मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

राप्रपा पार्टी कार्यालयमा कार्यकर्ताले किन लगाए ताला ?

सोमबार, २६ मङ्सिर २०७९, १८ : २२
सोमबार, २६ मङ्सिर २०७९

गण्डकी प्रदेशको समानुपातिक सांसद चयनमा असन्तुष्टि जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यकर्ताले प्रदेश र जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । कास्कीबाट सांसद चयन नगरिएको भन्दै पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् । राप्रपाले समानुपातिकतर्फ गण्डकी प्रदेशसभामा २ सिट पाएको छ । केन्द्रीय बैठकले शनिबार बेलुका २ सांसदको नाम टुंगो लागेसँगै विवाद चर्किएको हो ।  

राप्रपा कास्की अध्यक्ष नारायण गुरुङले कास्कीका असन्तुष्ट पक्षले आइतबार तालाबन्दी गरेको गरेका सुनाए । उनले भने, ‘तालाबन्दीसँगै उहाँहरुले आफ्नो मागहरु राख्नुभएको छ । समानुपातिकको सूची सच्याउनुपर्ने उहाँहरूको माग छ । नेताहरूले यसलाई सम्बोधन गर्नुहोला ।’

०७४ को निर्वाचनमा नील भएको राप्रपाले यसपटक ६० हजार नजिक मत ल्याउँदै २ सिट पायो । तर, सांसद चयनमा कास्कीका उम्मेदवार नपरेपछि विरोध गरिएको एक नेताले बताए । ‘दुख गर्ने हामी । पहुँचको आधारमा नेताले समानुपातिकमा छनोट गर्दै सिफारिस गरेपछि विरोध गरेका हौं । यदि हाम्रो माग सम्बोधन नभए आउने सांसदलाई वहिस्कार गर्छाैं,’ ती नेताले भने । 

राप्रपा केन्द्रले स्याङ्जाका पञ्चराम गुरूङ र लमजुङकी बिन्दु पहाडीलाई प्रदेश सांसदमा चयन गरेर निर्वाचन आयोगमा नाम पठाइसकेको छ । कास्कीसँगै नवलपुरबाट पनि सांसद नपरेको भन्दै विरोध भइरहेको छ । राप्रपाले गण्डकीमा पाएको ६०  हजार मत मध्ये कास्की र नवलपुरबाट सबैभन्दा बढी मत पाएको छ । तर, समानुपातिक चयनमा सबैभन्दा कम मत पाउने जिल्लाबाट चयन गरिएपछि विरोध भएको अध्यक्ष गुरुङले बताए । 
गुरुङका अनुसार राप्रपालाई समानुपातिकमा कास्कीबाट करिब १७ हजार र नवलपुरबाट १८ हजार आएका छ । सांसद चयनमा भने २ हजार आसपासको मत ल्याउने स्याङ्जाका पञ्चराम गुरुङ र लमजुङबाट बिन्दु पहाडी चयन भएका हुन् ।  

पञ्चराम गुरुङ राप्रपाका मनोनीत उपाध्यक्ष हेमजंग गुरुङका भान्जा हुन् । उपाध्यक्ष मनोनीत हुनु अगाडि हेमजंग गण्डकीका अध्यक्ष थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप