पाल्पामा कीर्ते नागरिकता प्रकरणः बाबु भनिएकासँग डीएनए रिपोर्ट म्याच भएन

बागलुङका एक युवकले झुटो विवरण दिएर पाल्पाबाट नागरिकता बनाएको विषय सार्वजनिक भएको करिब दुई वर्षपछि छानबिन अन्तिम चरणमा पुगेको छ । गलकोट नगरपालिका वडा नम्बर ८ पचुवाका २३ वर्षीय धनबहादुर कंडेलले झुटो विवरण दिएर वि.सं. २०७२ साल पुस २० गते जिल्ला प्रशासन कार्यालय पाल्पाबाट नागरिकता बनाएको आरोप लागेको थियो ।
यो विषय ०७८ साल पुस महिनामा सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय पाल्पाले अनुसन्धान थालेका थिए । अनुसन्धान सुरु भएपछि कंडेललाई ०७८ साल चैत महिनामा पाल्पा प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको थियो । अदालतमा मुद्दा चलेको करिब ५ महिनापछि कंडेल १ लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।
पाल्पाको रामपुर नगरपालिका १४ निवासी ४९ वर्षीय पिताम्बर अधिकारीको छोरा बनेर कंडेलले नागरिकता बनाएका थिए । उनको असली बुबा भने स्वर्गीय मानबहादुर कंडेल हुन् । धनबहादुरले नयाँ नाम विजय अधिकारी कायम गरी पाल्पाबाट नागरिता बनाएका थिए ।
नागरिकता छानबिनको क्रममा पाल्पा प्रहरीले डीएनए परीक्षण गर्न धनबहादुर कंडेल र पिताम्बर अधिकारीको रगत संकलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाएको थियो । डीएनएको नतिजा अनुसार धनबहादुर पिताम्बरको छोरो नभएको पुष्टि भएको छ । विधि विज्ञान प्रयोगशालाले पाल्पा प्रहरीलाई पठाएको उक्त रिपोर्ट प्रहरीले सरकारी वकिलको कार्यालय पाल्पामार्फत जिल्ला अदालत पाल्पामा पेस गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी वीरेन्द्र थापाका अनुसार उक्त रिपोर्ट सरकारी वकिलको कार्यालयमा पेस गरिएको थियो । सरकारी वकिलको कार्यालयले अदालत पेस गरेको छ ।
भाइ कृष्णले आफ्नो सम्पत्ति हड्पने प्रयास स्वरुप गुपचुप रुपमा धनबहादुर पिताम्बरको छोरा हो भनेर प्रशासनमा नागरिकताको सनाखत गरिदिएको बताउँदै आएका छन् । कृष्णले नै अंश मुद्दा हालेपछि वास्तविकता बाहिरिएको पनि उनको भनाइ छ । नागरिकता विवाद सुरु भएपछि कृष्ण अधिकारीले भने आफ्ना दाजु पिताम्बरले धनबहादुरलाई धर्म छोरो बनाएर ल्याएकाले आफूले नागरिकता बनाइदिएको दाबी गर्दै आएका छन् ।
यसअघि ०७८ साल पुस २२ गते बाग्लुङको गल्कोटस्थित घरमा धनबहादुरका दुइ दाजुहरु हिरा कंडेल र सन्तोष कंडेलले आफ्नो बुवाको निधनको बेला १० वर्षअघि धनबहादुर किरिया गर्न आएको र त्यसपछि सम्पर्कमा नआएको बताएका थिए । कंडलेका बुवा मान बहादुरको १० वर्षअघि भारतमै मृत्यु भएको भएपनि आमा भने सकुशल छिन् ।
०७२ सालमा झुटो विवरण दिएर कागजात तयारी गरी नागरिकताको सनाखत गराइदिने कृष्ण अधिकारीमाथि भने अझैसम्म कुनै अनुसन्धान भएको छैन । झुटो विवरण दिन सहयोग गरेका तत्कालिन गाविस सचिवको मृत्यु भइसेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाका तत्कालीन प्रशासकीय अधिकृत ताराप्रसाद घिमिरेले हस्ताक्षर गरी नागरिकता जारी गरेका छन् ।
नागरिकता बनाएको ७ वर्ष र घटना बाहिरिएको २ वर्ष पुग्नलाग्दा छानबिन अन्तिम चरणमा पुगेको छ । यसबारे अन्तिम फैसला अदालतले गर्नेछ । डीएनएको रिर्पोट अदालत स्रोतले पीडित पक्षलाई उपलब्ध गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रविधि भित्रियो, व्यवस्थापन शून्य
-
बेल्जियमका लागि नेपाली राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
रास्वपा नेतृ ज्वाला सङ्ग्रौलाविरुद्ध अवहेलना मुद्दा
-
एसियन हाइवे विस्तारले जग्गाधनीको बिल्लीबाठ
-
हावाहुरीका कारण कर्णालीमा विद्युत् सेवा अवरुद्ध
-
महावीरको मार्गदर्शन परिपालन गर्न सकेमा राष्ट्रिय एकता सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति