बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

बक्यौता तिर्न निजगढ नगरपालिकालाई सकस, नयाँ काम ठप्प

बुधबार, २८ मङ्सिर २०७९, १८ : ४८
बुधबार, २८ मङ्सिर २०७९

निजगढ नगरपालिकाले गत आर्थिक वर्षको बक्यौता रकम भुक्तानी गर्न नसक्दा चालू आर्थिक वर्षमा नयाँ विकास निर्माणको काम ठप्प प्रायः भएको छ । उपभोक्ता समिति मार्फत गत वर्ष सम्पन्न भएका योजनाहरुको २० करोड बक्यौता रकम नगरपालिकाले उपभोक्ता समितिहरुलाई भुक्तानी गर्न बाँकी छ । 

आन्तरिक राजस्व ठप्प भएको र संघीय सरकारले पठाएको चौमासिक रकमले पुरानो बक्यौता तिर्न धौ धौ भएपछि नयाँ योजनाहरु कार्यन्वयनमा समस्या भएको निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले बताए।
 
‘संघीय सरकारबाट चौमासिक किस्तामा आएको रकमले एकमुस्ट रुपमा पुरानो बक्यौता तिर्न सकिएको छैन, विकास निर्माणको लागि नयाँ योजनाहरु शुरु गर्न पनि सकिएको छैन, साह्रै नै अप्ठारो भएको छ हामीलाई,’ नगर प्रमुख पुरीले भने ।

नगरपालिकाले उपभोक्ता समितीहरुलाई तिर्न बाँकी २० करोड मध्ये हालसम्म ५ करोड भुक्तान गरिसकेको छ । आन्तरिक आम्दानीको  मुख्य स्रोतको रुपमा रहेको नदीजन्य पदार्थको ठेक्का बन्द हुनु र जग्गाको कित्ताकाट समेत नखुल्दा रजिष्टेशन शुल्कबाट आउने आन्तरिक राजस्व बन्द भएको नगरपालिकाले जनाएको छ  ।

निजगढ नगरपालिकाले वर्षेनी १३ देखि १६ करोडमा बकैया, धनसार खोला ठेक्का लगाउँदै आएको छ । चुरे उत्खननको विषयलाई लिएर सर्वोच्च अदालतमा रिट दायर भएपछि निजगढ नगरपालिकाले  चालू आर्थिक वर्षको ६ महिना बितिसक्दा पनि खोलोको ठेक्का लगाउन सकेको छैन् ।

 ‘अहिले हामीले कुनैपनि नयाँ योजनाहरु सम्झौता गरेर काम गरेका छैनौ, आन्तरिक आम्दानी पनि नहुने, पुरानो बक्यौता पनि नतिरी नहुने यो अवस्थामा श्रोत बिना काम गर्दा अर्को वर्ष बक्यौता रहने र यो शिलशिला बारम्बार रहँदा काम गर्ने उपभोक्तालाई पनि समस्या पर्ने देखियो’ पुरीले भने,  ‘हामी सकेसम्म आम्दानीको श्रोत नखुलेसम्म नयाँ कार्यक्रम सम्झौता नगर्ने मनस्थितिमा छौ’ ।

निजगढ नगरपालिकाले गत वर्ष  १ अर्ब १० करोडको बजेट सिलिङ तयार गरेको थियो । खातामा रकम नै नभएको र आन्तरिक स्रोतको पहिचान विना नै जथाभाबी रुपमा चुनाव केन्द्रित कार्यक्रम बनाएर बाँड.दा समस्या भएको निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले  बताएका छन् । 

‘विना श्रोत चुनावलाई लक्षित गरेर नगरपालिकाले जथाभाबी कार्यक्रम बाँड्ने र घाटा बजेट तयार गर्दा अहिले समस्या देखिएको हो’ प्रशासकीय प्रमुख धितालले भने, ‘उहाँहरुले यो यो स्रोतबाट यति रकम आउँछ भन्ने हिसाब केही देखिएन’ नगरपालिकाले पुरानो  तिनुपर्ने २० करोड रकम मध्ये एउटै संस्थालाई अधिकतम ७० लाख सम्म भुक्तानी गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ । 

निजगढ नगरपालिकाले गत आर्थिक वर्षमा घाटा बजेट तयार गर्दा समस्या भएको भन्दै यसपटक चालू आवको लागि गत वर्षको तुलनामा १५ करोड बजेट घटाएर ९५ करोडको बजेट सार्वजनिक गरेको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप