बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

आन्तरिक आम्दानी ८७ करोड रुपैयाँ गर्ने विराटनगर महानगरपालिकाको लक्ष्य

दर्ता प्रक्रियामा नआएका व्यवसाय दर्ता गर्न ‘डोर टु डोर’ पुग्दै महानगरको टोली
मङ्गलबार, २७ मङ्सिर २०७९, १८ : १६
मङ्गलबार, २७ मङ्सिर २०७९

विराटनगर महानगरपालिकाले महानगरपालिकाको मापदण्ड बमोजिमको आम्दानी गर्न सकेको छैन । महानगरपालिकाको मापदण्ड बमोजिम ५ लाख जनसंख्याका साथै वार्षिक १ अर्ब आन्तरिक आय हुनुपर्ने स्थानीय सरकार संचालन ऐनमा उल्लेख छ । 

तर, विराटनगर महानगरपालिकाका लागि ३ लाख जनसंख्या पनि छैन भने आन्तरिक आय ५० करोड पुर्याउन पनि सकेको छैन । विराटनगरले गत आर्थिक वर्ष २०७८÷७९ मा जम्मा ४९ करोड ७५ लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो । यही कुरालाई लक्षित गर्दै  महानगरपालिकाले आन्तरिक आय बढाउन करको दायरामा नआएका व्यवसाय दर्ता अभियान सुरु गरेको छ । 
दर्ता नगरी सञ्चालन भइरहेका हजारौं साना तथा मझौला व्यवसायीहरुलाई करको दायरामा ल्याउने उद्देश्यले महानगरपालिकाले व्यवसाय तथा करदाता सचेतना अभियान सुरु गरेको जनाएको छ । दर्ता र नवीकरण नगरेका पसल र व्यवसाय सञ्चालकलाई १५ दिनभित्र दर्ता गर्ने गरी पत्र दिइएको छ ।

महानगरले वडा नम्बर ३ र ४ स्थित कोशी राजमार्ग आसपासमा सञ्चालित पसलहरुमा अनुगमन गरेर अभियान आरम्भ गरेको हो । अभियानबाट तीन प्रकारको कर बढ्ने र विगतको आयमा उल्लेख्य सुधार हुने महानगरको अपेक्षा छ । महानगरमा सञ्चालनमा रहेका सबै प्रकारका व्यवसायहरुमध्ये ३० प्रतिशतमात्र दर्ता भएका छन् । त्यसमा पनि धेरैले वर्षौंदेखि नवीकरण गरेका छैनन् । जसले गर्दा वर्षेनी महानगरलाई करोडौं राजश्व प्राप्त हुन सकेको छैन ।
विराटनगर महानगरपालिकामा दर्ता भएका ३० हजार २७६ व्यवसाय मध्ये गत वर्ष ७ हजार ८५४ ले मात्र व्यवसाय कर बुझाएको महानगरपालिकाका राजस्व महाशाखाका प्रमुख सरोज गौतम बताउँछन् ।  

महानगरले ९० दिनसम्मका लागि १० जना स्वयंसेवक नियुक्ति गरी अभियान सुरु गरेको हो । उनीहरुलाई महानगरले दैनिक ७३० रुपैयाँ ज्याला दिनेछ । पहिलो चरणमा विराटनगरको वडा नम्बर १, ३, ४, ५ र १० मा यो अभियान सञ्चालन हुनेछ । प्रत्येक वडामा दुई जना स्वयंसेवकहरुले वडामा सञ्चालित सबै पसलको अनुगमन गरी तथ्यांक लिनुको साथै व्यवसाय दर्ता गराउन पहल गर्ने छन् । अभियानका क्रममा व्यवसाय दर्ता गर्दा १० प्रतिशत छुट दिने अन्यथा पछि पुरै रकम तिर्नुपर्ने व्यवस्था रहेको महानगरपालिकाले जनाएको छ । 

अभियानका क्रममा महानगरले वहाल कर र सम्पत्ति करको अवस्थासमेत अनुगमन गर्नेे छ । गत आर्थिक वर्ष २०७८/७९ मा महानगरले ६ करोड रुपैयाँ मात्र बहाल कर संकलन गरेको थियो । महानगरमा दर्ता भएका ३ हजार ७०८ करदाता वहाल करमा दर्ता भएकोमा गतवर्ष २ हजार ५१७ करदाताले मात्र कर बुझाएका थिए । 

यसै गरी विराटनगर महानगरपालिकामा ७३ हजार ३२७ करदाता सम्पत्ति करमा दर्ता भएकोमा गतवर्ष ३८ हजार ५६९ जनाले सम्पत्ति कर बुझाएको महानगरले जनाएको छ । अनुगमन र कर सचेतना अभियानबाट बक्यौता रकमसहित चालु वर्षमा अनुमान गरेको आम्दानी प्राप्त हुने महानगरको अपेक्षा छ । यसो गर्दा महानगरले चालु आर्थिक वर्षमा ८७ करोड रुपैयाँ आम्दानी हुनसक्ने लक्ष्य लिएको छ ।

‘महानगरको अहिलेको जुन आन्तरिक आम्दानी छ त्यसबाट विराटनगरवासीको इच्छा र चाहना परिपूर्ति गर्न असम्भव छ,’ विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले भने, ‘आन्तरिक राजस्व अभिवृद्धि गरी विकास निर्माणलाई तीव्रता दिन अभियान सञ्चालन गरेका हौं । यो अभियानलाई साथ दिन सम्पूर्ण महानगरवासीलाई आग्रह गर्दछु ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप