आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी

आइतबार, २५ मङ्सिर २०७९, १९ : २५
आइतबार, २५ मङ्सिर २०७९

बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घ, बुटवलले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकलौटी रूपमा गरेको औद्योगिक क्षेत्रको भाडा वृद्धि खारेजीको माग गर्दै बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेको छ ।

नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घले घोषणा गरेको चरणबद्ध आन्दोलनको कार्यक्रमअन्तर्गत आज कालो ब्यानरसहित बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घ, रुपन्देही उद्योग सङ्घ र नेपाल उद्योग परिसङ्घको नेतृत्वमा गएका उद्योगीहरूले व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रशासन प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

कोभिड महामारीका कारण थला परेका उद्योगहरूको प्रवर्द्धनका लागि योजना ल्याउनुको सट्टा सरकारले अव्यावहारिकरूपमा भाडा वृद्धि गर्नु उद्योग विरोधी कार्य भएको भन्दै उनीहरूले यसअघि नै आन्दोलनको घोषणा गरेका थिए । 

तालाबन्दीपछि आयोजित सभामा बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घका अध्यक्ष हिरामणि भट्टराईले आज  साङ्केतिकरूपमा तालाबन्दी गरिए पनि व्यवस्थापन कार्यालयले निर्णय फिर्ता नलिए थप आन्दोलनमा जाने बताए । 

नेपाल उद्योग परिसङ्घका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले उद्योगीहरूको भावना र सुझाव विपरीत एकैपटक सात सय देखि आठ सय प्रतिशतसम्म भाडा वृद्धि गरेर उद्योग बन्द गराउने षड्यन्त्रमा लागेको जनाउँदै व्यवस्थापनको मिचाहा प्रवृत्तिका कारण बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताए ।

रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधवप्रसाद पौडेलले वर्तमान असहज अवस्थामा उद्योगलाई कसरी बचाउने र बन्द हुन नदिनेतर्फ सोच बनाउनुपर्नेमा भाडा बढाएर आतङ्क सिर्जना गरेको बताउँदै अहिले बढाएको भाडा उद्योगीहरूले तिर्नसक्ने अवस्था नरहेकाले तत्काल भाडा बढाउने निर्णय फिर्ता लिन आग्रह गरे । 

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार चालु आर्थिक वर्षको रु १३ करोडसहित देशभरका १० वटा औद्योगिक क्षेत्रमा रहेका उद्योगबाट रु ५३ करोड भाडा बापतको बक्यौता उठाउन बाँकी छ । विसं २०७५ साउनदेखि लागू हुने गरी लिमिटेडको सञ्चालक समितिले औद्योगिक क्षेत्रको ६३ देखि साढे पाँच सय प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो ।

औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ को नियम २३ को उपनियम १ मा उत्पादनमूलक उद्योगको हकमा पाँच÷पाँच वर्षमा भाडादर पुनरावलोकन गर्ने व्यवस्था उल्लेख छ ।

लिमिटेडले देशका विभिन्न १० वटा औद्योगिक क्षेत्रबाट यसअघि पनि अलग–अलग भाडा लिँदै आएको थियो भने वृद्धि गर्दा पनि सोहीअनुसार वृद्धि गरेको जनाएको छ ।

बुटवल औद्योगिक क्षेत्रमा हाल प्रतिरोपनी वार्षिक रु आठ हजार तीन सय २८ भाडा लिँदै आएकामा २०७५ सालमा रु १६ हजार दुई सय भाडा निर्धारण गरिएको थियो । यो भाडावृद्धि एक सय १६ प्रतिशत हो । त्यसयता उद्योगीहरूले विभिन्न ढङ्गले भाडा घटाउन दबाब दिँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप