सडक सवारी : मृत्युको एम्बुस
मङ्सिर २६ गते जाजरकोटमा जिप दुर्घटनामा ११ जना र मङ्सिर २७ गते काभ्रेको बेथानचोकमा बस दुर्घटनामा १८ जनाको ज्यान गएको छ । सोही दुर्घटनामा थुप्रै घाइते भएका छन् । हालैको यस घटनाले सडक सवारी कति जोखिमपूर्ण छ भन्ने थाहा हुन्छ । यस्ता समाचार हामी वर्ष दिनभर सुन्छौ । झन् चाडपर्व दसैँ, तिहार र चुनावी समयमा अत्यधिक दुर्घटना हुने गरेको रेकर्ड छ ।
आम मान्यताअनुसार, कुनै सवारी साधनले अर्को वा सडकमा रहेका अन्य सजीव वा निर्जीव बस्तुलाई ठक्कर दिन्छ र त्यसबाट क्षति, घाइते तथा मृत्यु हुने तीन वटा अवस्थामध्ये कुनै एक वा बढी अवस्था सिर्जना हुन्छ भने त्यसलाई सवारी दुर्घटना भनिन्छ ।
नेपाली बृहत् शब्दकोशका अनुसार ‘कुनै व्यक्ति वा वस्तुको हानी वा क्षति हुने आकस्मिक घटना अर्थात् अपर्झट आइपरेको कष्टपूर्ण अशुभ घटना दुर्घटना हो । काबु बाहिरको घटना कल्पनाभन्दा दूरको अथवा नसोचेको घटना दुर्घटना हो ।’
दुर्घटना आकस्मिक भवितव्य हो । सवारी दुर्घटना हुनका अनेक कारणहरू छन् । सडक सवारी दुर्घटना मानवीय, यान्त्रिक, वातावरणीय, सडकको खराब अवस्थाको कारण लगायतले हुने गरेको छ ।
हाम्रो जस्तो भौगोलिक विकटता भएको मुलुकमा अन्यत्र भन्दा बढी दुर्घटना हुने गरेको छ । सडक अनुशासन पालनामा चालक र यात्रुको लापरबाही पनि दुर्घटना बढ्नुको अर्को कारण हो ।
सडक सवारीका मुख्य चुनौती
स्तरहीन सडक, न्यूनतम अनुगमन बिना नै सवारी सञ्चालनमा अनुमति दिने प्राविधिक । एस्काभेटरले जबरजस्ती प्राविधिक अध्ययन, विश्लेषण र नाप नक्सा बिनै बनेका साँघुरा बाटाहरू । सडक सवारीमा क्षमता र अवस्थै नहेरी सवारी गुडाउन दिने यातायात व्यवस्था विभाग । योग्यतै नपुगेकाहरूलाई लेनदेन आर्थिक प्रलोभनमा लाइसेन्स दिने प्रवृत्ति । समयसीमा नाघेका थोत्रा गाडी । क्षमताभन्दा अत्यधिक धेरै मान्छे चढाउने र आवश्यकताको कारण कोचिएरै भए पनि गाडी नचढी नहुने आम प्रवृत्ति दुर्घटना बढ्नुको मुख्य कारण हुन् ।
त्यस्तै, स्तरहीन सडकमा अपहत्ते गरेर गाडी गुडाउन चाहने सञ्चालक र यात्रुहरू । यातायात सिन्डिकेट, प्राविधिक अडिट नभएको सडक, आपसमा प्रतिस्पर्धा गरेर आँखा चिम्लेर बेगवान गाडी कुदाएर यात्रु तान्ने होड । लामो रुटको यात्रामा पनि एकजना मात्रै चालकले काम चलाउने व्यवस्थापन । सडकलाई आर्थिक उपार्जनको माध्यम बनाउने ट्राफिक प्रहरी । घुम्ती र मोडमा ट्राफिक सङ्केत र सूचनाको अभाव । बाक्लो हुस्सु, कुहिरो, बर्षात, हिउँ, बाढी, पहिरोलगायत थुप्रै मानवीय, यान्त्रिक, प्राविधिक, वातावरणीय, भौगोलिक कारणले दुर्घटना भएको कुरा विभिन्न अध्ययन र अनुसन्धानले पुष्टि गरेका छन् ।
कहिलेकाही दुर्घटनाको कारण तत्क्षण अज्ञात पनि हुन सक्छ । यद्यपि हामी लापरवाहीपूर्वक सवारीसाधन चलाइरहेका हुन्छौ । लापरबाहीले दुर्घटना अवश्यम्भावी छ । यहाँ लापरबाही भन्नाले जुन जुन कुरा सवारी सञ्चालनको लागि वर्जित र कानुनको बर्खिलाप हुन्छ, त्यो सबै हो ।
स्तरहीन सडक, गलत नीति बनाउनेदेखि यान्त्रिक गडबड भएको सवारी साधन, नक्कली लाइसेन्सधारी ड्राइभरदेखि, रकम असुलेर चालकलाई उन्मुक्ति दिने कर्मचारी यी सबै लापरबाहीका कारक हुन् ।
सडक अनुशासन नै सबै समस्याको निराकरण हो । सडक अनुशासनमा जे जे पालना गर्नुपर्ने हो, त्यो पालन गर्न सकियो भने दुर्घटनाको सम्भावना अत्यन्त न्यून रहन्छ । धेरैजसो दुर्घटना राज्यको नियमन निकाय, नियमन पद्धति र नियामक कर्मचारीको कारण भएको छ ।
त्यसैले, सडक दुर्घटना राज्य संरक्षित हत्या र कत्लेआम हो भन्दा फरक पर्दैन । जबाफदेही नभएको राज्यमा सार्वजनिक यातातातको दुर्घटना राज्यले प्रश्रय दिएको अपराध बनेको छ । स्तरहीन सडक निर्माण गर्ने र जस्तो पनि सडकमा जस्तोसुकै कन्डिसनको गाडी अनि जोसुकैलाई ड्राइभिङ लाइसेन्स दिनु राज्यले मानव हत्यालाई उत्प्रेरित गरे झैँ देखिन्छ ।
सडक यात्रा मृत्युको आठौं कारणको रूपमा विश्वमा परिचित छ । मङ्सिर अन्तिम साताका अत्यन्त कहालीलाग्दा दुर्घटना हेर्दा जो सुकैको मन पनि सडक सवारी सम्झिदा झसङ्ग हुन्छ, आङ्ग फुलेर आउँछ । हाम्रा सडकहरू मृत्युका धराप अर्थात् एम्बुस थापेझैँ लाग्छन् ।
ट्राफिक व्यवस्थापन महाशाखाका अनुसार पछिल्लो १० वर्ष २०६८/२०६९ देखि २०७७/२०७८ को अवधिमा नेपालमा सडक दुर्घटनामा परी २१,४७४ जनाले ज्यान गुमाएका छन् । सडक दुर्घटनाका तथ्याङ्कको विश्लेषण गर्दा युद्ध, महामारी, प्राकृतिक प्रकोपभन्दा धेरै मानवीय क्षति सडक दुर्घटनाको कारण भएको छ । अतः यस्ता दुर्घटना र क्षति न्यूनीकरण गर्न राज्यको उदासीनता र मौनता किन ?
सामान्य हवाई दुर्घटनामा संवेदनशील हुने राज्य आफ्नो नागरिकको सबैभन्दा बढी पहुँच हुने सडक सवारीप्रति किन भेदभावपूर्ण नजर राख्छ ? ज्यान एकै तर हवाई दुर्घटना र सडक दुर्घटनामा मृत्यु वरण गर्नेको सवालमा क्षतिपूर्ति रकममा पनि हवाईमार्ग र सडक मार्ग जत्तिकै फराकिलो अन्तर छ । आकाश जमिनकै भिन्नता यो सोचनीय र एकरूपता कायम गर्नुपर्ने अहम् सवाल हो । जिन्दगी उही तर क्षतिपूर्ति रकम फरक किन ?
दुर्घटना न्यूनीकरणका उपाय
ट्राफिक नियमको पूर्ण पालना नै सडक दुर्घटना कम गर्ने मानवीय कारण हुन् । ट्राफिक नियमबारे भरपुर जानकार चालक हुनु र नियमको परिधिभित्र बसेर सवारी चलाउँदा सवारी दुर्घटनाको जोखिम अत्यतै न्यून गर्न सकिन्छ ।
धेरै मान्छेको ज्यान बोकेर हिँड्ने चालकमा आफ्नो दायित्व र जिम्मेवारी धेरै र गुरुत्वपूर्ण छ भन्ने सचेतना भयो भने सवारी यात्रा सहज र भरपर्दो हुन्छ । एक चालक शारीरिक र मानसिक रूपमा स्वस्थ छ भने मात्र उसले चलाउने सवारी पनि दुरुस्त राख्न सक्छ ।
धेरै अध्ययन र अनुसन्धानले देखाएको तथ्य के हो भने चालक तनावरहित हुनुपर्छ, उसलाई तनावरहित बनाउने जिम्मा व्यवस्थापकको भए पनि तनाव दिने माध्यम ट्राफिकको व्यवहार, यात्रुहरूको व्यवहार पनि रहेको देखिन्छ ।
चालकले गल्ती गर्दा पनि उसलाई दण्ड दिने महसुस गराएर हो, थर्काएर, बेइज्जत गराएर होइन । चालक सधैँ तनावरहित, नशालु पदार्थ, अनिद्रा भोक र डररहित अवस्थामा रहनु जरुरी छ । चालकको दिमागमा सुरक्षित यात्रा र ट्राफिक नियमको पालना हरहमेसा गर्ने बानीको विकास गराउनु पर्छ । चालक प्राविधिक रूपमा मात्र हैन, आचरणमा पनि अब्बल हुनु अनिवार्य छ ।
गाडी चलाउने ड्राइभर त हो नि भनेर जो जसलाई पनि लाइसेन्स दिने कुरामा विचार गर्नुपर्ने छ । ड्राइभर पेसालाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउन आचरणको व्यवहारिक परीक्षा पनि पास गर्नुपर्ने अनि सधैँ नियमन गर्ने सरकारी संयन्त्र पनि विकास गर्नुपर्छ । सामाजिक र मनोवैज्ञानिक काउन्सिलिङ पनि चालक र सहचालकको हकमा बारम्बार दिनु सामयिक हुनेछ ।
हाम्रा बाटाहरू, मृत्युका धराप , पासो या एम्बुस जस्तै छन्, यसको जिम्मेवारी खै कसले लिने ? भवितव्य टार्न नसकिएला तर कम गराउन सकिन्छ । मानवीय लापरबाही कम गरेर दुर्घटनालाई घटाउन चालक र राज्य सञ्चालकका विभिन्न निकायमा रहेर कार्य सम्पादन गर्नेको भूमिका ठुलो र महत्त्वपूर्ण रहन्छ । आम नागरिकको पनि भूमिका चासो र सक्रियता उत्तिकै र सधैँ खाँचो पर्ने विषय हो ।
सडक दुर्घटना हुँदा त्यसको जिम्मेवारी लिने उत्तरदायी बन्ने संस्थाको चेन अफ कमाण्ड हुनु पनि अत्यावश्यक हो । चालकले गर्ने लापरबाहीको जबाफ दिने निकाय, सम्बन्धित सडक विभाग जहाँ दुर्घटना हुन्छ, त्यो क्षेत्रको ट्राफिक, यातायात व्यवस्था विभाग, सम्बन्धित अधिकृत, सचिव र मन्त्री सम्मले जबाफदेही हुने अवस्था सिर्जना गर्नु वाञ्छनीय देखिन्छ ।
हालसम्मको अनुभवमा यातायातसँग सम्बन्धित विषयहरूको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन मूल्याङ्कन तथा यातायात क्षेत्रको समग्र व्यवस्थापन गर्ने कार्य त्यति प्रशंसनीय हुन सकेको छैन । सम्बद्ध विभिन्न तालुकदार निकायहरू बीचमा तलदेखि माथिसम्म उचित समन्वय हुन सकेको छैन ।
अधिकारप्राप्त मुख्य संस्थाको रूपमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभाग अझ सक्षम एवं स्रोत, साधनसम्पन्न हुन नसक्नुले संस्थागत कमी कमजोरीहरू प्रष्टै देखिएको यातायात सम्बद्ध अध्येताहरूको निष्कर्ष छ । यसतर्फ सरकारले बेलैमा सोच्नु र योजना तर्जुमा गरेर लागु गराएमा दुर्घटना कम गरी अनाहकमा मान्छे सडक सवारीमा मारिने क्रममा कमी आउँथ्यो ।
चालकको योग्यता
चालक पेसा आफैमा संवेदनशील र धेरै मान्छेको जीवन हत्केलामा बोकेर हिँड्ने धेरै गहन र महत्त्वपूर्ण पेसा हो । सबैभन्दा सम्मानित पेसा पनि हो तर हामी यो पेशालाई हेला होचो गर्छौ । कतिपय यो पेशासँग सम्बद्ध मान्छेले पनि यसको गरिमा गिराएका छन् । सधैँ सम्मानपूर्वक राख्नुपर्ने र मानसिक शारीरिक भावनात्मक सबै किसिमले स्वस्थ मान्छेले गर्नुपर्ने पेसा हो सवारी चालक पेसा । सवारी चालक सधैँ चनाखो, भद्र र शालीन हुनुपर्छ ।
चालक जहिल्यै स्वस्थ रहनु र सवारीसाधन पनि सही हालतमा राख्ने सीप भएको निडर र धैर्य अनेकन् गुण र सामर्थ्यले समृद्ध हुनुपर्छ । यसको अतिरिक्त कुनै पनि लागु पदार्थको दुर्व्यसन नभएको र मादकपदार्थमा आशक्ति राख्ने हुनुहुँदैन । धेरै मान्छेको जीवन एकसाथ लिएर हिँड्ने चालकको धैर्य,संयम र सुझबुझमा सम्भावित दुर्घटना टार्ने ल्याकत हुन्छ । आँखाको ज्योतिसमेत स्पष्ट हुनुपर्दछ ।
विशेषतः सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ४ चालक अनुमतिपत्रसम्बन्धि व्यवस्थाको दफा ४७ बमोजिम हुनुपर्दछ । सवारी चलाउन जानेको छ भनेर सहचालकलाई सवारी चलाउन दिनु हुँदैन ।
नयाँ ठाउँमा पहिलोपटक गाडी लिएर जाँदा पनि त्यहाँको भूगोल, हावापानी सबै जानकारीमा लिनु पर्दछ । कोही यस्ता ठाउँ हुन्छन्, जहाँ पानी पर्ने, हुस्सु लाग्ने र पहिरो जाने सम्भावना जतिसुकै बेला रहन्छ । सडक सवारी दुर्घटनामा मानवीय कमजोरी धेरै भएको थुपै्र अनुसन्धानले देखाएकाले चालक संवेदनशील र धैर्यवान् हुनुपर्छ ।
दुखद पक्ष हवाई दुर्घटना हुँदा तुरुन्तै आयोग बनेर छानबिन हुन्छ तर सडक दुर्घटना मृत्युको एम्बुसझैँ लाग्छ । सरकार नै खासै सरोकार राख्दैन । सरकार संवेदनशील बनोस्, हवाई मार्ग होस् या स्थल मार्ग, जताको यात्रा पनि जोखिमयुक्त हुनु भएन ।
लेखक त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा एमफिल–पिएचडी अनुसन्धाता छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तोलामा १ हजार ५०० रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको कति ?
-
काठमाडौँका ३ स्थानमा प्रदर्शन, १ सय १३ स्थानबाट ट्राफिक डाइभर्सन
-
एमाले जग्गा विवाद : न्यायाधीशद्वय चुडाल र सुवेदीको इजलासमा पेसी
-
क्रेडिट रेटिङको नतिजाले सरकार, निजी क्षेत्र र लगानीकर्तामा उत्साह : अर्थ मन्त्रालय
-
यसरी गर्न सकिन्छ कर्णालीमा सडक दुर्घटना न्यूनीकरण
-
अडानीमाथि लागेको आरोपबारे ह्वाइट हाउसले के भन्यो ?