आइतबार, १८ कात्तिक २०८१
ताजा लोकप्रिय

‘नाति जर्नेल’को समानुपातिक सफर !

सोमबार, २६ मङ्सिर २०७९, १६ : ०६
सोमबार, २६ मङ्सिर २०७९

ठीक एक वर्षअघि अर्थात् मंसिर दोस्रो साता राप्रपाको एकता महाधिवेशन हुँदा नेतृत्व परिवर्तनको राप चर्को थियो । नयाँ नेतृत्वको पक्षमा पुराना पुस्ताका डा प्रकाशचन्द्र लोहनीसहितका शीर्ष नेताहरु राजेन्द्र लिङ्देनको पक्षमा हुँदा तत्कालीन अध्यक्षसमेत रहेका पशुपति शमशेर राणा लामो समयसम्म कहीँकतै खुलेनन् । 

महाधिवेशनको अन्तिम घडीमा भने राणाले हस्तलिखित कागजमा एक विज्ञप्ति लेखे– कुनै कुतत्वले मैले राजेन्द्र्र लिङ्देनको पक्षमा अपील गरेको भनेर कीर्ते पोस्ट गरेको देखेँ । यो सरासर झूट कुरा हो । यसको कडा खण्डन गर्दै म काँचो नेतृत्वको पक्षमा नरहेको प्रष्ट पार्न चाहन्छु ।’

यसरी उनी राजेन्द्र लिङ्देनतिर नखुलेपनि लिङ्देनका प्रतिद्वन्द्वी कमल थापा पराजित भए । लिङ्देनले जितेपछि भने उनले नयाँ नेतृत्वलाई स्वीकार्न तयार भए । 

अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरका नाति पशुपति शमशेर सम्भ्रान्त परिवारबाट आएका हुन् भने व्यवस्था परिवर्तनसँगै आफूलाई पनि त्यहीअनुसार बदल्दै आएका छन् ।  पञ्चायत ढलेपछि प्रजातन्त्रको स्वीकार, शाही शासन ढलेपछि गणतन्त्र स्वीकार र पार्टीकै नेतृत्व परिवर्तन हुँदा नयाँ नेतृत्वको समेत स्वीकार उनका प्रवृत्तिगत विशेषता हुन् । 

उनलाई चिन्नेहरु राणा परिवारबाट राजनीतिमा आएका पशुपति समयको परिवर्तनसँगै आफूलाई सोही गतिमा ढाल्ने नेता रहेको बताउँछन् ।

‘जन्मिँदै नाति जर्नेलको उपाधि’ पाएका राणा यतिबेला समानुपातिक कोटाको सहारामा संसद छिर्न सफल भएका छन् । उनको समानुपातिक यात्रालाई कतिपयले एकसाथ व्यङ्ग र कटाक्ष गर्दैै समानुपातिकको औचित्य र महत्वमाथि प्रश्न उठाएको समेत पाइन्छ । 

‘राणा परिवारजस्तो पिछडिएको परिवारमा जन्मिएर त्यही परिवारको प्रतिनिधित्व गर्दै एकजना पात्र सांसद पदमा पुग्नु हाम्रो लोकतान्त्रिक गणतन्त्रको गज्जव उपलब्धि हो’, व्यङ्ग्यको वर्षासहित वामपन्थी साहित्यकार रसुवाली कविको भनाइले भने सोचनीय बनाउँछ ।

हुन पनि तत्कालीन श्री ३ महाराज मोहन शमशेर जबराका नाति हुन् पशुपति शमशेर जबरा । उनले जन्मिनासाथ जर्नेलको दर्जा पाएका थिए भने राणा शासन नढलेको भए उनी  श्री ३ महाराजको दावेदार थिए । २००७ सालमा राणा शासन ढलेपछि पनि उनलाई अवसरको कुनै कमी भएन । विजयवासमा राजशी शैलीमा जीवन बिताइरहेका उनलाई अहिले पनि कतिले ‘नाति जर्नेल’को नामबाटै सम्बोधन गर्छन् ।

पञ्चायतदेखि बहुदल र गणतन्त्रसम्म राजनीतिमै रहेका उनी आफ्नो जीवनकालमा मन्त्री, सांसदमात्रै भएनन्, पार्टीको नेतृत्वमा पनि रहिसकेका छन् ।

अथाह सम्पत्ति र जीवनभर राजनीतिक लाभ लिएका उनै राणा अहिले समानुपातिकको हाँगा समातेर प्रतिनिधिसभामा जान लागेका हुन् । शनिबार राप्रपाले प्रतिनिधिसभाका लागि निर्वाचन आयोगमा ७ जना सांसदको नाम सिफारिस गर्दा राणाको नाम पनि सिफारिस गरेको हो ।

 सिन्धुपाल्चोकबाट चुनाव लड्दै आएपनि हारको ह्याट्रिक गरिसकेका राणा यो पटक भने उमेरको कारण देखाउँदै उम्मेदवार हुन चाहेनन्, बरु समानुपातिकतर्फ रहन चाहे । पार्टीभित्र विवाद र असन्तुष्टिका बीच राणा उनै ‘काँचो नेतृत्व’ को सहयोगमा सांसद बन्न सफल भए । पार्टीभित्रका केही नेताहरु राणाले चुनावमा पार्टीलाई ठूलो सहयोग गरेको र त्यसैको गुन अहिले लिङ्देनले तिरेको टिप्पणी गर्छन् ।

राणाले सिन्धुपाल्चोकबाट चुनाव लड्न थालेको २०३८ सालदेखि नै हो । २०३८ देखि लगातार जनप्रतिनिधि बनेका राणाले २०६४, ०७० र ०७४ को चुनावमा भने पराजितको ह्याट्रिक गरे । जिल्लामा विकासप्रेमी नेताको छवि रहेपनि उनी पहिलो संविधानसभा निर्वाचनमा तेस्रोमा सीमित हुन पुगे । त्यतिबेला माओवादीका दावा तामाङ विजयी भएका थिए ।

यसै गरी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेका शेरबहादुर तामाङसँग पराजित भएका उनी २०७४ को निर्वाचनमा पनि तामाङसँगै पराजित भएर हारको ह्याट्रिक पुरा गरे । ०७९ को निर्वाचनमा पनि सिन्धुपाल्चोक पार्टी कमिटीले १ नम्बरमा उनको नाम सिफारिस गर्दा उनले समानुपातिकतर्फ आँखा लगाएर एक नम्बरमा सिफारिस हुन पुगे ।

पशुपतिको राजनीतिक जीवन

विसं १९९८ साल वैशाखमा जन्मिएका राणा यतिबेला ८१ वर्षको उमेरमा हिँडिरहेका छन् । सम्भवतः नयाँ प्रतिनिधिसभाको जेष्ठ सदस्य रहेका राणाले नै यसपाली प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता गर्नेछन् । 

पञ्चायतकालमै पटक पटक मन्त्री भएका थिए उनी । रातोपाटीलाई प्राप्त विवरणअनुसार पञ्चायतकालमै राणा यातायातमन्त्री (सन् १९७८–१९७९) र पञ्चायत तथा स्थानीय विकासमन्त्री (१९८६–१९८८) भएका थिए । मन्त्री हुनुअघि उनले शिक्षा राज्यमन्त्रीको भूमिका पनि निर्वाह गरेका थिए । 

यस्तै द नेपाल प्रोस्पेक्टिभको सम्पादकदेखि नेपाल बैंकको निर्देशक, त्रिभुवन विश्वविद्यालयको चान्सलर, गाउँ पञ्चायत मन्त्रालयको उपसचिवलगायत भएर काम समेत गरेका थिए । यस्तै बहुदल आएपछि पनि राणा अर्थ, परराष्ट्र र जलस्रोत तथा सञ्चारमन्त्री भएका थिए ।

विजय शमसेरका छोरा राणाको विवाह ग्वालियर राज्यका अन्तिम सिन्धिया राजा जिवाजीराव सिन्धिया र रानी विजया राजे सिन्धियाकी छोरी उषा राजे सिन्धियासँग भएको थियो ।

आफ्नो जीवनकालमा दुःख र जेलनेल भोग्न नपरेका उनी राप्रपाको संस्थापक महामन्त्री र अध्यक्षसम्म भए भने उनको व्यापारिक साम्राज्य पनि उस्तै छ । राणाले गोरखा दक्षिणबाहु, प्रथम श्रेणी, वीरेन्द्र राज्याभिषेक पदक, जनमत संग्रह सेवा पदकलगायतका प्रतिष्ठित पदक समेत पाएका छन् ।

राज्यबाट अपहेलित, अवसर पाउन नसकेका दलित, मुस्लिम, महिला, आदिवासी जनजाति, पिछडिएको क्षेत्रलाई राज्यको नीतिनिर्माण गर्ने थलोमा सहभागी गराउनका लागि समानुपातिक व्यवस्था गरिएको हो । तर, सोही पदमा पहुँचवालाहरुको हालिमुहाली हुन थालेको भन्दै समानुपातिकको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप