आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सविनको ‘हत्या’ भएको दाबी गर्दै तिनपिप्लेमा दिनभर प्रदर्शन

आर्थिक प्रलोभन देखाएर टिप्पर चलाएको स्विकार्न लगाएको चालकको बयान
बुधबार, २८ मङ्सिर २०७९, १८ : ४१
बुधबार, २८ मङ्सिर २०७९

काठमाडौँको तारकेश्वर नगरपालिका–३ स्थित तिनपिप्लेमा ज्यान गुमाएका २१ वर्षीय सविन फुयाँलको ‘हत्या’ भएको दाबी गर्दै स्थानीयले बुधवार दिनभर प्रदर्शन गरेका छन् । टिप्परको ठक्करबाट घाइते भएका सविनको मङ्सिर २५ मा राति मृत्यु भएको थियो । बा ५ ख ६७७९ नम्बरको टिप्परले ठक्कर दिए पनि उनलाई चालक, टिप्पर धनी र बालुवा डिपोका कामदार मिलेर हत्या गरेको पीडित पक्षले आरोप लगाएका छन् ।

मृतक सविनका मामा श्याम गजुरेलले टिप्परको ठक्करपछि नजिकैको बालुवा डिपोमा लगेर सावेलले घाँटी थिचेर भाञ्जाको हत्या भएको रातोपाटीलाई बताए । तिनपिप्पलेमा हत्या अनुसन्धानको माग गर्दै प्रदर्शन गरिरहेका गजुरेलले भने–‘दुर्घटना होइन, भाञ्जाको हत्या भएको हुनाले आरोपीहरूलाई हत्या मुद्दा चलाएर अनुसन्धान गर्नुपर्छ ।’

प्रहरीले टिप्पर धनी विमल बलामी र चालक शिव बलामीलाई पक्राउ गरेको छ । शिव बलामीले आफूलाई आर्थिक प्रलोभन देखाएर दुर्घटना हुँदा टिप्पर चलाएको स्विकार्न बाध्य बनाएको प्रहरीलाई बयान दिएका छन् । दुर्घटना हुँदा टिप्पर धनी विमलले नै टिप्पर चलाएको खुलेको अनुसन्धानमा संलग्न प्रहरी वृत्त बालाजुका एक अधिकृतले रातोपाटीलाई बताए ।

शिवको सो बयानपछि मंगलबार बिहान प्रहरीले विमललाई पक्राउ गरेको हो । विमलले शिवलाई आर्थिक प्रलोभन देखाएर दिएको साढे ३ लाखको चेक भेटिएको छ । मृतकका मामा श्याम गजुरेलले रातोपाटीसँग भने–‘सो चेक प्रहरीले बरामद गरेको छ ।’

काठमाडौँबाट नुवाकोट जाने पासाङ ल्हामु राजमार्ग स्थानीयले दिनभर बन्द गरेर प्रदर्शन गरेका छन् । स्थानीयको प्रदर्शन रोक्न बुधवार जिल्ला प्रहरी परिसर काठमाडौँले डिएसपी रविन विष्टको नेतृत्वमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरेको थियो । प्रहरी वृत्त बालाजुका इन्चार्ज समेत रहेका विष्टले हत्या  अनुसन्धान अगाडी बढाउनुको साटो प्रदर्शनमा बल प्रयोग गर्ने धम्की दिएको स्थानीयहरू बताउँछन् ।

मृतकका दाजु नाता पर्ने जयराम घिमिरे भन्छन्–‘दुर्घटना होइन, नियोजित दुर्घटना गराएर सावेलले घाँटी थिचेर सविनको हत्या भएको छ, यसबारे निष्पक्ष अनुसन्धान हुनुपर्छ ।’

घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौँका जिम्मेवार अधिकारीहरूले ‘अनुसन्धान हुँदै छ’ भन्ने तयारी जवाफ दिएर पन्छिने गरेका छन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले हत्याबारे पनि अनुसन्धान भइरहेको बताए । रातोपाटीसँग कुरा गर्दै प्रजिअ उपाध्यायले भने–‘प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।’

मृतक सविन फुयाँल

७ जनालाई छाड्न माग

हत्यारालाई पक्राउ र कारबाहीको माग गरेर मङ्सिर २६ मा साँझ पीडित पक्षले तिनपिप्ले स्थित प्रहरी कार्यालयमा घेरा हालेका थिए । आक्रोशित समूहले प्रहरीको मोटरसाइकल तोडफोड गरेका छन् ।

तिनपिप्लेमा मोटरसाइकल तोडफोड गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएकाहरूलाई बालाजु वृत्तले अभद्र व्यवहार मुद्दामा थुनामा राखेको छ । तोडफोड र आगजनीको आरोपमा प्रहरीले बाटोमा हिँडिरहेका असम्बन्धितलाई पनि पक्राउ गरेर झुटो मुद्दामा थुनेको स्थानीय सञ्जय अर्यालले बताए ।

पक्राउ पर्नेमा तारकेश्वर–३ घर भएका पवन गजुरेल, सन्तोष अर्याल, प्रकाश फुयाँल, प्रकाश अर्याल, नुवाकोट ककनी गाउँपालिका–३ जल्किनी घर भएका विकाश फुयाँल र राधेश्याम फुयाँल छन् । पक्राउ गरेको ७ जनालाई रिहा नगरेसम्म आन्दोलन नरोक्ने मृतकका मामा श्याम गजुरेलले बताए । उनी भन्छन्–‘विना कारण पक्राउ गरिएका ७ जनालाई रिहा नगरेसम्म शव जिम्मा लिँदैनौँ आन्दोलन पनि रोक्दैनौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप