कर्णाली प्रदेशसभाका १६ समानुपातिक सांसद : को–कस्ता ?
नेकपा (माओवादी केन्द्र)ले समानुपातिक सांसदको नामावली सार्वजनिक गरेसँगै कर्णाली प्रदेश सभाका १६ समानुपातिक सांसदको टुङ्गो लागेको छ । ४० प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा प्रत्यक्षतर्फ २४ र समानुपातिक तर्फ १६ सांसद चुनिने गर्दछन् । प्रत्यक्षतर्फ कुनैपनि महिलालाई उम्मेदवार नबनाएका दलहरुले समानुपातिक कोटाबाट ३३ प्रतिशत महिला सहभागितालाई सुनिश्चित गरेका छन् । १६ समानुपातिक सांसद मध्ये १५ जना महिला छन् भने एक जना मात्र पुरुष रहेका छन् ।
माओवादीले हुम्लाकी जुम्किता लामा कार्की, कालिकोटकी यशोदा न्यौपाने, रुकुम पश्चिमकी मिलन खड्का रोका र डोल्पाकी उर्मिला विकलाई समानुपातिक सांसद बनाएको छ । हुम्ला सर्केगाडकी लामा नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य छन् भने अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को केन्द्रीय सचिवालय सदस्य पनि हुन् ।
उनी यसअघि कुनैपनि निर्वाचनमा भाग लिएकी थिइनन् । ३९ वर्षीया लामाका श्रीमान चन्द्रसिंह कार्की भने पालिका उपाध्यक्ष छन् । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा जुम्किता आफै पालिका उपाध्यक्षमा लड्न चाहेकी थिइन् । तर अन्तिममा आएर श्रीमानलाई उपाध्यक्ष बनाएर आफू पिछडिएको क्षेत्र महिला आदिवासी कलष्टरबाट समानुपातिकको बन्दसूचीमा बसेकी थिइन् ।
कालिकोटकी न्यौपानले पनि पहिलो पटक संसदीय यात्रा तय गरेकी हुन् । पार्टीको केन्द्रीय सदस्य समेत भइसकेकी न्यौपाले वाईसीयलको केन्द्रीय उपाध्यक्ष समेत भइसकेको महिला नेतृ हुन् । जिल्लामा राम्रो प्रभाव राख्ने नेतृमा पर्ने न्यौपाने महिला खस आर्यतर्फबाट समानुपातिक सांसद बनेकी हुन् ।
सोही कोटाबाट सांसद बनेकी रुकुम पश्चिमकी खड्का ०४५ सालदेखिनै विद्यार्थी संगठनमा आवद्ध हुँदै जनयुद्धमा भूमिगत र पूर्णकालीन कार्यकर्ता भएर सहभागी भएकी थिइन् । ०५८ भदौमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको रुकुम जिल्ला अध्यक्ष भइसकेकी उनी ०६४ माघदेखि माओवादीको केन्द्रीय राज्य समिति सदस्यमा पदोन्नति भएकी थिइन् ।
०६८ मा अखिल नेपाल महिला संघ क्रान्तिकारीको केन्द्रीय सदस्य समेत भइसकेकी उनी हाल प्रदेश कमिटी सदस्य रहेकी छन् । साथै केन्द्रीय अनुशासन आयोग सदस्य समेत रहेकी उनी रुकुममा माओवादीभित्र आशालाग्दो महिला नेतृका रुपमा परिचित छन् । प्रत्यक्षतर्फ जम्मा ९ सिट जितेर नेपाली कांग्रेससँग समान हैसियत बनाएको माओवादीले समानुपातिकमा भने ४ सिट प्राप्त गर्दै समग्रमा दोस्रो दलको हैसियत बनाएको छ ।
कांग्रेसबाट सुर्खेतको वीरेन्द्रनगरकी जानकी सिंह (खसआर्य महिला), दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाकी इन्द्राकुमारी शाही (पिछडिएको क्षेत्र), हुम्लाकी बिजया बुढा (खसआर्य), सल्यानकी लक्ष्मी सुनार (दलित) र जनजातिबाट सुर्खेतकी बलिमाया बुढा (आदिबासी जनजाती) समानुपातिक सांसद बनेकी छन् ।
दैलेखकी शाही पार्टीभित्र कांग्रेसको संस्थापन इतर पक्षको प्रतिनिधित्व गर्छिन् । उनी ०७४ सालमै चामुण्डाबिन्द्रासैनी नगरपालिकाको उपमेयरमा लडेकी थिइन् । तथापि एमालेकी तारा शाहीसँग पराजित भएकी थिइन् ।
कांग्रेको केन्द्रीय सदस्य समेत रहेकी सुर्खेतकी जानकी सिंह पनि ०७४ मै वीरेन्द्रनगर नगरपालिकामा ०७४ मा पराजित भएकी थिइन् भने दोस्रो प्रयासमा समानुपातिकबाट संसदको यात्रा तय गरेकी हुन् ।
यस्तै एमालेबाट खसआर्य कोटाबाट कालिकोटकी दक्षिणा शाही, रुकुम पश्चिमकी तुलसा मल्ल, पिछडिएको क्षेत्रबाट हुम्लाका कलबहादुर हमाल, दैलेख आठबीस नगरपालिकाकी गमता विक (दलित) र आदिवासी जनजाति कोटाबाट सुर्खेतकी नन्दा गुरुङ चयन भएका छन् । दैलेखकी विक ०७४ सालको स्थानीय तहको निर्वाचनमा आठबीस नगरपालिकाको उपप्रमुखमा पराजित भएकी थिइन् । सामान्य परिवारबाट भएपनि पश्चिम क्षेत्रबाट संसदको यात्रा तय गर्ने पहिलो दलित महिला हुन्, गोमा ।
यस्तै कालिकोटकी दक्षिणा शाही पनि ०७४ को स्थानीय तहको निर्वाचनमा कालिकोटको पचाल झरना गाउँपालिकामा पराजित भएकी थिइन् । समानुपातिकतर्फका एक मात्र पुरुष कलबहादुर हमाल पिछडिएको क्षेत्रबाट समानुपातिक कोटामा सांसद बनेका हुन् । उनी एमाले हुम्ला जिल्लाका अध्यक्ष समेत हुन् । उनी जनवर्गीय संगठन अखिल नेपाल महिला किसान महासंघको प्रदेश सह–संयोजक समेत हुन् ।
नेकपा (एकीकृत समाजवादी) बाट रुकुम पश्चिमकी कल्याणी खड्का महिला खसआर्य कोटाबाट समानुपातिक सांसद चयन भएकी छन् । समाजवादीको रुकुम जिल्ला कमिटीकी उपाध्यक्ष रहेकी खड्का केन्द्रीय परिषद् सदस्य समेत हुन् । एमाले विभाजन हुनपूर्व ०७४ मा चौरजहारी नगरपालिकाको उपमेयरका एमालेबाट चुनाव लडेकी थिइन् । यद्यपि उनी पराजित भएकी थिइन् । कर्णालीमा प्रदेश सभामा समाजवादीले प्रत्यक्षतर्फ भने कुनै सिट ल्याउन सकेको छैन ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सुर्खेतकी सन्तोषी शाही ठकुरी सांसद बनेकी छन् । राप्रपाको युवा संगठनको केन्द्रीय सदस्य, केन्द्रीय सचिव र सोही संगठनको कर्णाली प्रदेश संयोजकको भूमिका निर्वाह गरिसकेकी युवा नेतृ शाही अहिले राप्रपाको केन्द्रीय सदस्य छन् ।
केन्द्रीय प्रवास विभागको सदस्य सचिव समेत रहेकी उनी खस आर्य कोटाबाट समानुपातिक सांसद बनेकी हुन् । ०७४ मा पनि राप्रापाले समानुपातिक तर्फ १ सिटमा प्रदेश सभामा प्रतिनिधित्व गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेता तथा निर्माता खड्का युकेमा सम्मानित
-
दाल तथा गेडागुडीको अग्रिम कर घट्यो, बजार मूल्य घट्नेमा अन्योल
-
प्रधानमन्त्रीको चीन भ्रमण प्रस्ताव अर्को मन्त्रिपरिषद् बैठकमा
-
प्रहरी ऐन छलफलका लागि विधायन समितिमा पठाउने निर्णय
-
रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याउने तयारी
-
परराष्ट्रमन्त्रीको राणाको चीन भ्रमण स्वीकृत