सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

कर्मचारीहरूको सेवा सुविधा बढाउने अवस्था छैनः अध्यक्ष तिमिल्सिना

मङ्गलबार, २७ मङ्सिर २०७९, १६ : २६
मङ्गलबार, २७ मङ्सिर २०७९

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद सचिवालयका कर्मचारीहरुको सेवा सुविधा बढाउने अवस्था नरहेको स्पष्ट पारेका छन् । 

संसद सचिवालयका कर्मचारीहरुले आफ्नो सेवा सुविधा वृद्धि गर्न माग गरिरहेका बेला अध्यक्ष तिमिल्सिनाको यस्तो भनाइ बाहिर आएको हो । संसद सेवा दिवसको अवसर पारेर मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक अवस्थामा सुधार नआई संसद सचिवालयको लागि बजेट बढाउन नमिल्ने स्पष्ट पारे । 

अध्यक्ष तिमिल्सिनाले जनताको आर्थिक अवस्था कमजोर भएको बेला कर्मचारीहरुले आफ्नो सुविधा थप गर्न माग गर्न नहुनेतर्फ पनि सचेत गराए । देशको आर्थिक अवस्थामा सुधार आएपछि ती विषयहरुलाई सम्बोधन गर्न जोड दिने उनले आश्वासन दिए । 

अध्यक्ष तिमिल्सिनाले सांसदहरुको सुविधा बढाउनुपर्ने विषय पनि उठान हुने गरेको उल्लेख गर्दै अहिले त्यस विषयमा ध्यान दिन नसकिने बताए । उनले भने, ‘संसद सचिवालयका कर्मचारीहरुको सेवा, सुविधा बढाउने अहिले पनि कहीँ पनि ठाउँ छैन । अतिरिक्त काम गरेकोमा भत्ता दिऊ, अलिकति बढाऔं भन्यो भने जनता के भएका छन भन्ने आईराखेको अवस्था छ । देशको आर्थिक अवस्था सुधार हुँदै जाँदा ती अपेक्षाहरु पनि पूरा हुने हुन । अन्यथा संसदमा गर्नुपर्ने धेरै खर्च व्यवस्थापन गर्नका लागि, यसले राम्रो काम गर्नका लागि धेरै चिज छ । समितिको तर्फबाट बाहिर फिल्डमा जाँदा सांसदहरुलाई सुविधा बढाउनुपर्ने अवस्था छ । यस्तो स्थितिमा हामी अहिले छौं । त्यसकारण देशको आर्थिक विकास र समृद्धितिर जाँदा मात्रै यी कुारहरुलाई पनि जोड दिन सक्छौं ।’

अध्यक्ष तिमिल्सिनाले संसदको कामकारबाहीबारे वस्तुनिष्ठ समिक्षा गर्दैं अघि बढनुपर्ने आवश्यकता समेत औंल्याए । कार्यक्रममा बोल्दै पूर्वसभामुख तारानाथ रानाभाटले संसद अझै पनि सरकार र कर्मचारीतन्त्रको अपहेलनाबाट मुक्त हुन नसक्दा मुलुकमा प्रजातन्त्र कमजोर हुन पुगेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप