शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

संसदीय दलको नेता बन्न जसपा सांसदहरुको दौडधुप

बिहीबार, २९ मङ्सिर २०७९, २२ : ०६
बिहीबार, २९ मङ्सिर २०७९

जनता समाजवादी पार्टी नेपालको मधेस प्रदेशमा संसदीय दलको नेता बन्ने दौडधुप सुरु भएको छ । मधेस प्रदेशमा  प्रत्यक्षबाट नौ र समानुपातिकबाट सात गरी जसपासँग १६ सांसद छन् । केन्द्रदेखि प्रदेशसम्म सरकार बनाउने चर्चा सुरु भएपछि संसदीय दलको नेता बन्नका लागि सो पार्टीमा दौडधुप सुरु भएको छ । 

मधेस प्रदेशका मुख्यमन्त्री लालाबाबु राउत, निवर्तमान सभामुख सरोज यादव, मनिष सुमन, रामअशिष यादव, राजकुमार गुप्ता संसदीय दलको नेता बन्ने पहल गरिरहेका छन् । लगभग जसपा नेपाल गठबन्धन सरकारमा सहभागी हुने निश्चित छ । सहमति भयो भने मधेस प्रदेशको सरकारको नेतृत्व नै गर्ने तयारीमा छ जसपा नेपाल ।

लालबाबु राउत मुख्यमन्त्री भएको कारणले अर्को कार्यकालका लागि पनि उसैले दावी गरेको छ । तर यसपटक पार्टी नेतृत्वको पंक्तिको ध्यान राउततिर देखिएको छैन । मुख्यमन्त्री भइसकेको कारण पुनः मन्त्रीमा जाने कुरा हुँदैन । सरकारकै नेतृत्व गर्ने अवस्था आयो भने लालबाबु राउत आफू पुनः दोहारिने तर सरकारमा मात्र जाने अवस्था आयो भने मन्त्री नबन्ने राउतको सोच रहेको छ । 

त्यस अवस्थामा संसदीय दलको नेता बन्न पाए हुन्थ्यो भनि उनले पार्टीमा लविङ सुरु गरेका छन् । उनले सम्मानका लागि भएपनि संसदीय दलको नेता आफूले पाउनु पर्ने भनि पार्टीमा कुरा राख्दै आएको जसपाका एक नेताले बताए । 

मुख्यमन्त्री राउतले अहिले संसद सम्बन्धी थुप्रै काम बाँकी रहेकाले संसदीय दलको नेता को बन्छ को बन्दैन भन्ने बेला नभएको बताए । एउटा पार्टीको प्रदेश सभा सदस्य भएको कारण संसदीय दलको नेतामा स्वभाविक दावी रहने नै छ तर पार्टीमा यसको बारेमा कुनै निर्णय नभएको उनले बताए । राउत यसअघि दुईपटक संसदीय दलको नेता भएर मुख्यमन्त्रीमा कामय थिए । 

त्यस्तै अवस्था छ सरोजकुमार यादवको । सरोजकुमार यादव यसअघि प्रदेश सभा सदस्यको सभामुख थिए । उनी भए मुख्यमन्त्री नभए सभामुखसम्म बन्ने दाउमा छन् । त्यसका लागि उनले केन्द्रमा चलेखेल सुरु गरिसकेका छन् । सभामुख भइसकेकाले उनी मन्त्री बन्ने इच्छा देखाएका छैनन् । भए मुख्यमन्त्री, त्यो नभए सभामुख त्यो पनि नभए संसदीय दलसम्मको नेता बन्ने दाउमा उनी छन् । त्यसका लागि जसापका अध्यक्ष उपेन्द्र यादवलाई भेटेर जानकारी गराई सकेका छन् । 

समानुपातिकबाट प्रदेश सभा सदस्य बनेका मनिष सुमन पनि संसदीय दलको नेता बन्ने दाउमा छन् । उनी यसअघि तत्कालीन राजपामा हुँदा पनि मुख्यमन्त्रीका दावेदार थिए । अहिले उनी जसपाबाट समानुपातिक सांसद बनेका हुन् । 

उनी भन्छन्, ‘संसद बनेपछि संसदीय दलको नेता बन्ने दावी रहन्छ नै तर पार्टीमा अहिले त्यसको बारेमा कुनै चर्चा तथा छलफल छैन, छलफल भएपछि यसमा दावी गर्ने नगर्ने कुरा हुन्छ ।’ पार्टीले प्रदेशमा संसदीय दल नेताको जिम्मेवारी दियो भने त्यसका लागि आफू तयार रहेको तर अहिले पार्टीमा त्यसको कुनै चर्चा पनि नरहेको उने बताए ।

सरकारदेखि संसदसम्म, राष्ट्रपतिदेखि सभामुखसम्म कस्तो संरचना बन्छ त्यसको आधारमा प्रदेशको संरचना बन्ने भएकाले पहिला केन्द्रमा के कस्तो निर्णय हुन्छ त्यसको आधारमा प्रदेशमा तयारी हुने उनले बताए । 

यसअघि जसपाको उपनेता रहेका रामअषिश यादव यसपटक पुनः धनुषाबाट चुनाव जितेका छन् । उनले पनि संसदीय दलको नेतामा दावी गरेका छन् । उनले शीर्ष नेतादेखि अन्य सांसदहरु पनि कुरा गरिसकेका छन् । उनले भने, ‘संसदीय दलको नेतामा मेरो दावी रहन्छ, यसका लागि मैले पार्टीका सांसद तथा नेताहरुसँग कुराकानी समेत गरिसकेको छु ।’ आफूले विगतमा उपनेता भएर प्रदेश सभादेखि लिएर संगठनमा खेलेको भूमिकालाई लिएर पार्टीले संसदीय दलको नेता बनाउनेमा आफू विश्वस्त रहेको बताए । आफ्नो क्षेत्रमा जसपाको संगठन पनि बलियो बनाएको बताउँदै उनले जनकपुरलगायत विभिन्न ठाउँमा स्वच्छताका लागि आफूले खेलेको भूमिकाप्रति सबै सकारात्मक रहेको बताए । 

जसपाबाट मधेश प्रदेशमा प्रत्यक्षबाट लालबाबु राउत (पर्सा), सरोजकुमार यादव (बारा), राजकुमार गुप्ता (सिरहा), रामअशिष यादव (धनुषा), बच्चा राउत अहिर (बारा), सञ्जयकुमार यादव (सर्लाही), सिंहासन साह कलवार (पर्सा) र शेख अबुलकालाम आजाद (रौतहट) चुनाव जितेका छन् । 

त्यस्तै समानुपातिबाट मनिष समुन (सप्तरी), विन्दुकुमारी यादव (सर्लाही), किरणकुमारी साह (सप्तरी), शोभा देवी (रौतहट), ललिता दास (सिरहा), साहिदा खातुन (सिरहा) र ममता देवी मण्डल (धनुषा) चयन भएका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप