‘पार्टीलाई विधिमा बसाल्ने मामिलामा जुनियर सिनियर मान्दिनँ’
नेकपा माओवादी केन्द्रले बागमती प्रदेशमा २१ सिट पाएको छ । २०७४ सालको चुनावको तुलनामा प्रदेश सभामा पार्टीको सिट सङ्ख्या घटेको छ । प्रदेशको नतिजा सोचे जस्तो आउन नसकेको पार्टीका नेताहरु बताउँछन् ।
यसै सन्दर्भमा प्रदेशको चुनावी नतिजा, पार्टीको भावी योजना र प्रदेशसभामा खेल्ने भूमिकाका विषयमा माओवादीका बागमती प्रदेश अध्यक्ष एवम् सिन्धुपाल्चोक क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा २ बाट निर्वाचित सरल सहयात्री पौडेलसँग रातोपाटीकर्मीले गरेको कुराकानीको सम्पादित अंश:
यस प्रदेशको नतिजा अपेक्षित भयो कि अनपेक्षित ?
यसअघि हाम्रो २३ सिट थियो । अहिले २ सिट घटेर २१ सिट छौँ । अपेक्षा गरे भन्दा बागमती प्रदेशको नतिजा धेरै तल झरेको भन्न मिल्दैन । समानुपातिक मतमा पनि धेरै तल गएका छैनौँ । तर हामी सन्तोषजनक अवस्थामा भने छैनौँ । सहरी क्षेत्रमा निक्कै मेहनत र छलफल गर्नुपर्ने जरुरी छ । हामी यो देशको र्‍याडिकल परिवर्तन गर्ने सोचका साथ अहिले संसदीय अभ्यासमा आइपुगेका छौँ । सामाजिक मनोविज्ञानसहित जल्दाबल्दा समस्याका विषयमा निक्कै मेहनत गर्नुपर्ने छ । यो चुनावमा जनता कम सहभागी भए । कुल ६१ प्रतिशत भनिए पनि कतिपय ठाउँमा ५० प्रतिशत कट्न पनि मुस्किल भयो । गाउँमा हुने जात्रा,पर्व, गुठीको कार्यक्रम भयो भने सबै जम्मा हुन्छन् तर चुनावमा मतदान गर्न आउँदैनन् । चुनावबाट विजयी भए लगतै धन्यवाद ज्ञापन कार्यक्रममा आइपुग्छन् । यो कस्तो खालको मनोविज्ञान हो भन्ने विषयमा बुझ्न जरुरी छ ।
प्रदेश सभामा निर्वाचित भएपछि कुन–कुन क्षेत्रलाई प्राथमिकता दिएर काम गर्ने योजना बनाउनु भएको छ ?
मैले निर्वाचनका बेला गाउँगाउँ गएर हेर्दा शिक्षा, स्वास्थ्य र रोजगारलाई प्रमुख मुद्दा बनाएको पाए । यो जनताको विशेष मुद्दाको रूपमा छ । त्यसैले मैले शिक्षा, स्वास्थ्य र रोजगारलाई मुख्य मुद्दा बनाएको छु । यस प्रदेशमा भएका एक लाखदेखि ५० हजार बच्चा आउँदो केही वर्षहरूमा निजी विद्यालयबाट सरकारी विद्यालयमा प्रवेश गर्ने वातावरण बनाउने योजना बनाएको छु । एउटा विद्यार्थी उत्पादन गर्न राज्यको करिब १५ देखि २० लाख रुपैयाँ लगानी हुँदो रहेछ । त्यसमा अभिभावकको लगानी जोडेको छैन । अब नेताहरूले सरकारी स्कुललाई गाली गरेर मात्रै समस्याको समाधान हुँदैन । आफ्नो थैलीको मुख बलियो गरी नबाँध्ने साथीलाई चोरको आरोप लगाउन मिल्दैन । त्यसैले सामुदायिक विद्यालयको आधारभूत तहबाटै गुणस्तरीय बनाउन लाग्नुपर्छ ।
अहिले गाउँमा यति धेरै विद्यालय छन् । विद्यार्थी तीन, दरबन्दी चार हुने अवस्था छ । प्रत्येक वडामा २ वटा प्लस टु छन् । त्यहाँ विद्यार्थी १०/१२ जना छन् । सङ्काय ७/८ वटा छन् । ती शैक्षिक संस्थालाई केन्द्रीकृत गर्ने निकाय कोही पनि छैन । एउटा पालिकाभरिका विद्यार्थी जम्मा भयो भने ३/४ सय विद्यार्थी हुँदा रहेछन् । प्रदेश र स्थानीय सरकारको समन्वयमा आवाससहितको विद्यालय बनाउँदा राम्रो बनाउन सकिन्छ भन्ने लाग्छ । यस्ता आवाससहितको विद्यालयमा सामाजिक, आर्थिक, राजनीतिक सांस्कृतिक लगायत विषयमा ज्ञान दिने व्यवस्था मिलाउन सकिन्छ कि भन्ने लाग्छ । यस्तो गरेमा शिक्षामा अर्कै खालको वातावरण सिर्जना हुन्छ भन्ने लागेको छ । त्यसपछि अधिकांश अभिभावकले निजी विद्यालयमा छोराछोरी पढाउँदै पढाउँदैन ।
अब प्रदेश र स्थानीय सरकारले बजेट मात्रै हालेर हुँदैन । तलसम्मको मनोविज्ञानदेखि व्यवस्थापन बदल्न जरुरी छन् । यसरी काम गरेमा पाँच वर्षमा शिक्षाको स्वरूप नै बदल्न सकिन्छ ।
यस्तै अहिले भएका स्वास्थ्य क्षेत्रका जनशक्तिको पहिचान गर्न जरुरी छ । स्वास्थ्यमा लगानी कम भएको होइन । स्वास्थ्य संरचना पनि पर्याप्त छन् । अहिले भएका स्वास्थ्य संरचनाबाट घुम्ती स्वास्थ्य सेवा दिन सकिन्छ । पालिकामा बीमाको व्यवस्था गरेमा राम्रो सेवा दिन सकिन्छ । जस्तै भारतीय केजरीवालले एउटा सन्दर्भमा भन्नु भएको छ । एक ठाउँमा भ्रष्टाचार हुन्थ्यो । त्यसलाई कन्ट्रोल गरेँ । त्यसको डेढ अर्ब रुपैयाँ ल्याएर हाल्दा राष्ट्रिय बीमा नि:शुल्क हुँदो रहेछ । अब हामीले यस्ता लिकेजहरु खोजेर स्वास्थ्य बीमा नि:शुल्क बनाउन सकिन्छ । यी विषयमा प्रदेशले कानुन बनाएर स्थानीय तहसँग समन्वय गरेर बीमा नि:शुल्क गर्नेतिर सोच्नु पर्ने छ ।
प्रदेश सभामा निर्वाचित भएपछि मन्त्री वा मुख्यमन्त्रीको दाबी रहन्छ कि रहँदैन ?
हरेक विषयहरू संस्थागत रूपमा हुनुपर्छ । यसभन्दा अघि के–के भयो ? अब के गर्ने हो ? यस विषयमा स्पष्ट रूपमा छलफल गर्नुपर्छ । सातै प्रदेशमा यो खालको समस्या छ ।
प्रदेश सरकारहरूको ठिक ढंगले मूल्याङ्कन गरिएन भने केही हुने छैन । दलको सामूहिकतामा कति रहने भन्ने विषय पनि महत्त्वपूर्ण हुन्छ ।
अब हामीले विधि र व्यवस्थापनलाई प्रधानता दिनुपर्छ । मैले बागमती प्रदेशमा २ वटा कुरामा प्रयास गरेको थिए । समानुपातिकमा यसअघि भएकालाई नदोहोर्याउने प्रस्ताव गरे । पछि कार्यान्वयन पनि भयो । यो निर्णयले केन्द्रलाई समेत आकर्षित गर्‍यो । हामीले एउटै जिल्लालाई नदोहोर्याउने गरी निर्णय गरेका थियौँ । सिनियर जुनियर भन्दापनि एकजना पनि नपर्ने कसैलाई धेरै पर्ने हुनुहुँदैन भन्ने थियो । सबै जिल्लामा एक एक जना पर्ने गरी गर्दा सबै साथीहरू खुसी छन् । कतिपय जिल्लामा जुनियर पर्दा पनि जिल्लाको प्रतिनिधित्व भएको छ । हामी परिवारवादबाट मुक्त भएका छौँ । विधिले हरेक समस्यालाई ठिक ढंगले हल गर्छ ।
मुख्यमन्त्री को हुने ? दलको नेता को हुने ? भन्ने विषयमा विधि निर्माण गर्नुपर्छ । त्यसका लागि २ वटा विधि छन् । एउटा समझदारीको विधि अर्को प्रतिस्पर्धाको विधि हुन सक्छ । अब टीका लगाउने विधिबाट मुक्त हुनुपर्यो । समझदारी गर्दा हामीले नै गरौँ । हामीले जुनजुन पदमा दाबी गर्छौँ त्यसमा समझदारी गरौँ । सबैको एक मत भयो भने त्यहीँ गरेर पठाउनु पर्छ ।
यदि समझदारी भएन भने प्रतिस्पर्धाको विधि तय गरौँ । त्यसै विधिबाट दलको नेता चयन हुनुपर्छ । चुनावी परिणामबाट जस्तो नतिजा दिन्छ त्यो स्वीकार गर्न तयार छु । आजको सन्दर्भमा एउटा विधि र प्रणाली सहितको दलको नेता चयन हुनुपर्छ । म बागमती प्रदेशको अध्यक्षको हैसियतले सबैलाई विधिमा लग्ने प्रयत्न गरेको छु । बागमती प्रदेशमा माओवादीको ऊर्जालाई कायम गरेर भोलिका लागि पार्टीलाई जागृत गर्नुको साथै पार्टी र आमजनतालाई सन्देश दिन चाहन्छु ।
मैले अहिले दलको प्रमुख मात्रै दाबी गरेको छु । दलको प्रमुखको धेरै भ्यालु छ । दलको नेता हुँदा बित्तिकै मुख्यमन्त्री हुने कुरा उठाइन्छ । त्यो होइन । दलको प्रमुख हुँदा बित्तिकै महिना महिनामा बैठक राख्न सकिन्छ । प्रदेश सरकार, सांसद र मन्त्रीको राम्रो समीक्षा गर्न सकिन्छ । कुन सांसद र मन्त्रीले राम्रो काम गरेको छ कि छैन भन्ने विषयमा कन्ट्रोल गर्न सकिन्छ । दलको नेता हुनु भनेको नीतिगत नेतृत्व लिनु हो । मुख्यमन्त्री हुनुभन्दा पहिला नीतिगत र विधिगत ऊर्जा दिनका निम्ति दलको नेता दाबी गरेको हुँ । खास यो पद सेरिमोनियल हो । तर महत्त्वपूर्ण हो । त्यस रोड म्यापमा मात्रै मुख्यमन्त्री खडा हुने ।
दलको नेता हुने बित्तिकै मुख्यमन्त्री हुन्छ भन्ने छैन । गठबन्धन बनाएर मात्रै सरकार बनाउने अवस्था छ । यो बागमती प्रदेशलाई कस्तो बनाउने ? जनताले अभिमत दिई सकेका छन् । अब मैले मुख्यमन्त्री नपाएका कारण गर्न सकिनँ भनेर जनतालाई लाचार जवाफ दिन मिल्दै मिल्दैनँ ।
यदि तपाईंले दलको नेता दाबी गर्दा सालिकराम जमरकट्टेल लगायत अरू शीर्ष नेताहरू समेत चिढिनु होला नि ?
यदि मैले दलको नेता दाबी गर्दा चिढिनु भयो भने उहाँहरु नेता हुनु भएन । कुनै सिनियर नेता विधिमा जाऔँ भन्दा चिढिनुहुन्छ भने उहाँहरूको व्यक्तिगत समस्या हो । पार्टीमा विधि बसाल्नुपर्छ भन्नु पार्टीको सम्पत्ति हो । पार्टीमा विधिबाट जाँदा जुनियर सिनियर भन्ने हुँदैन । मेरो जेनेरेसनको जसजसको नाम लिनुभयो । मेरो जेनेरेसनको इतिहास, आजको प्रतिस्पर्धा, आजको पोजिसन, र मेरो निरन्तरताले म कोहीसँग जुनियर होइन । मेरो पार्टीको पोजिसनका हिसाबले सिनियरलाई सिनियर मान्छु । जुनियरलाई जुनियर मान्छु । मेरो समकालीनलाई समकालीन मानेर जान्छु । पार्टीलाई विधिमा बसाल्ने मामिलामा जुनियर सिनियर मान्दिनँ । यसले लोकतन्त्रमा नयाँ पुस्तालाई जहाँ पुग्ने मार्ग हुन्छ त्यसलाई अवरुद्ध गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रले आज कीर्तिपुरको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने
-
वीरगन्जबाट पोखरा जाँदै गरेको बस दुर्घटना, १७ जना घाइते
-
एमालेको जागरणसभाका लागि र्याली सुरू (तस्बिरहरू)
-
प्रधानमन्त्रीले सडकमा शक्ति देखाउनु लोकतन्त्रको मर्म होइन : गणेश कार्की
-
स्थानीय तहको उपनिर्वाचनमा जनमतले १६ सिटमध्ये कतिमा मार्ला बाजी ?
-
मोदी र जयशंकरविरुद्ध कुनै प्रमाण छैन : क्यानडा