प्रधानमन्त्री बाहेकका साझा पदहरुमा विपक्षीसँग समझदारी गर्न आवश्यक छः उपमहासचिव रिमाल
नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री बाहेकका साझा पदहरुमा विपक्षी दलसँग समझदारी गरेर अघि बढ्नुपर्ने बताएका छन् । प्रधानमन्त्री अंकगणितबाट निर्धारण हुने भएपनि अन्य साझा पदहरुमा भने विपक्षी दलसँग समझदारी गर्न आवश्यक रहेको उनले बताए ।
उनले संवैधानिक निकायमा नियुक्ति गर्ने कुरामा नेपाली कांग्रेसले सोच्नुपर्ने बताए । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रदेश प्रमुख लगायतका साझा पदहरुमा विपक्षी दलसँग समझदारी गरेर अघि बढेमात्रै राजनीतिमा स्थिरता कायम हुने उनले बताए । उनले गठबन्धनमा रहेका नेता र दलहरुले विपक्षीसँग मिलेर जाने दृष्टिकोण नबनाए राजनीति झनै अस्थिरतामा जाने बताए ।
गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेले सोचेको जति स्थानमा जित हासिल गर्न नसक्नुमा नेकपा एमालेका ३६ जना उम्मेदवारहरुमाथि निर्वाचनमा हराउने क्याम्पियन चलाउनु रहेको उनले बताए । उनले गत निर्वाचनमा ३६ जना नेकपा एमालेका उम्मेदवारहरुमाथि लिस्ट बनाएर नै निर्वाचनमा हराउने क्याम्पियन चलाइएको आरोप लगाए । उनले नेकपा एमालेले निर्वाचनमा ६ प्रतिशत भोट बढाउने भनेपनि ६ प्रतिशत भोट घटेको बताए । उनले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको सिट संख्याको बारेमा चुनावअघि कुनैपनि राजनीतिक कल्पना नै नगरेको बताए ।
उपमहासचिव रिमालले नेकपा एमाले जनादेशको हिसावले देशको ठूलो पार्टी भएपनि अंक गणितका हिसावले ठूलो बन्न नसकेको बताए। रिमालले नेकपा एमाले स्थिरताको पक्षमा रहेको भन्दै स्थिरताका लागि आवश्यक पहल गर्न तयार रहेको बताए । उनले नेपाली कांग्रेस लगायतका दलहरुले पनि स्थिरताको पक्षमा सोच्नुपर्ने बताए। उनले नेकपा एमालेले अहिले नयाँ सरकार बनाउने कुरामा भन्दापनि गठबन्धनको भुमिकालाई नियालीरहेको बताए । उनले एउटा स्थितिमा पुगेर गठबन्धन टुट्ने दाबी गर्दै गठबन्धन भत्किएपछि मात्रै नयाँ विकल्पको कुरा हुने बताए । गठबन्धन कायमै रहँदासम्म नेकपा एमाले रचनात्मक विपक्षीको भुमिकामा रहने उनले बताए ।
न्युज एजेन्सी नेपाल