बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

समानुपातिक बन्द सूचीको विवरण सच्याउन दलहरुलाई पत्राचार

आइतबार, २५ मङ्सिर २०७९, १७ : ५६
आइतबार, २५ मङ्सिर २०७९

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्द सूचीको विवरण सच्याउनका लागि दलहरुलाई समय दिएको छ । आयोगले त्रुटी गरेर समानुपातिक उम्मेदवारहरूको नाम पठाउने राजनीतिक दलहरुलाई त्रुटी सच्याएर पुनः विवरण पठाउनका लागि भोलि (सोमबार) दिउँसो ४ बजेसम्मका लागि समय दिएको हो । यस सम्बन्धमा जानकारी दिँदै निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका प्रवक्ता गुरुप्रसाद वाग्लेले प्रतिनिधि सभा अन्तर्गत दलहरूले बुझाएको समानुपातिक उम्मेदवारहरूको विवरणमा सच्याउनुपर्ने अवस्था नभएको बताए ।

केही राजनीतिक दलहरूले प्रदेश सभाका लागि पठाएको समानुपातिक उम्मेदवारको विवरणमा भने त्रुटी देखिएकाले सो विवरण सच्याएर आयोगमा पठाउनका लागि राजनीतिक दलहरुलाई पत्राचार गरिएको उनले बताए । उनले आयोगले दलहरूबाट त्रुटी सच्याएको विवरण प्राप्त गरेपछि उम्मेदवारहरूलाई निर्वाचित घोषणा गर्ने र प्रमाणपत्र वितरण हुने जानकारी दिए ।

उनले भने – ‘आज हामीले छानबिन गर्दा केही केही राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नमिलेको देखियो । त्यो विषयमा आज हामी राजनीतिक दलहरुलाई पत्राचार गर्छौ । र नमिलेको विवरण भोलि सोमबार ४ बजेसम्म राजनीतिक दलहरूले त्यो विवरण सच्याएर आयोगमा पेस गर्नुपर्छ । अनि आयोगले त्यसरी पेस भएको नामावलीहरुलाई निर्वाचित हुनेगरी निर्णय गर्छ । प्रतिनिधिसभातर्फ पेस भएको बन्दसूचीको विवरणमा कुनै पनि सच्याउनुपर्ने अवस्था छैन । सबै दलले पेस गरेको विवरण ठीक छ । प्रदेश सभा तर्फ केही–केही राजनीतिक दलले पेस गरेको विवरणमा अल्पसंख्यक दुई जना सिफारिस गर्नुपर्नेमा एकजना सिफारिस गरिएको देखिएको छ ।’ 

उनले १४ वटा राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणाली तर्फबाट उम्मेदवार निर्वाचित गर्न पाउने गरी मत प्राप्त गरेको र सबैले शनिबार नै बन्दसूचीमा रहेका उम्मेदवारहरूको नामावली पेस गरेका उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप