ने विश्वास बढेको बताइन् । 

‘यस प्रदेशको राजधानीको रुपमा रहेको विराटनगरले आर्थिक एवम् औद्योगिक विकासमा ठूलो सम्भावना बोकेको छ । मित्रराष्ट्र भारतको बढ्दो आर्थिक विकास र विस्तार हुँदै गएको बजारबाट यस क्षेत्रका उत्पादनहरूले लाभ लिन सक्नेछन्,’ भण्डारीले भनिन्, ‘पछिल्लो समयमा विराटनगरदेखि संखुवासभाको किमाथांकासँग जोड्ने कोशी राजमार्गको निर्माण प्रगति उन्मुख रहेकोले मित्र राष्ट्र चीनको बजारसम्म समेत सोझै जोडिन सक्ने सम्भावनाको नयाँ ढोका खोल्ने देखिन्छ ।

यसबाट समग्र प्रदेश र मुलुकको पर्यटन, कृषि तथा औद्योगिक विकास र विस्तारमा ठूलो योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ । विराट सम्भावना बोकेको विराटनगरले मुलुकको अर्थव्यवस्थालाई स्वाधीन र स्वावलम्बी रुपमा निर्माण गर्ने औद्योगिक क्षेत्रबाट अतुलनीय भूमिका खेल्न सक्दछ ।’

उद्योगहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ सकेसम्म देशभित्रै उत्पादन गराउन किसान एवं उद्योगी बीचको सहकार्य अन्त्यन्तै आवश्यक रहेको भण्डारीको जोड थियो । ‘स्वदेशी उत्पादनको प्रयोग तुलनात्मक लाभका क्षेत्रहरूमा लगानी तथा रोजगारीको सिर्जना गर्ने कार्यहरु एक आपसमा अन्तरसम्बन्धित छ । यसबाट आज मुलुकले भोग्नु परेको चुलिँदो व्यापार घाटाको अवस्थालाई क्रमशः सन्तुलनमा ल्याउन मद्दत पुग्नुको साथै पूँजी र प्रतिभाको पलायन समेत रोक्न सकिन्छ,’ उनले भनिन् । 

भण्डारीले विराटनगरले विगतको पहिचान कायम राख्न संघर्ष गरिरहनु परेको पनि बताएकी छिन् । उनले नेपालको इतिहासमा विराटनगर क्षेत्रको विशिष्ट योगदान एवं सम्मानित पहिचान रहेको उल्लेख पनि गरिन् ।

‘विराटनगरमा उद्योगीहरुले मुलुकको सामाजिक क्षेत्रमा गरेको योगदान समेत सँधै प्रशंसाको विषय रहि आएको छ । यद्यपि केही दशकअघिसम्म देशको प्रमुख औद्योगिक केन्द्र रही राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान गर्दै आएको विराटनगरले पछिल्ला वर्षयता आफ्नो पहिचान कायम राख्न संघर्ष गरिरहेको हामी सबैले अनुभव गरेका छौं,’ उनले भनिन्, ‘महाभारतकालीन राजा विराटसँग समेत सम्बन्धी रहेको यस सहरले नेपाली सभ्यता र संस्कृतिको निर्माणमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्दछ । इतिहासको गौरवलाई कायम राख्दै वर्तमान समयमा विराटनगरको मौलिक पहिचान दर्शाउने प्रतिकात्मक संरचनाको निर्माणको पहल गर्नका लागि म सम्बद्ध सबैको ध्यानाकर्षण गर्न चाहन्छु ।’

भण्डारीले तीन वर्षदेखि कोभिड महामारीका कारण शिथिल हुन पुगेको आर्थिक गतिविधिलाई नयाँ उत्साह प्रदान गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन यस किसिमका प्रदर्शनीले सहयोग पुर्याउने विश्वास पनि व्यक्त गरिन् । 


दक्ष जनशक्ति विकास गर्न शिक्षालयलाई आग्रह

यसैबीच आजै बेलबारीमा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले उद्यमशीलता प्रवर्द्धनका लागि आवश्यक पर्ने दक्ष जनशक्ति विकास गर्नेतर्फ शैक्षिक गतिविधिहरू उन्मुख हुनु पर्नेमा जोड दिएकी छिन् ।  मोरङ बेलबारी–९ बाहुनीस्थित जनता नमुना माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सवको अवसरमा विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् । 

शिक्षाले नै हरेक नागरिकको व्यक्तित्व विकासमा योगदान गर्दै असल, योग्य, सक्षम, प्रतिस्पर्धी र उत्पादनमूलक जनशक्ति तयार गर्ने भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले मुलुकको सर्वाङ्गीण विकासका लागि शिक्षालाई पूर्वाधारको पनि पूर्वाधारका रूपमा लिइने गरिएको बताइन् । 

१ करोड ६० लाख रुपैयाँमा निर्माण भएको प्रशासनिक भवन र २ करोड ४१ लाखमा निर्माण भएको दुई वटा शैक्षिक भवन उद्घाटन गर्न राष्ट्रपति भण्डारी बेलबारीको बाहुनी पुगेकी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप