एजेन्ट तोकेर फुटबलको सट्टेबाजी, ‘जटिल’ भन्दै पन्छिँदै प्रहरी
कतारमा जारी विश्वकप फुटबल खेलमा कसले जित्छ, हार्छ वा बराबरीमा सकिन्छ भन्नेबारे ‘बाजी’ चलिरहेको छ । काठमाडौं उपत्यकामा करोडौं हारजित हुनेगरी त्यस्ता बाजी चल्ने गरेको तथ्य ‘ओपन सेक्रेट’ नै छ । तर, त्यसबारे प्रहरीले अनुसन्धान गरेको छैन ।
कतार विश्वकप सुरु भएपछि काठमाडौंमा सट्टेबाजी गराएको आरोपमा जम्मा दुई जना पक्राउ परेका छन् । आइतबार पाल्पाको रैनादेवी छहरा–४ घर भएर बूढानीलकण्ठ बस्ने रुद्र प्रसाद पोखरेल र भारत राजस्थानका पवन कुमार शर्मालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।
उनीहरुले ‘डायमण्ड एक्स’ नामक एप्सको प्रयोग गरेर अनलाइनमार्फत बेटिङ ‘सट्टेबाजी’ गराएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । काठमाडौंको नरदेवी बस्दै आएका ३२ वर्षीय पवन सट्टेबाजी धन्दाका ‘पटके’ हुन् । उनलाई यसअघि पनि पक्राउ गरेर मुद्दा चलाइएको एसपी कोइरालाले जानकारी दिए ।
शर्मा २०७८ वैशाख १२ मा पनि पक्राउ परेका थिए । इन्डियन प्रिमियर लिग (आइपिएल)मा लाखौं हारजित हुने गरी सट्टेबाजी गराएको आरोपमा प्रहरी त्यतिबेला उनलाई मुद्दा चलाएको थियो । पछि उनी धरौटीमा रिहा भएका थिए ।
मंसिर १ मा केन्द्रीय अनुसन्धान ब्यूरोले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानबाट ४४ जनालाई पक्राउ गरेको थियो । पक्राउ गरिएका मध्ये १५ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले मुद्दा चलायो । अरु, जिम्मा जमानिमा रिहा भए ।
विश्वकप फुटबल, आइपिएल, कोपा अमेरिका फुटवल र युरोकप फुटबल जस्ता प्रतियोगितामा ‘वानएक्स बेट’ नामक कम्पनीको एप मार्फत सट्टेबाजी हुने गरेको छ । कतार विश्वकप–२०७९ मा पनि सो एप मार्फत खुलेआम सट्टेबजी भइरहेको जानकारहरु बताउँछन् ।
वानएक्स बेट, डायमण्ड एक्स र वेट–३६५ जस्ता कम्पनीहरुले एजेन्ट तोकेर बेटिङ गराएको कुरा ‘ओपन सेक्रेट’ छ । ती कम्पनीहरुले हारजितको रकम ई–सेवा, खल्ती र कनेक्ट आईपिएस लगायतका आर्थिक कारोबार गर्ने एपमार्फत भुक्तानी गरिरहेका छन् । तर, जम्मा दुईजना आरोपीलाई पक्राउ गरेर प्रहरी चुपचाप बसेको छ ।
अनलाइन बेटिङबारे अनुसन्धान जटिल हुने बताउँछन्, उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कोइराला । एसपी कोइरालाले रातोपाटीसँग भने, ‘कुनै ठाउँमा बसेर मोबाइलमार्फत सट्टेबाजी हुन्छ, भुक्तानी समेत अनलाइनमार्फत हुने हुनाले सो लिंकमा छिरेर अनुसन्धान गर्न त्यति सहज छैन ।’
कतारमा जारी विश्वकप फुटबलको मंगलबार रातिबाट सेमिफाइनलका खेलहरू हुँदैछन् । फाइनल खेल पुस ३ मा हुन्छ । सेमिफाइनल र फाइनल खेलमा झन् धेरै रकमको सट्टेबाजी हुने जानकारहरु बताउँछन् । सट्टेबाजी गराउनेहरूलाई प्रहरीले जुवा ऐन अन्तर्गत सट्टेबाजी गर्न नहुने कसुरमा मुद्दा चलाउने गरेको छ ।
दुई वर्षमा ४५ विरुद्ध मुद्दा
मंसिर १ मा पक्राउ गरिएका १५ जना विरुद्ध नेपाल र युएईबीचको क्रिकेटमा अनलाइन मार्फत सट्टेबाजी गराएको आरोप प्रहरीको छ । सो गिरोहका मुख्य नाइके भने पक्राउ परेनन् ।
२०७८ वैशाखमा इन्डियन प्रिमियर लिगमा हारजित हुने गरी सट्टेबाजी गराएको आरोपमा १२ जना पक्राउ परेका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयले त्यसबेला अशोक सिंह, पवन कुमार शर्मा, सूचित अग्रवाल, मुकेश जैसवाल, सुशिल जेष्ठा, बिक्रम कुमार, अंकित कुमार कलवार, राहुल कुमार जैसवाल, सन्दिप कुमार मण्डल, राजु थापा र सन्तोष खतिवडा लाई पक्रेर मुद्दा चलाएको थियो ।
२०७८ माघमा पनि सट्टेबाजीको आरोपमा प्रहरीले कीर्तिपुरबाट १२ जना पक्राउ गरेको थियो । त्यसबेला पक्राउ पर्नेमा सुजेन्द्र थापा, मनिष थापा, समिर थापा, कविता थापा, रमादेवी श्रेष्ठ, बुद्ध महर्जन, हनिसा महर्जन, रोजा महर्जन, साहिल महर्जन, रविन खड्का, प्रदीप मानसिंह बस्नेत र बिनोद ठगुन्ना थिए । अनुसन्धान अधिकृतहरुका अनुसार उनीहरुले एउटै गुगल आइडी प्रयोग गरेर युजर र पासवर्ड राखेर जुवा खेलाएका थिए ।
२०७८ असारमा कोपा अमेरिका–२०२१ र युरो कप–२०२० मा सट्टेबाजी गराएको आरोपमा काठमाडौंबाट ५ जना पक्राउ परे । ढोकाटोलमा बस्दै आएका जिवन लामा, राजेन्द्र श्रेष्ठ प्रधान, गोविन्द प्रसाद आचार्य, अशोक कुमार गुप्ता र सुरज कुमार टिवडेवालालाई पक्रेर प्रहरीले मुद्दा चलाएको थियो । पछिल्लो दुई वर्षमा काठमाडौं उपत्यकामा प्रहरीले ४५ जना भन्दा बढीलाई पक्रेर मुद्दा चलाएको छ ।
सट्टेबाजीको अनुसन्धान शून्य जस्तै छ । दैनिक सट्टेबाजी भइरहे पनि प्रहरी ‘अनुसन्धान जटिल छ’ भनेर पन्छिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमननाथ ढुंगानाले शान्ति सम्झौता र संविधान सभाको वातावरण बनाउन अविस्मरणीय योगदान गर्नुभयो : अध्यक्ष प्रचण्ड
-
कोशी नाम लेख्ने कार्यालय प्रमुखलाई कारबाही गर्ने घोषणा
-
रुसी सेनामा कार्यरत माओवादी पूर्वलडाकुको अनुभव : त्यो लडाइँ र यो लडाइँ !
-
प्रदूषणबाट बच्न चाहनु हुन्छ ? अपनाउनुस् यी उपाय
-
नेपाल र बङ्गलादेशबिच जलवायुका विषयमा सहकार्यको महत्त्व छ : मन्त्री शाही
-
प्रतिजैविक प्रतिरोधका कारण बर्सेनि करिब ७ लाख जनाको मृत्यु