बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

किन फुट्यो लैनचौरमा मेलम्ची खानेपानीको पाइप ?

मङ्गलबार, २७ मङ्सिर २०७९, १८ : ०१
मङ्गलबार, २७ मङ्सिर २०७९

सोमबार लैनचौरस्थित खानी तथा भूगर्भ विभाग अगाडिको सडकमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक हिलाम्मे बन्न पुग्यो । सडकमा सवारी र पैदलयात्रुले सास्ती खेप्नुपरेको थियो । खानेपानीको पाइप किन फुट्यो भन्ने हालसम्म पत्ता नलागेको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन इकाइका निर्देशक राजेन्द्र सापकोटाले रातोपाटीलाई जानकारी दिए । 

पाइपमा बाहिरबाट कुनै चिज ठोक्किएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको उनले बताए । गएराति पाइप फुटेको ठाउँ खोलेर हेर्दा पाइपको केही भाग टुक्रिएर उछिट्टिएको अवस्थामा पाइएको उनले बताए । 'सकडमा काम गर्दा एक्साभेटर लगायतबाट पाइपको त्यो ठाउँमा हानियो कि जस्तो लागेको  छ । सुरुमा सानो केही क्षति भएको थियो र पानीको बहाव बढेपछि बिस्तारै त्यसको मात्रा बढ्दै गएर पानी बाहिर आउने अवस्था आएको हो कि भन्ने अनुमान गरेका छौँ । आज बेलुका हामी पाइप फेर्छौ त्यसपछि मात्रै के भएको हो भनेर विस्तृत रुपमा थाहा हुनेछ,’ उनले भने । 

दुई वटा पाइपको जोडिएको ठाउँबाट पानी नचुहिएको र पाइपको बीचभागबाट फुटेकोले त्यसमा सडक निर्माणका क्रममा ठोक्किएर पाइप कमजोर भएको हुनसक्ने उनले बताए । पाइपको जोइन्टबाट पानी ननिस्केकोले पाइप बिछाउने क्रममा त्रुटि नभएको उनले बताए ।

उनले भने–‘यसअघि दुईपटक सोही पाइपबाट पानीको प्रेशर गइसकेकोले पछि  सडक बनाउने क्रममा डुङ्गा वा एक्साभेटरको ठक्कर लागेको हुनुपर्छ । पाइपमा भएको चोट बढ्दै गएर बाहिर सडकमा पानी निस्कने अवस्था आएको हुनुपर्छ ।’ 

काठमाडौंमा अन्य ठाउँका सडकमा पानी चुहिनुको कारण काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पुरानो पानी वितरण प्रणाली रहेको उनले बताए । मेलम्ची खानेपानी आयोजनाको नयाँ पाइपलाइनबाट अन्य क्षेत्रमा भने समस्या नआएको निर्देशक सापकोटाले जानकारी दिए । 

मेलम्ची खानेपानी आयोजनाले काठमाडौंमा झन्डै ८ सय किलोमिटर क्षेत्रमा नयाँ पाइपलाइन बिच्छ्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप