बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेसपाका नेताको दाबी, ‘बाबुरामलाई राष्ट्रपति बनाउने भद्र सहमति भएको छ’

सोमबार, २६ मङ्सिर २०७९, १४ : ५०
सोमबार, २६ मङ्सिर २०७९

नयाँ सरकार गठनको रस्साकस्सीसँगै प्रमुख संवैधानिक पदहरू कसको पोल्टामा पर्ने भन्ने विभिन्न आङ्कलनहरू सुरु भएका छन् । नयाँ सरकारको नेतृत्व कसले गर्छ भन्नेमा नै संवैधानिक पदहरूको बाँडफाँट निर्भर हुनेछ ।

यसबीच नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईको नयाँ राष्ट्रपति बन्न सक्ने चर्चा हुन थालेको छ । हुन त गोरखा क्षेत्र नम्बर–२ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छोडेसँगै बाबुराम ‘राष्ट्रपति’ को दाबेदार बन्न सक्ने आङ्कलन गरिएको थियो । छोरी मानुषी यमी भट्टराईलाई काठमाडौँ–७ बाट निर्वाचित गराएर राष्ट्रपतिमा जाने योजना बनाएकाले निर्वाचन नलडेको हुन सक्ने धेरैको अनुमान थियो । 

प्रचण्ड गोरखाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए पनि मानुषी भने निर्वाचित हुन सकिनन् । माओवादीले आफूले सोचेभन्दा कम सिट ल्याए पछि सत्ताको बार्गेनिङ गर्ने प्वाइन्टमा पुग्न सकेको छैन । 

माओवादी अध्यक्ष प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने स्पष्ट भए पनि पहिलो चरणमा प्रधानमन्त्री कसले लिने भन्ने विषयमा अहिलेसम्म सहमति हुन सकेको छैन । गत आइतबार प्रेस सेन्टरको एक कार्यक्रममा बोल्दै प्रचण्डले निर्वाचन आयोगले सबै परिणाम बुझाएपछि सरकारको नेतृत्वको विषयमा समझदारी गरेर अघि बढिने बताएका थिए।

प्रचण्ड पहिलो चरणमै सरकारको नेतृत्व लिने अडानमा छन् । आलोपालो प्रधानमन्त्रीको नेतृत्व गर्दा पहिलो चरणमा नपाए सरकारमा नजाने प्रचण्डले सङ्केत दिइसकेका छन् । पहिलो चरणमा प्रधानमन्त्रीको नेतृत्व नपाएमा पछि प्रधानमन्त्री बन्न निक्कै सकस हुने भएकाले आफ्नो अडान नछाड्ने सङ्केत दिएका छन् । बरु कांग्रेस र एमालेले सरकार बनाए आफू सदन र सडकको मोर्चालाई बलियो बनाउने प्रचण्डले बताएका थिए । 

माओवादी संसदीय अङ्कगणितमा तेस्रो भएकाले पहिलो चरणमै सरकारको नेतृत्व प्रचण्डले पाउने सम्भावना भने सहज छैन ।  तत्काललाई कांग्रेस र एमाले मिलेर सरकार बनाउने अवस्था देखिएको छैन । यस्तोमा प्रधानमन्त्री कांग्रेसले लिएर राष्ट्रपति माओवादीले तथा सभामुख एकीकृत समाजवादीले पाउन सक्ने अवस्था छ । त्यसैले कांग्रेस संसदीय दलको नेतामा निर्वाचित हुने नै प्रधानमन्त्रीको कुर्सीमा पुग्ने देखिएको छ ।

राष्ट्रपति माओवादी पोल्टामा परेमा बाबुराम नै हुन सक्ने नेपाल समाजवादीका एक नेताले रातोपाटीलाई बताए । प्रचण्ड, बाबुराम र देउवाबीच नयाँ राष्ट्रपतिमा उनलाई अघि सार्ने विषयमा भद्र सहमति नै भएको ती नेताको दाबी छ । तीन नेताबीच कुन–कुन विषयमा भद्र सहमति भएको छ भन्ने विषयमा बाहिर खुलाइएको छैन । 

उता माओवादीबाट राष्ट्रपतिमा वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन‘पासाङ’, अग्निप्रसाद सापकोटालगायत नेताले समेत नजर लगाएका छन् । 

नेपाल समाजवादी पार्टीका नेता एवम् प्रदेश सांसद गंगानारायण श्रेष्ठ भने बाबुराम भट्टराईलाई राष्ट्रपति बनाउने विषयमा भद्र सहमति भएकोबारे अनभिज्ञता प्रकट गरे । ‘बाहिर चर्चा सुनिन्छ तर बाबुराम सरलाई राष्ट्रपति बनाउने विषयमा भएको कुनै सहमतिबारे थाहा छैन । उहाँ राष्ट्रपति हुनै नसक्ने नेता पनि होइन, उहाँ राष्ट्रपतिका लागि योग्य नेता हो,’ श्रेष्ठले भने, ‘यदि उहाँलाई राष्ट्रपति बनाउने हो भने यो संविधान र राष्ट्रको ओज बढ्छ । मुलुकलाई समेत राम्रो हुने थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप