शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

तारकेश्वरमा एक युवकको रहस्यमय मृत्यु, टिप्परको ठक्करपछि घाँटी थिचेर हत्याको आरोप

मङ्गलबार, २७ मङ्सिर २०७९, ११ : ०५
मङ्गलबार, २७ मङ्सिर २०७९

काठमाडौंको तारकेश्वर नगरपालिका–३ स्थित तीनपिप्लेमा एक युवकको रहस्यमय मृत्यु भएको छ । २१ वर्षीय सविन फुयाँलको टिप्परको ठक्करबाट मृत्यु भएको भनिए पनि हत्या भएको परिवारले आरोप लगाएका छन् । 

फुयाँललाई मंसिर २५ मा राति बा ५ ख ६७७९ नम्बरको टिप्परले ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार फुयाँल टिप्परको ठक्‍करबाट घाइते भएपछि चालक र अन्य मानिसहरु मिलेर हत्या गरेको पीडित पक्षको आरोप छ । मृतकका दाजु नाता पर्ने जयराम घिमिरेले दुर्घटनापछि बालुवा लोड गर्न प्रयोग गरिने सावेलले घाँटी थिचेर फुयाँलको हत्या गरिएको दाबी गरेका छन् । रातोपाटीसँग कुरा गर्दै उनले भने–‘सावेलको प्रयोग गरेर घाँटीमा प्रेसर दिएर हत्या भएको छ ।’

हत्यारालाई पक्राउ र कारबाहीको माग गरेर सोमबार साँझ पीडित पक्षले तीनपिप्ले स्थित प्रहरी कार्यालयमा घेरा हालेका थिए । आक्रोशित समूहले प्रहरीको मोटरसाइकल तोडफोड गरेका छन् । प्रहरी वृत बालाजुले हत्यामा संलग्न आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिव बलामी र बिमल बलामी छन् । शिव बलामीले आफूलाई टिप्पर धनीले १५ लाख नगद दिने लोभ देखाएर हत्या स्विकार्न बाध्य बनाएको प्रहरीलाई बयान दिएका छन् ।

शिवको सो बयानपछि मंगलबार बिहान प्रहरीले बिमललाई पक्राउ गरेको हो । बिमल बलामी टिप्परका धनि हुन् । बिमलले नै टिप्पर चलाएको र घाइते बनाएपछि आसपासमा डिपोमा काम गर्नेहरुलाई समेत बोलाएर फुँयालको हत्या गरेको आरोप छ ।

तीनपिप्ले स्थित चिसापानीमा भएको सो घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले केही बताएको छैन । परिसरका प्रवक्ता (एसपी) दिनेश मैनालीलाई घटनाबारे बुझ्न खोज्दा उनि सम्पर्कमा आउन चाहेनन् । बालाजुका डिएसपी रविन विष्ट पनि सम्पर्कमा आउन चाहेका छैनन् ।

दुर्घटनापछि हत्या भएकोबारे अनुसन्धान गर्नुपर्नेमा प्रहरीले दुर्घटना मुद्दा चलाउने प्रयास गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप